लगानी बोर्डको सीईओका लागि १२ आवेदन, एफडीआईमा विद्यावारिधि गर्नेदेखि बैंकका सीईओसम्म

Advertisement

काठमाडौं । लगानी बोर्डको रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि १२ जनाले आदेदन दिएका छन् । आवेदन दिनेमा प्रत्यक्ष वैदेशिक लगानीमा विद्यावारिधि गर्नेदेखि बैंकका सीईओसम्म रहेका छन् ।

आवेदनका लागि शुक्रबार ३ बजेसम्मको समय दिइएको थियो । उक्त अवधिमा १२ जनाको आवेदन परेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अधिकारीहरुले जानकारी दिए पनि उनीहरु सबैको नाम भने खुलाउन चाहेनन् । प्राप्त केही नाममध्ये डा. सरोज कोइराला एफडीआईमा पीएचडी गर्ने नेपालका एक मात्रै व्यक्ति हुन । उनले यसअघि पनि लगानी बोर्डको सीईओमा आवेदन दिएका थिए । नम्बरका आधारमा पहिलो नम्बरमा रहेका कोइरालासहित तीन जनालाई सीईओ नियुक्तिका लागि सिफारिस गरिएकोमा महाप्रसाद अधिकारीलाई सरकारले नियुक्ति गरेको थियो । अहिले उनी प्रदेश १ को लगानी प्राधिकरणको सीईओ छन् ।

त्यस्तै, बोर्डको सीईओका लागि बैंकरहरु सुमन शर्मा, सन्तोष कोइरालाले पनि आवेदन दिएका छन् । शर्मा यसअघि माछापुछ्रे बैंकको सीईओ थिए भने कोइराला सोही बैंकको अहिले सीईओ छन् । त्यस्तै, बोर्डमा कन्सल्ट्यान्ट रहेका आषिश गजुरेल र रामकृष्ण खतिवडाले पनि आवेदन दर्ता गरेका छन् । गजुरेल अहिले पनि कन्सल्ट्यान्ट छन् भने खतिवडाले दुई बर्षअघि नै बोर्ड छोडिसकेकका हुन् । केही समय अघि विद्युत नियामन आयोगको सदस्य रहे पनि त्यहाँ काम गर्न नसकेपछि राजीनामा दिएर बसेका थिए ।

त्यसबाहेक सरकारको सहसचिव रहेका लक्ष्मीविराश कोइरालाले पनि निवेदन दर्ता गरेका छन् । उनी सुचना विभागका महानिर्देशक जस्ता पदहरु समालिसकेका व्यक्ति हुन् भने अर्का निवेदन डा. रमेश पौडेल त्रिभुवन विद्यालयमा अर्थशास्त्र पढाउने सहप्राध्यापक हुन् । त्यस्तै, बोर्डको सीईओ हुन नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आईक्यान)का अध्यक्ष कृष्ण आचार्यले पनि आवेदन गरेका छन् । कर्मचारी सञ्चय कोषको प्रमुखदेखि थुप्रै संस्थामा काम गरिसकेका आचार्य राष्ट्रिय बाणिज्य बैंकको सीईओ हुन पनि प्रयास गरेका थिए ।

त्यस्तै, नेपाल आयल निगमको कार्यकारी निर्देशक भइसकेका चण्डिका भट्ट र राष्ट्रिय योजना आयोगको सदस्य रहेका शिशिर भट्टले पनि आवेदन दिएका छन् । अरु आवेदकको नाम अझै खुल्न सकेको छैन् ।

Advertisement

Advertisement

Advertisement