पार्टी एकतामा संकट आयोः नेकपाका प्रवक्ता

Advertisement

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठले नै आफ्नो पार्टी विभाजनको संघारमा पुगेको स्वीकार गरेका छन् । बिहीबार स्थायी कमिटि बैठकपछि श्रेष्ठले पार्टी एकतामा संकट आएको भन्दै भने, ‘एकताको संकट भनेको पार्टी एकतामा खतरा भन्ने हो, पार्टी एकताको रक्षा गर्नुपर्छ र एकतालाई सुदृढ गर्न अन्तिम अवस्थासम्म छलफल गर्नुपर्छ।’

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहान अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को सहमति विपरित संसदको चालु अधिवेशन अन्त्य गरेको भन्दै बैठकमा कुरासमेत उठेको थियो । सोही कुरालाई औंल्याउँदै प्रवक्ता श्रेष्ठले पार्टी एकतामा संकट आएको बताएका हुन् ।

असन्तुष्ट पक्षले अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेपछि मन्त्रिपरिषदले हतार हतार निर्णय गर्दै अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो । संसद अधिवेशन एक्कासी अन्त्य भएको विषयमा नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओलीलाई सोध्दा ओलीले यो निर्णयले केही नहुने प्रतिक्रिया दिएका थिए । लगत्तै प्रचण्ड राष्ट्रपति विद्या भण्डारीलाई भेट्न शितल निवास पुगेर संसद अधिवेशन रोक्ने सिफारिस रोक्न आग्रह गरेका थिए । यद्यपि राष्ट्रपतिले सिफारिसअनुसार संसद अधिवेशन अन्त्य गरिदिएकी थिइन् ।

राष्ट्रपतिसँगको भेटमा प्रचण्डले अहिले कुनै अध्यादेशको आवश्यकता नपरेको बताएका थिए । जवाफमा राष्ट्रपतिले कुनै अध्यादेशको तयारी नभएको प्रष्ट पारेको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् । स्थायी समिति बैठकमा आलु बजेट अधिवेशन किन आजै अन्त्य भयो ? भनेर प्रश्न उठेको बताउँदै श्रेष्ठले यसले पार्टी एकतामा खतरा आयो, संकटबाट पार्टी जोगाउनुपर्छ भनेर कुराहरु आएको बताए ।

बैठकमा पार्टी एकतालाई सृदृढ बनाउन छलफलका लागि शुक्रबार एक दिन राखेर शनिबारका लागि मात्र स्थायी कमिटी बोलाइएको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए । उनले भने, ‘यही परिस्थितिमा पार्टी एकता गम्भीर संकटको मोडमा पुग्न लागेको त होइन ? भन्ने गम्भीर चासोसहित आज बैठकले पुनः पार्टी एकतालाई हर हालतमा रक्षा र सुदृढ गर्न, पार्टी, सरकार र राष्ट्रको आवश्यकतालाई पूरा गर्न छलफल आवश्यक गर्नु पर्ने भएकोले पर्सी ११ बजेसम्म बैठक स्थगित भएको छ ।’

Advertisement

Advertisement

Advertisement