मन्त्री फेर्ने बहसः नेताको घर दैलोमा दौडधुप, को को हुन सम्भावित ?

Advertisement

काठमाडौं । सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक जारी छ । प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष प्रचण्ड तथा बरिष्ठ नेता माधव नेपाल समुहबीच बैठकमा घम्साघम्सी चलिरहेको छ । ओलीलाई एक व्यक्ति एक पदमा सिमित गराउने प्रयासमा प्रचण्ड नेपाल समुह लागिरहेको छ ।

तर ओली भने केहि मन्त्री, केहि मुख्य मन्त्री र केहि प्रदेश नेतृत्व बदलेर विवाद सामसुम पार्ने प्रयासमा देखिन्छन् ।
एक व्यक्ति एक पद लागु भए पनि नभए पनि मन्त्रीपरिषद फेरबदल भने अब पक्का भैसकेको छ । मन्त्री बन्न सचिवालयका नेताहरुको घर दैलोमा दावेदारहरुको दौडधुप सुरु भैसकेको छ ।

दुई जना मन्त्रीले दोहोरो जिम्मेवारी सम्हालिरहेका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले अर्थ र सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् । त्यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्बाङले शहरी विकास मन्त्रालयको पनि जिम्मेवारी सम्हालिरहेका छन् ।

अर्थमन्त्री डा. खतिवडालाई राष्ट्रिय सभा सदस्य नियुक्त नगरि उनको मन्त्री पद थपिने छैन् । बसन्त नेम्बाङले पनि शहरी विकास वा भौतिक मन्त्रालयमध्ये एउटा छोड्नुपर्नेछ ।

त्यस बाहेक पनि कमजोर कार्य सम्पादन भएका केहि मन्त्रीहरु हटाउने तयारी छ । खेलकुद मन्त्री, वन मन्त्री, स्वास्थ्य मन्त्री, खानेपानी मन्त्रीको कमजोर कार्य सम्पादनका कारण जागिर जाने सम्भावना छ । त्यस बाहेक सुरुदेखि नै जिम्मेवारीमा रहेका केहि मन्त्रीहरुलाई हटाएर नयाँ मन्त्री नियुक्त गर्ने सोँच पनि बनेको छ । केहि मन्त्रीहरुको भने जिम्मेवारी हेरफेर गरेर मन्त्रालय परिवर्तन गर्ने तयारी पनि छ ।

ओलीले प्रचण्ड, माधव नेपाल लगायतका नेताहरुसँग समन्वय गरेर नयाँ मन्त्री नियुक्त गर्नेछन् । त्यसका लागि जनार्दन शर्मा, देव शंकर पौडेल, पम्फा भुषाल लगायत मन्त्री बन्ने दौडधुपमा छन् । माधव नेपाल समुहका तर्फबाट यज्ञराज सुनुवार, बिरोध खतिवडा, कल्याणी खड्का लगायतमा पनि मन्त्री बन्ने लाइनमा छन् ।

अर्थ मन्त्रालयको जिम्मेवारी पाएमा सुरेन्द्र पाण्डे पनि मन्त्री बन्न तयार देखिन्छन् । परराष्ट्र, गृह वा रक्षा मन्त्रालय पाएमा भिम रावल पनि मन्त्री बन्न तयार छन् । ‘अरु जे जे भए पनि मन्त्री परिषद हेरफेर हुने कुरा स्थायी कमिटीले पक्कै सुनिश्चित गर्छ, सबै नेताहरुको त्यसमा एकमत रहेको देखिन्छ’, नेकपाका एक स्थायी कमिटी सदस्यले भने ।

Advertisement

Advertisement

Advertisement