जारी छ रोपाइँ, ३८ प्रतिशत क्षेत्रफमा सम्पन्न

Advertisement

काठमाडौँ । गत वर्षको तुलनामा यस वर्ष समयमा नै मनसुन सक्रिय हुँदा ३८ प्रतिशत क्षेत्रफमा रोपाइँ सम्पन्न भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले यही असार १५ गतेसम्म ती क्षेत्रफलमा रोपाइँ सकिएको जनाएको छ ।

कूल १३ लाख ७१ हजार ७०६ हेक्टर क्षेत्रफलमध्ये चार लाख छ हजार ६६२ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले बताए । उनका अनुसार गत वर्षको तुलनामा यस वर्ष समयमा नै मनसुन सक्रिय हुँदा सबै क्षेत्रमा रोपाइँ जारी रहेको बताए ।

गत वर्ष असार १५ गतेसम्म देशभर १४ दशमलव ७५ प्रतिशत क्षेत्रमा मात्र रोपाइँ सम्पन्न भएको थियो । मन्त्रालयको तथ्याङ्कअनुसार सो अवधिमा सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा ४९ दशमलव ५४ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ । गत वर्षको सोही अवधिमा सुदूरपश्चिम प्रदेशमा २५ दशमलव २२ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको थियो ।

कर्णाली प्रदेशमा ४९ दशमलव १५, प्रदेश नं ५ मा ४५ दशमलव ९९, प्रदेश नं ३ मा ३६ दशमलव २२, गण्डकी प्रदेशमा ३५ दशमलव ६६, प्रदेश नं २ मा २९ दशमलव ०२ र प्रदेश नं १ मा २१ दशमलव ८० प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ ।

यसैगरी उच्च पहाडमा ४० दशमलव ७२, मध्यपहाडमा ३७ दशमलव ९५ र तराईको ३४ दशमलव ३४ प्रतिशत गरी ३५ दशमलव ४७ प्रतिशत भूभागमा रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ । गत वर्ष उच्च पहाडमा २९ दशमलव ९६, मध्य पहाडमा २३ दशमलव ०७ र तराईमा ११ दशमलव ०७ गरी १४ दशमलव ७४ प्रतिशत क्षेत्रमा रोपाइँ गरिएको थियो ।

Advertisement

Advertisement

Advertisement