संकटले पनि आत्मनिर्भर हुन सिकाएन हामीलाई, रु. ३१ अर्बको चामल आयात

Advertisement

काठमाडौं । सरकारले ‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ भन्ने नारासहित सोमबार राष्ट्रिय धान दिवस मनाउने तयारी गरिरहँदा यो वर्ष ११ महिनामा करिब ३१ अर्ब रुपियाँको चामल आयात भएको छ। कुनै बेला चामल निर्यात गर्ने नेपालमा धानको उत्पादन र उत्पादकत्व वृद्धि हुन नसक्दा बर्सेनि धान, चामल आयात बढिरहेको छ।

यो वर्ष सात लाख १५ हजार क्विन्टल चामल आयात भएको भन्सार विभागले जनाएको छ। विभागको तथ्यांकअनुसार जेठसम्म ३० अर्ब ८२ करोड ५८ लाख ७७ हजार रुपियाँको चामल आयात भएको छ। सरकारले कृषि उत्पादन वृद्धि गर्न मल, बिउ, उपकरण र अनुदान व्यवस्था गरेर उत्पादन बढाउने बताउँदै आए पनि परिणाम देखिएको छैन।

सिँचाइ, मल र बिउ अभाव, गुणस्तरीय बिउ प्रतिस्थापन दर न्यून, माटोमा प्रांगारिक पदार्थ न्यून भई उर्बराशक्ति कमजोर हुनु र सन्तुलित मलखादको अभावले उत्पादकत्व वृद्धि हुन नसकेको धान विज्ञ भोलामान सिंह बस्नेत बताउँछन्। ‘उत्पादन वृद्धि गर्न नसक्दा चामल आयात बढेको छ,’ बस्नेतले भने, ‘धानमात्र नभएर कृषि क्षेत्रकै अवस्था उत्साहजनक छैन।’ उनका अनुसार सरकारले उत्पादन वृद्धि गर्ने कार्यक्रम ल्याउन सकेको छैन।

नेपाललाई कृषिप्रधान मुलुक भनिए पनि यहाँका उपभोक्ताले भारत, चीन, अमेरिका, थाइल्यान्ड, इटाली, जापान, कोरिया, बंगलादेशलगायतका मुलुकबाट आयात गरिएको चामल प्रयोग गरिरहेका छन्। वैशाखसम्म २६ अर्ब ८७ करोड ३७ लाख रुपियाँको चामल आयात भएकोमा जेठ महिनामा मात्र तीन अर्ब ९५ करोड रुपियाँको चामल ल्याइएको छ। पोहोर करिब ३० अर्ब रुपैयाँको चामल आयात भएको थियो। यो वर्ष ११ महिनामा नै पोहोर भन्दा एक अर्ब ८२ करोड रुपियाँ बढीको चामल ल्याइएको छ। यसरी हिसाब गर्दा यो वर्षको अन्त्यसम्म करिब साढे ३४ अर्ब रुपैयाँको चामल आयात हुने अनुमान छ।

कृषि उत्पादन वृद्धि गर्न बर्सेनी अर्बौं रुपियाँ बजेट विनियोजन गरे पनि परिणाम देखिएको छैन। अहिले पनि किसानले ४७ वर्ष पुरानो धानको बिउ प्रयोग गरेका छन्। करिब ८५ प्रतिशत किसानले पुरानो धान प्रयोग गरिरहेका छन्। उन्नत जातको धानको बिउ प्रयोगमा ल्याएर १५÷२० प्रतिशत उत्पादन बढ्ने भए पनि किसानले उन्नत जातको बीउ पाउन सकेका छैनन्। धान लगाउने बेला रासायनिक मल नपाएर किसान भौंतारिरहेका छन्। सरकारी निकायको व्यवस्थापन नै फितलो भएको किसान अगुवा बताउँछन्। बिउ, मल, सिँचाइ व्यवस्था गर्न नसकेको नेपाल कृषक समूह महासंघका पूर्वअध्यक्ष उद्धव अधिकारी बताउँछन्।

नागरिक दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement