प्रतिकुलतामा पनि कसरी काम गर्दैछन् सहकारीहरु ? उत्पादन वृद्धि र रोजगारी सिर्जना मुख्य लक्ष्य

Advertisement

काठमाडौं । कोरोना महामारी र यसलाई नियन्त्रण गर्न लागू गरिएको लकडाउनमा पनि सदस्यहरुलाई सक्दो सेवा दिएका सहकारी क्षेत्रले अब उत्पादन वृद्धि र रोजगारी सिर्जनामा आफूहरुको ध्यान केन्द्रित गर्ने बताएको छ ।

प्रतिकुल परिस्थितिमा पनि विशेषगरी ग्रामीण क्षेत्रमा रहेका सहकारी संस्थाहरुले आफ्नो सक्रियता कायम राखेको बताउँदै राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले मुलुकलाई यस्ता महामारी, नाकाबन्दीको प्रभावबाट जोगाउन पनि आत्मनिर्भर बनाउनु जरुरी रहेको र त्यसमा सहकारीले अहम भूमिका खेल्नुपर्ने कुरालाई आफूहरुले मनन् गरिरहेको बताए ।

उनले अनुसार लकडाउनको समयमा पनि सहकारीहरुले तरकारी तथा खाद्यान्नको वितरण प्रणालीलाई व्यवस्थित गरी उपभोक्तासम्म सहज र सुलभरुपमा पुर्याउने काम गरेको उदाहरण दिँदै तर पनि लकडाउनका कारण धेरै किसानहरुले आफ्ना सामानहरु बिक्री गर्न नपाएर फाल्नुपरेको, बजारमा पुर्याएर पनि उचित मूल्य पाउन नसकेको बताए ।

साना किसानलाई लघु वित्तीय सेवा दिन सरकारले पनि बजेटमार्फत कार्यक्रम ल्याएको, करमा सहुलियत दिएबाट सहकारी क्षेत्रलाई उत्पादन वृद्धि र रोजगारी सिर्जनामा लाग्न प्रेरण मिले पनि लकडाउनका कारण धेरै वित्तीय सहकारीहरु समस्यामा परेकाले उनीहरुलाई कसरी लयमा फर्काउने ? भन्ने चुनौति रहेको कँडेलले बतनाए ।

उनले सहकारी क्षेत्रमा कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि राज्यलाई १० करोड रुपियाँ योगदान दिएको, पीसीआर सेन्टर स्थापनादेखि अनलाइनमार्फत किसानले उत्पादन गरेका सामानहरु उपभोक्तालाई बिक्री गर्ने, कृषकहरुले उत्पादन गरेका सामानहरु प्याकेजिङ गरेर उपभोक्तासम्म पुर्याउने जस्ता थुप्रै काम गरेको बताए ।

बहुउद्देश्यीय केन्द्रीय सहकारी संघका अध्यक्ष सुरेन्द्र भण्डारीले सहकारी क्षेत्र मात्रै नभएर मुलुकको समग्र आर्थिक क्षेत्र गम्भीररुपमा प्रभावित भएको बताउँदै प्रतिकुलतामा पनि आफूहरुले आफ्ना सदस्यहरुलाई कार्यालय खोलेर वित्तीय सेवा दिइरहेको बताए । बैंकिङ क्षेत्रको नियामक बलियो हुँदा बैंक वित्तीय संस्थालाई संरक्षण मिले पनि सहकारी क्षेत्रले संरक्षकत्व पाउन नसकेको बताउँदै तर सहकारी क्षेत्रको योगदानमा ठूलो रहेको बताए ।

लकडाउन र कोरोना महामारीले गर्दा ग्रामीण क्षेत्रका सहकारीमा तरलता बढेर लगानी गर्न नपाएको तर शहरी क्षेत्रका सहकारीमा कर्जा अशुली नहुँदा समस्या भएको बताउँदै यो समस्या समाधान गर्न राष्ट्रिय सहकारी महासंघदेखि बचत तथा ऋण केन्द्रीय संघ (नेफ्स्कुन), राष्ट्रिय सहकारी बैंक, बहुउद्देश्यीय केन्द्रीय संघले आआफ्नो ठाउँबाट पहल गरिरहेको जानकारी दिए । समस्यामा परेका सहकारीलाई पुर्नकर्जाको व्यवस्था गर्न बैंक र नेफ्स्कुनले एक एक अर्बको कोष खडा गरेको जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement