विदेशमा सलह भुटेर, उसिनेर, साँधेर अनि झोलसहित खाने चलन, नेपालमा खाने कि नखाने ?

Advertisement

काठमाडौँ । कोरोना भाइरसको आतङ्कले विश्वलाई थिचिरहेका बेला नेपालमा सलहको आतङ्क थपिएको छ । कोरोनाले मानिसको ज्यान लिइरहेको छ भने सलह चाहिँ मानिसले मीठो मानेर भोजन गरेको चर्चा छ ।

विदेशी मुलुकमा सलह भुटेर, उसिनेर, साँधेर अनि झोलसहित खाएका कैयौँ भिडियो युट्युबमै भेटिन्छन् । नेपालमा यो खान हुन्छ भन्ने एकथरी छन् भने खान हुँदैन भन्ने मत राख्ने विज्ञ छन् र उनीहरूले चरा, कुखुरा वा हाँसलाई दाना बनाएर दिन सकिने बाटो पनि देखाएका छन् ।

मीठो मानेर खाएः जोशी
काठमाडौँं उपत्यकावासीले वर्षौंअघि नै सलहलाई हाँडीमा भुटेर खाएको इतिहास छ । १०१ वर्षीय शताब्दी पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीले नेपालमा सलह आएको उतिबेलै देखे । उनले त्यतिबेला सलह पोलेर अनि हाँडीमा भुटेर काठमाडौँका मानिसले खाएको समेत देखेका थिए ।

उनका अनुसार सलह आकाशै ढाकेर आएका थिए । करोडौँ सङ्ख्यामा थिए भन्ने उनको अनुमान छ । उनी सलहले बादल जस्तै सूर्य नै नदेखिने अँध्यारो बनाइदिएका थिए भनेर स्मरण गर्छन् । सलह जहाँ बस्यो रुखपात, धान बाली त्यहाँको हरियाली सखाप बनेको उनी सम्झन्छन् । उपत्यका त्यो समय खेत नै खेत अनि वरिपरि हरियाली जङ्गलले भरिएको थियो । सलहले खाएपछि बुच्चे र ठुटे बोटबिरुवा हेरेर किसान दिक्क भएका थिए ।

उनका अनुसार काठमाडौँका विभिन्न स्थानका मानिसले सलह समाते । त्यति मात्र होइन सडकमा लहरै भाग लगाएर बेच्न पसल नै थापे । शताब्दी पुरुष जोशी आफू खाने अनि मसला हालेर मीठो बनाएको सलह अरूलाई बेचेर चखाएको मैले देखेको हुँ भन्छन् । एक भागको दुई पैसादेखि चार पैसा सम्ममा बेच्ने गरेका थिए । उनको कथनले नेपालमा सलहले आतङ्क मच्चाएको र मानिसले खाएको पनि पुष्टि हुन्छ । सरदार भीमबहादुर पाँडेले त्यस बखतको नेपाल पुस्तकमा वि. सं. १९८५ मा आकाशै ढाक्ने गरी नेपालमा सलह आएको उल्लेख गर्छन् । उनले सलहले अनिकाल नै पारेको र मानिसले सलह खाएको पनि चर्चा गर्छन् ।

के साँच्चै सलह खान हुन्छ त ?
पछिल्लो समय सलह खरिद बिक्री गर्ने क्रम बढेको छ । यसलाई पकाएर खाने प्रवृत्ति पनि देखिएको छ । सलह खान हुन्छ भन्नेले खान थालेका छन् । खान हुन्न कोरोना जस्ता भाइरस फैलाउन सक्छ भन्ने अर्काथरीले नखान प्रेरित गरिरहेका छन् । त्रिभुवन विश्वविद्यालयका कीट विज्ञ डा. प्रेमबहादुर बुढा सलहमा उच्च प्रोटिन हुने भएकाले खान हुने बताउँछन् ।

गोरखापत्र दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement