पूर्वसचिवको प्रश्न-कसको मतिका कारण हाम्रो देश यस्तो हुन गयो ?

सिक्किमको संसदीय इतिहासमा सन् १९७४ मा लेण्डुप दोर्जेको पार्टी सिक्किम नेशनल पार्टी (एसएनसी )ले सिक्किमको संसदको कूल ३२ सीटमध्ये ३१ सीट जित्यो र १९७५ मा सिक्किमलाई गणतन्त्र बनाउँदै भारतमा विलय गरायो ।

त्यसको ५ वर्ष पछि १९७९ को सिक्किम विधानसभा चुनावमा उसको एसएनसी पार्टीले १ सीट पनि जितेन । त्यसपछि भारतीय कॉग्रेससंग दल विलय गरी सदाका लागि विलायो । लेण्डुप १०३ वर्षसम्म अलप जिवन बिताएर परलोक हिडे ।

सिक्किममा राजतन्त्रको बिरोध गर्ने सिक्किमलाई भारतसंग बिलय गराउने दलका नेता लेण्डुप दोर्जेले जम्मा ५ वर्ष सरकार चलाए । त्यसपछि नेपाली सिक्किमे मुख्यमन्त्री नरबहादुर भण्डारीले १५ वर्ष र त्यसपछि नेपाली सिक्किमे मुख्यमन्त्री पवन चामलिङले २५ वर्ष सरकार चलाए ।

विधानसभा सदस्य नै नरहेका नेपाली सिक्किमे मुख्यमन्त्री प्रेम गोलेको दलले सरकार चलाईरहेको छ । अहिले उनी विधानसभामा निर्वाचित पनि भइसकेका छन् ।

सिक्किम र नेपालको राजनीतिक बेहाल र ताल देखेर भूटानले बेलैमा गम्भीर पाठ सिक्यो । ट्याउ ट्याउ गर्ने नेपाली भुटानीहरूलाई कि चुप लागेर यहॉ बस् कि भाग भन्यो । करिब १ लाख नेपाली भुटानी पश्चिमा मुलुकहरूको लहलहैमा र नेपालमा बहुदल आयो अब भुटानमा पनि ल्याईन्छ भन्ने राजनीतिक भ्रम पालेर देश छाडेर प्रवास लागे । अन्तर्राष्ट्रिय नियमानुसार भारतले शरणार्थी स्विकार्नु पर्ने तिनलाई उसले भारतमा बस्न दिएन र नेपालतिर धपायो । नेपालले पनि नियमले शरणार्थी राख्न नमिले पनि तिनलाई उत्ताउलो बन्दै तिनलाई देशभित्र हुल्यो । १५–२० वर्ष यहॉका शरणार्थी शिविरहरूमा बसेर कुनै निकास नपाउने भएपछि हायल कायल हुँदै पछि ती नेपाली भुटानी शरणार्थीहरू अधिकॉशको युरोप अमेरिकातिर तितरबितर भए, उतै बसाई सराइ गराईए, लगिए ।

भुटानका नेताहरूले विश्व र छिमेकी मुलुकहरूमा भइरहेको उथलपुथल मध्येनजर गर्दै राजतन्त्र र लोकतन्त्रको रक्षार्थ सबै कदम चालेर अहिले विश्वले वाहवाह गर्ने मुलुक बन्दै गएको छ । स्वच्छ, सफा, ह्याप्पी, अनुशासित, आध्यात्मिक राष्ट्र बन्दै गएको छ । उसले उत्ताउला राजनीतिक भड्काउलाई सजिलै बेलैमा लगाम लगाएर मुलुकलाई संकटबाट जोगाउन सफल भयो ।

लहैलहैमा लागेर आफ्नै कुबु्द्धिले गर्दा हामी नेपाली र सिक्किमेहरू सबै गुमाउन परेर पुन्पुरोमा रात राखेर अहिले रूदैछौं । अब हुँदाहुँदा भारत र आफ्नै दलका सहकर्मी नेताहरूलाई धारे रात लगाउँदै दोष थोपर्ने मूर्खतापूर्ण दशा लागेको छ । ‘न हग्छ न बाटो छाड्छ’ भनेझै भएको छ ।

सानो भूटानलाई विश्वको कुनै शक्ति राष्ट्रहरूले पनि झुकाउन सकेन । तर नेपाललाई फटेंग्राले पनि लात हान्दैछ । कसको मतिका कारण होला यस्तो हुन गएको हो ? यसो दिमाग खियाउन पर्दैन ?
(उपाध्याय नेपाल सरकारका अवकाश प्राप्त सचिव हुन् ।)