'सर्किट ब्रेक लाग्नु ठिक भएन, बजार निरन्तर चल्नुपर्ने थियो'

Advertisement

बजारमा सकारात्मक सर्किट लागेर बढिरहेको छ । यो कुरालाई हामीले सकारात्मक रुपमा लिईरहेका छौं । तर सर्किट नलागी बजार बढ्नु पर्ने थियो । कम्तिमा पनि ३०।३५ अंकले बजार बढेको भए दिगो हुने थियो । अहिले त बजारमा सर्किट ब्रेक लागेकाले किन्नेले किन्न र बेच्नेले बेच्न पनि पाएनन् ।

तीन महिना लामो लकडाउनपछि सेयर बजार खुलेको छ । १६६८ अंकबाट घट्न थालेको बजार १२ सय अंकमा झर्यो । अर्थात बजारमा ४६८ अंकको गिरावट आईसकेको थियो । त्यो भनेको कुल पुँजीकरणको ३० प्रतिशत जति हुन आउथ्यो । त्यो अवधीमा लगानीकर्ताले सेयर बेचेर पैसा बोकेर बसिरहेका थिए । त्यहि पैसाले अहिले सेयर किनिरहेका छन् । अर्काे कुरा भनेको बैंकहरुमा अहिले कुस्त पैसा छ । लगानी गर्ने ठाउँ भेटिरहेका छैनन् । पुँजी बजार भन्दा अर्काे लगानीको ठाउँ फेला परेको छैन् । बैंकहरुले पनि निक्षेप लिने जोखिम उठाउन नचाहेको जस्तो देखिन्छ ।

ब्याजदर पनि घटिरहेको छ । यहि बेला पुँजी बजारमा लगानी कोष पनि भित्रिएको छ । पुँजीगत लाभकरको सन्दर्भ पनि ५ प्रतिशतमा टुंगीएको छ । अर्थमन्त्रीकै कुरालाई मान्ने हो भने पनि आगामी मौद्रिक नीतिबाट पुँजी बजारका लागि राम्रा कुरा आउँदैछन् । हामी लगानीकर्ता र धितोपत्र बोर्डले पनि मौद्रिक नीतिका लागि आफ्ना धारणा राखिसकेका छौं ।

यतिबेला अनलाइन कारोबारमा पनि सुधार आएको छ । प्रणालीमा पनि सुधार भैरहेको छ । ब्रोकरहरुले दिने मार्जिन ट्रेडिङमा पनि सामान्य भन्दा १।२ प्रतिशत कम ब्याजमा पैसा पाइने अवस्था देखिएको छ । यी र यस्तै सकारात्मक कुराहरुले बजारलाई यतिबेला सकारात्मक रुपमा अगाडी बढाईरहेको छ । पुँजी बजार धेरै तल पुगेको थियो । कतिपय बैंकहरुको नेटवर्थ भन्दा पनि सेयर मूल्य तल गैरहेको अवस्था थियो ।

अहिले बजारमा सकारात्मक अवस्था देखिएको छ । यो लगानी गर्ने उपयुक्त समय हो । हौसियर होइन, धेरै विचार गरेर लगानी गर्नुपर्छ । (नेपाल इन्भेटर्स फोरमका अध्यक्ष रौनियारसँग गरिएको कुराकानीमा आधारित)

Advertisement

Advertisement

Advertisement