सुन, डलर र विश्व अर्थतन्त्रको सम्बन्धः किन बढ्दैछ सुनको भाउ ?

Advertisement

नेपालमा अहिले लकडाउन चलि रहेको छ । कोरोना भाइरसको विश्वब्यापी महामारीबाट नेपालमा पनि हजारौं जना संक्रमितहरु देखिन थालेपछि त्यसलाई नियन्त्रण गर्न बिभिन्न औषधीय उपायहरुका साथसाथमा बन्दाबन्दीको पनि उपाय प्रयोग गरिएको हो । नेपाल जस्तो गरिब देशमा जहाँ स्वास्थ्य सम्बन्धि सुविधा कम छ, संरचनाहरु कम छन्, औषधि र स्वास्थ्य यन्त्रहरु कम छन्, त्यहाँ लकडाउन भन्दा उपयुक्त बिकल्प अर्को छैन । यो कोरोना भाइरसका कारणले सारा विश्वमा नै कसैले नचिताएको असर पर्न थालेको छ । धनी, शक्तिशाली र मै हुँ भन्ने अमेरिका, युरोप, रुस, चीन, भारत जस्ता देशहरुलाई यो भाइरसले घुँडा टेकाई दिएको छ भने यसले धेरै दीर्घकालीन आर्थिक, सामाजिक र राजनीतिक असर पुर्याएको छ । नेपालमा पनि बिभिन्न उद्योग धन्दाहरु, ब्यवसायहरु, कारोबारहरुमा यसको नकारात्मक प्रभाव पारेको छ । हामीहरु कसैले पनि जिन्दगीमा कहिले पनि नदेखेको रोगको महामारीको रुप अहिले देख्दै भोग्दैछौं ।

यही सन्दर्भमा विश्वमा सुनको भाउ बिस्तारै उकालो लाग्न थालेको छ । नेपालको सुन बजारमा २०६९ सालमा ६३,७०० रुपैयाँ अर्थात सबैभन्दा महँगो भाउमा कारोबार भई रिकर्ड कायम भएकोमा २०७६ सालको फाल्गुण २७ गते फेरी ८२७०० रुपैयाँ भाउमा पुगेर अर्को नयाँ रिकर्ड कायम गर्यो । यही समयमा अन्तर्राष्ट्रिय बजारको सुनको भाउ बढेर १७८३ डलरसम्म पुगेको छ भने डलरको नेपाली मुद्राको विनिमय दर पनि १२२ रुपैयाँ भन्दा माथी पुगेर नेपाली सुनबजारमा सुनको भाउ ९१ हजार ७०० को भाउमा पुगेको छ । यो नेपालको सुनको भाउको इतिहासमा नै सबैभन्दा बढी सुनको भाउ हो । यस्तो किन भईरहेको छ ? किन सुनको भाउमा रिकर्ड माथी रिकर्ड बनाउने श्रृंखला चल्दै छ ? यसको मुख्य कारणहरु र यसले विश्वको अर्थतन्त्रमा पारेको असर र नेपाली सुन बजारमा र अर्थतन्त्रमा पार्ने असरका बारेमा हामी चर्चा गर्न गईरहेका छौं ।


सुनको परिदृश्य:
विश्वको अर्थतन्त्रमा सुन हजारौं बर्ष देखि नै सम्पत्तिका रुपमा प्रचलनमा रहेको छ । बिभिन्न सभ्यताहरुको बिकास क्रम सँगसँगै धनको संग्रह र अर्थतन्त्रको पनि बिकास हुँदै आएको छ । मुद्राको आविस्कार भए पछि सबै भन्दा पहिले मुद्रा निस्काशन गर्ने देश चीन हो । युरोपमा पनि बिभिन्न किसिमका मुद्राहरुको प्रचलन रहेको कुरा मुद्राको युरोपका बिभिन्न मुद्रा संग्रहालयहरुको अध्ययन गर्दा देखिन्छ । ती समयमा सबैभन्दा बढी रुचाइएको धनको स्वरुप भनेको सुन नै थियो । यो कहिले पनि ननासिने, चमकदार, पवित्र र मूल्यवान धातु हो भन्ने ज्ञान हुनासाथ अधिकांश सभ्यतामा सुनको संग्रहबाट नै सभ्यताहरुको अर्थतन्त्रहरु चलेको हामी ईतिहासको अध्ययन गर्दा देख्न सक्छौं । जुन शासक वा सभ्यतासँग सुनको संग्रह भयो त्यो शासक वा सभ्यता धनी, सम्पन्न र शक्तिशाली मानिन्थ्यो । आधुनिक समयमा धनको अर्थशास्त्रको परिभाषा सहित अर्थशास्त्रका बिद्वानहरु मध्ये एडम स्मीथले ‘वेल्थ अफ नेशन्स’ मा र जर्मनीका कार्ल मार्क्सले ‘दास क्यापिटल’ को रचनाहरुमा पनि देश तथा राज्यहरुको अर्थतन्त्र निर्माण गर्ने बिभिन्न बिधिहरु र धनको परिभाषाहरु आआफ्नै सिद्धान्त अनुसार परिभाषित गरेका छन् । जुनसुकै सिद्धान्त अनुसार अर्थशास्त्रको अध्ययन गर्दा पनि धनको बिशेष महत्व रहेको छ र धनको बितरण गर्ने प्रणाली र सिद्धान्तहरु मात्र फरक फरक रहेको पाईन्छ । सिद्धान्तमा समाजवादी वा पूँजीवादी भनेर फरक रहे पनि धन र अर्थको महत्व र अर्थशास्त्रको महत्वपूर्ण स्थान विश्वको अर्थतन्त्रमा देखिन्छ । अहिलेको विश्वमा पनि सम्पत्ति र धनको बिभिन्न औजारहरुमा सुनको महत्वपुर्ण स्थान रहेको छ । सुनले संसारको अर्थतन्त्रमा महत्वपूर्ण स्थान लिई नै रहेको छ ।

आर्थिक प्रभाव: 
पहिलो विश्वयुद्धको बेलासम्म बढिजसो संसारको अर्थ ब्यवस्था बेलायतको मातहतमा आएको थियो । साम्राज्यबादको प्रयोग गर्दै धेरै उपनिवेशहरु मार्फत संसार नै बेलायतको जस्तो भएको थियो । बिभिन्न देशहरुको सम्पत्ति लन्डनमा थुप्रिएको थियो र बेलायतको पाउण्ड सबै भन्दा बलियो मुद्राको रुपमा प्रचलनमा रहेको थियो । दोश्रो विश्वयुद्धमा बेलायत लगायत युरोपमा हिटलरको आक्रमण भए पछि सबै युरोप नै हिटलरको कब्जामा गएको थियो । त्यहाँ भएका सम्पत्तिहरु कब्जा गर्दै दोश्रो विश्वयुद्धमा जर्मनी मुख्य लडाकु देश भएको थियो । ईतिहास अध्ययन गर्दा दोश्रो विश्वयुद्धमा हिटलरलाई पराजित गरिसके पछि सम्पूर्ण युरोपको सुनहरु अमेरिकामा लगिएको थियो । जर्मनी, फ्रान्स, बेलायत लगायतका देशहरुले आ आफ्नो देशमा भएका सुनहरु अमेरिकाको ‘फोर्ट नोक्स’ (Fort Knox) भन्ने स्थानमा भण्डारण गर्ने र अमेरिकी डलरलाई विश्वब्यापी कारोबार मान्यताप्राप्त सर्वस्वीकार्य मुद्राको रुपमा प्रचलनमा ल्याउने सम्झौता गरेका थिए । अहिले पनि हामीले विश्वको अर्थतन्त्रमा डलरलाई सर्वस्वीकार्य मुद्राको रुपमा प्रचलनमा आईरहेको देख्न सक्दछौं ।

[caption id="attachment_187104" align="aligncenter" width="337"] फ्रायन्कलिन डि. रुजवेल्टले सन १९३३ मा जारी गरेको जनतासँग रहेको सबै सुन फेडरल रिजर्भ बैंकमा दाखिला गर्ने कार्यकारी आदेश ।[/caption]

इतिहासमा विश्व अर्थतन्त्रको झलकः
सन १९१३ मा अमेरिकामा फेडरल रिजर्भ बैंक अफ अमेरिकाको स्थापना भएको थियो । यसको प्रमुख उद्देश्यमा रोजगारीमा बृद्धि गर्ने, मूल्य स्थायित्वमा राख्ने र दीर्घकालिन रुपमा ब्याजदरलाई नियन्त्रणमा राख्नु रहेको थियो । त्यसपछि बैंकहरुलाई सुपरिवेक्षण गर्ने, नियमन गर्ने, संस्थागत डिपोजिटहरु लिने र अर्थब्यवस्थालाई स्थायित्व दिने थप अधिकार पनि यसले पायो । यसको स्थापना पछि अमेरिका विश्व अर्थतन्त्रको नेताको रुपमा उदाएको हो ।

आधुनिक विश्वको अर्थतन्त्रमा सुनको प्रयोग पनि अमेरिकी डलरको प्रयोग सँगसँगै हुँदै आएको हो । डलरलाई सुनको बराबर मान्यता दिई चलन चल्तीमा ल्याई त्यसलाई Gold Standard को रुपमा विश्वले नै मान्यता दिएको थियो । त्यतिबेलासम्म सुनको मूल्य ३५ डलर प्रति आउन्स रहेको थियो । सन १९३३ मा फ्रायन्कलिन डी रुजवेल्टले सुनसँग डलरको सम्बन्धमा कमी गर्न र सुनको मौज्दात बढाउन अमेरिकामा भएभरका जनतासँग रहेका ढिका सुन, गहना, असर्फि लगायतका सुनहरुलाई सोही मूल्यमा लिएर जनताले सुन राख्न नै नपाउने कानुन बनाए । त्यसको २ बर्ष पछि Bretton wood सम्झौता गरि विश्वका प्रमुख राष्ट्रहरुसँग विश्वको आर्थिक प्रणालीको जग राखे ।

डलरलाई विश्वको मुख्य मुद्राको रुपमा प्रयोग गरि चलाउन डलर छाप्दा त्यसको मूल्य बराबरको सुन रिजर्भमा राखी सुनको ग्यारेन्टी भएको सुरक्षित मुद्राको रुपमा निष्कासन गरिन्थ्यो । सन १९७१ सम्म अमेरिकामा डलरको नोटमा लेखिए जति रकमको भुक्तानी सुनबाट गरिने छ भन्ने फेडरल रिजर्भ बैंकले प्रत्याभुति दिइएको डलरको नोट प्रचलनमा रहेको थियो । सन १९७१ मा अमेरिकाका राष्ट्रपति रिचार्ड निक्सनले मुद्रास्फितिलाई नियन्त्रणमा राख्न र मुद्राप्रदायलाई बढाउन भनी चलनचल्तीमा रहेको Gold Standard लाई हटाई Fiat currency System मा लगे । त्यसपछि डलर छाप्दा त्यसलाई back up गर्न सुनलाई ढुकुटीमा राख्न छोडेको हो । यहिँबाट विश्वको बजारमा सुनको मूल्यमा वृद्धि आउने क्रम शुरु भएको हो ।

[caption id="attachment_187106" align="aligncenter" width="444"] सन १९२८ मा जारी भएको २० अमेरिकन डलरको चित्र, जसमा यो नोटको बदलामा २० डलर बराबरको सुन नै दिने वाचा गरिएको छ ।[/caption]

बासेल ३ को प्रभाव:
आधुनिक बैंकिंगको नियमन र विश्वको मौद्रिक ब्यवस्थालाई ब्यवस्थित गर्न प्रमुख २८ वटा देशहरुको अगुवाईमा बासेल समितिको गठन गरि स्वीजरल्याण्डमा मुख्य कार्यालयको स्थापना भएको छ । यसले बिभिन्न समयहरुमा संसारका सबै रिजर्भ बैंकहरुलाई नयाँ नयाँ बैंकिंग सिद्धान्तहरु प्रतिपादन गरि प्रयोगमा ल्याउँछ र विश्वको अर्थ व्यवस्थालाई अझ बढि सुरक्षित, भरपर्दो बनाउने प्रयास निरन्तर गरिरहेको हुन्छ ।

सन २०१५ मा यस संस्थाले Basel 3 सिद्धान्त स्वेच्छिक रुपमा लागु गर्न निर्देशन गरेको छ । रिजर्भ बैंकहरुले आ आफ्नो ढुकुटीमा बिभिन्न Tier 1, tier 2, Tier 3 खण्ड गरि बिभिन्न बिदेशी मुद्रा, बण्डहरु, सेक्युरिटिहरु, सुन लगायतका सम्पत्तिहरु राख्नु पर्ने ब्यवस्था गरेकोमा डलर र अमेरिकी बण्डलाई पहिलो खण्डमा अनि सुनलाई तेश्रो खण्डमा मात्र स्थान दिइएको थियो । Tier 1 मा अमेरिकी डलर, बण्ड लगायतका सम्पत्ति रहेकोमा अमेरिकाको ऋण 23 Trillion डलर भन्दा बढी भईसकेको र Fiat currency को रुपमा अमेरिकी डलरको अत्यधिक छपाई भएकोले विश्वसनीयतामा कमी आउँदै गएकोले सन २०१९ को सेप्टेम्बर देखि डलर र बण्डलाई तेश्रो खण्डमा लगी त्यसकोे सट्टामा पहिलो खण्डमा सुन नै राख्नु पर्ने ब्यवस्था लागु गरेको छ । यसलाई सन २०२२ को जनवरी १ सम्ममा अनिवार्य सबै देशका रिजर्भ बैंकहरुले लागु गर्नु पर्ने अवस्था छ । त्यसपछिको समयमा हामीहरुले बिभिन्न देशहरुका रिजर्भ बैंकहरुले धमाधम सुन खरिद गरि आआफ्नो ढुकुटीमा सुनको मौज्दात बढाउँदै लगेको देख्छौं । युरोपका धेरैवटा देशहरुले सुन खरिद गरेका छन् भने एसियाका पनि रुस, चीन, भारत, ईरान लगायतका बिभिन्न देशका रिजर्भ बैंकहरुले सुनको मौज्दात बढाएका छन् । गत बर्षमा मात्र बिभिन्न देशहरुका रिजर्भ बैंकहरुले ६५० टन भन्दा बढि सुनको खरिद गरेका छन् ।

सुनको औद्योगिक प्रयोगमा बृद्धि:
बिभिन्न धार्मिक, साँस्कृतिक, आर्थिक, सामाजिक प्रयोगहरुका अलावा अहिले बिभिन्न नयाँ नयाँ ग्याजेटहरु बनाउने औद्योगिक उत्पादनहरुमा पनि सुनको प्रयोगहरु बढ्दै गईरहेको छ । एप्पल देखि बिभिन्न मोबाइल तथा कम्प्युटर बनाउने कम्पनीहरुले बार्षिक सयौं टन सुनको उपयोग गर्दैछन् । विश्वको अर्थ ब्यवस्थामा अहिले क्रिप्टोकरेन्सीहरुको पनि प्रयोग बढ्दै गएको छ । ईरान, चीन लगायत रुसले विश्वमा नयाँ क्रिप्टोकरेन्सीको शुरुवात गर्दैछन् र त्यसको लागि पनि सुनको ग्यारेन्टी दिने उद्देश्यले धमाधम सुनको भण्डारण बढाउँदै लगेका छन् ।

सुनको भण्डारणको अवस्था:
कुनै व्यक्ति वा संस्थाले कारोबार गर्दा २,४ किलोको कारोबार हुन्छ । तर देश र रिजर्भ बैंकहरुले नै सुनको कारोबार गर्दा सयौं टन सुनको कारोबार हुन्छ । तर सुनको उत्पादन र सप्लाई सिमित मात्र छ । वल्र्ड गोल्ड काउन्सिलको रिपोर्ट अनुसार सन २०१९ मा ६५०.३ टन सुनको मौज्दात रिजर्भ बैंकहरुले थपे र यो बिगत ५० बर्षमा सबैभन्दा बढि गरिएको खरिद हो । त्यस्तै विश्वको अर्थतन्त्रमा यस बर्ष अर्थिक मन्दी हुने बिभिन्न संकेतहरु देखिई रहेकोमा कारोना भाइरसका कारणले विश्वको अर्थतन्त्रमा नचिताएको मन्दी आउनु र शेयर बजारहरु ध्वस्त भई लगानीहरुमा धेरै ठूलो नोक्सानीहरु बेहोर्नु पर्दा लगानीको सुरक्षाको लागि पनि सुनमा लगानी बढ्न गएको अवस्था छ । त्यसैको कारणले गत बर्ष १४०० डलरको औसतमा रहेको सुनको भाउ अहिले १७०० डलर भन्दा बढी पुगेको छ ।

[caption id="attachment_187107" align="aligncenter" width="373"] फोर्ट नोक्सको बाहिरी दृश्य, हवाई तथा स्थल सुरक्षाकासाथ, जहाँ संसार भरिका रिजर्भ बैंकका सुनहरु अण्डरग्राउण्ड ढुकुटीमा जम्मा गरि राखिएको छ[/caption]

डलरको मूल्यमा बृद्धि:
भारतीय अर्थतन्त्रमा बैदेशिक लगानीहरुलाई डा. मनमोहन सिंह अर्थमन्त्री भएको बेला देखि खुला गरिएकोले भारतमा बैदेशिक लगानीको ठूलो मात्रा रहेको छ । अहिलेको महामारी र शेयरबजारमा घाटा हुनाले धेरै बैदेशिक लगानीहरु फिर्ता गएको छ । त्यसैले भारतमा अमेरिकी डलरको ठूलो माग बढेको छ र त्यसैकारण भारतीय रुपैयाको अवमूल्यन भई डलरको मूल्य बढेको छ । नेपालको मुद्रा भारतीय रुपैयासँग गाँसिएको र स्थीर बिनिमय दर भएको कारणले भारतीय मुद्रा कमजोर भयो भने नेपाली मुद्रा पनि कमजोर हुन्छ । त्यसैले यसपाली भारतीय मुद्रा कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर भई ऐतिहासिक १२३ रुपैयाँसम्म प्रति डलरको मूल्य कायम भएको छ । यता विश्व सुनको बजारमा भाउमा बृद्धि हुनु अनि नेपाली रुपैयाँ पनि कमजोर हुँदै जानाले नेपाली सुनको बजारमा चौतर्फी दबाब परेको छ । त्यसैको कारणले अहिले नेपाली सुनको बजारमा सुनको भाउ क्रमशः उकालो लाग्दै छ ।

ब्याज दर कटौती:
अमेरिकामा फेडरल रिजर्भ बैंकले हालै क्रमशः ब्याजदरमा कटौती गर्दै ल्याएर लगभग ०.२५ प्रतिशतमा झारी सकेको छ । यसबाट बैंकमा पैसा जम्मा गर्दा ब्याज नपाउने हुन गएको छ र यसले पनि उपभोगमा वा सुनचाँदी जस्ता बहुमूल्य धातुहरुको मूल्यमा बृद्धि गर्दछ । यसले पनि सुनको भाउ बढाउन थप मद्दत गरेको छ र निकट भविष्यमा ऋण थुप्रिंदै गएको कारणले अमेरिकाले ब्याजदर बढाउन सक्ने संभावना पनि कम छ । बिभिन्न आर्थिक सूचकहरुले अब आउने दिनहरुमा अमेरिका ऋणात्मक ब्याजदर तर्फ जाने संकेतहरु देखाउँदै छन् ।

अन्तमा,
दिनदिनै नयाँ रिकर्ड कायम गर्दै अगाडी गईरहेको सुनको भाउ अब कतिसम्म पुग्ला ? यो सबैको मनमा उत्सुकता हुनु स्वाभाविक छ । माथी उल्लेख गरिएका सबै कारणहरुलाई मसिनो गरि केलाई विश्लेषण गर्दा अबका दिनमा नेपालीहरुले सुनको मूल्य सुनेर तर्सिनु पर्ने अवस्था आउँदै छ । लकडाउन पछि खुल्ने बजारमा सुनको भाउ सुनेर आश्चर्य मान्नुपर्ने हुनसक्छ । नेपाल एउटा गरिब देश भएको र नेपालीहरुको क्रय क्षमता पनि सिमित रहेको तथ्य सबैले बुझेकै हो । सन २०११ को मन्दीमा सुनको भाउ १९२४ डलर सम्म पुगेको थियो । अहिले भर्खर १७८० डलर भन्दा माथी पुगेकोमा हाम्रो बजारमा भाउ ८६ हजार भन्दा माथी पुगेको छ । १९०० डलर पुग्यो भने कति पुग्ला ? २००० डलर भयो भने कति पुग्ला ? बिभिन्न अर्थशास्त्रका विज्ञहरुले सुनको भाउ यो स्तर भन्दा पनि बढ्न सक्ने कुराहरु अनुमान गर्दै छन् ।

बैंक अफ अमेरिकाले सुनको भाउ ३००० डलर पुग्ने संभावना औंल्याउँदै छ भने वर्ल्ड गोल्ड काउन्सिलले सुनको भाउमा २०२१ सम्ममा ४० प्रतिशतसम्म मूल्य बृद्धि हुनसक्ने संभावना रहेको बताउँदै छन् । यी सबै आउँदो समयमा हामीहरुले अवश्य हेर्न पाउने नै छौं । तर एउटा कुरा चाहीँ स्पष्ट छ, त्यो के भने सुन सस्तो हुने संभावना कम छ र यस्को मूल्य बढ्ने संभावना निकै बढि छ ।-लेखक नेपाल सुनचाँदी व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष हुन् ।

Advertisement

Advertisement

Advertisement