अर्थतन्त्रलाई पुरानो लयमा फर्काउन सरकारले काम गरिरहेको छः परराष्ट्रमन्त्री

Advertisement

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाली जनतालाई कोरोना सङ्क्रमणबाट जोगाउन र कोरोनाका कारण गिरेको अर्थतन्त्रलाई पुरानो लयमा फर्काउन सरकारले काम गरिरहेको बताएका छन् । सरकारले कोरानाको कहरबाट देशलाई सुरक्षित राख्नका लागि निरन्तर कार्य गरिरहेको उल्लेख गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले कोरोनाको कारण गिरेको अर्थतन्त्रलाई पुनर्ताजगी गर्ने कार्यलाई पनि सरकारले गम्भीरतापूर्वक लिएको बताए ।

गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको नवौँ वार्षिक साधारण तथा राष्ट्रिय ज्ञान सम्मेलनलाई अनलाइन सम्बोधन गर्नुहुँदै परराष्ट्रमन्त्री ज्ञवालीले कोरोनाको यो महामारीबाट विश्व नै प्रभावित भएको र विश्वकै अर्थतन्त्र नै गिरेको अवस्थामा नेपालको अर्थतन्त्र उकास्न सरकारको एकल प्रयास मात्रै पर्याप्त नहुने भएकाले देशभित्र र देशबाहिर रहेका सबै नेपालीको सहकार्य जरुरी रहेको बताए ।

“कोरोनाको सङ्क्रमण रोक्न र सङ्क्रमण भएकाहरुलाई सुरक्षित क्वारेन्टिनमा राख्न सरकारले बन्दोबस्त मिलाएको छ । परीक्षणको दर पनि बढाइएको छ”, मन्त्री ज्ञवालीले भने, “यस महामारीले अर्थतन्त्रमा गहिरो खाल्डाहरु बनाएको छ । आर्थिक चुनौती थपिएको छ । पर्यटन क्षेत्र ध्वस्त हुँदैछ । यस्तो बेला सबैको साथको खाँचो छ । सरकारको प्रयासमात्र पर्याप्त नहुन सक्छ ।”

प्रत्येक वर्ष पाँच लाख विश्व श्रम बजारमा जानेहरु हुनुहुन्छ । त्यो अहिले सम्भावना देखिँदैन । करीब १० लाखको सङ्ख्या बाहिर रहनुभएकाहरु फर्कने अनुमान छ । कूल १५ लाखभन्दा बढीलाई तत्काल स्वदेशमा नै रोजगारी सुनिश्चितता गर्नुपर्ने अवस्था छ । परराष्ट्रमन्त्री ज्ञवालीले थप्नुभयो, “यस पक्षलाई सरकारले गम्भीरतापूर्वक हेरेको छ ।” अर्थतन्त्रलाई पुरानो लयमै फर्काउन सरकारले तयारी गरिरहेको छ । यस कार्यमा गैरआवासीय नेपालीको पनि साझेदारी रहन्छ भन्ने सरकारलाई विश्वास छ ।

सो अवसरमा नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले कोरोनापछिको नेपालका बारेमा समेत बहस र छलफल हुनुपर्ने बताए । स्वदेश फर्किनुभएका नेपालीहरुलाई नेपालमै रोजगारी कसरी दिने भन्ने सन्दर्भमा अब हामी सबैको ध्यान केन्द्रित हुनुपर्ने नेता कोइरालाको भनाइ थियो । एक अर्को प्रसङ्गमा नेता कोइरालाले गैरआवासीय नेपालीलाई नागरिकता दिने विषय अब विवाद वा छलफलको विषय नभएको बताउँदै संविधानले सुनिश्चित गरिसकेकाले अब त्यसको कार्यान्वयनमात्र बाँकी रहेको उल्लेख गरे ।

यस्तै पूर्वपरराष्ट्रमन्त्री डा प्रकाशशरण महतले कोरोनाका कारण मानवीय क्षतिसँगै मुलुकको आर्थिक तथा सामाजिक पक्षमा समेत असर पुगेको बताए । उनले भविष्यमा आउन सक्ने खाद्यसङ्कटदेखि आर्थिक समस्याप्रति गम्भीर भई काम गर्नुपर्नेमा वर्तमान सरकार यस्तो विषम परिस्थितिमा पनि सत्ता सङ्घर्षमा नै केन्द्रित रहेको आरोप लगाए । पूर्वपरराष्ट्रमन्त्री महतले सरकारले संसद स्थगित गरेर कुनै पनि विषयमा छलफल गर्न नचाहेको प्रस्ट भएको भन्दै हठात रुपमा संसद् स्थगित गर्नु सरकारको कमजोरी भएको बताए ।

एनआरएनए अमेरिकाका अध्यक्ष सुनील साहको अध्यक्षता र महासचिव पशुपति पाण्डेको सञ्चालनमा भएको साधारणसभा उद्घाटनमा बोल्हुँदै अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुनकुमार कार्कीले विदेशमा रहेका नेपाली स्थायी रुपमै नेपालका दूत भएको बताए । उनले देशबाहिर रहेका नेपालीको गतिविधि र क्रियाकलापसँग नेपालको पहिचान जोडिएको उल्लेख गर्दै यसलाई मनन गरेर देशको छवि बढाउने गतिविधि गर्न एनआरएनहरुमा आग्रह गरे ।

यसैगरी, गैरआवासीय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष कुमार पन्तले एनआरएनएले सरकारसँग मिलेर काम गरिरहेको बताउँदै आगामी दिनमा समेत सरकारसँग सहकार्य गरी काम गरिने उल्लेख गरे । उनले विभिन्न श्रम गन्तव्य देशबाट नेपाल फर्किनुभएका नेपालीहरुलाई नेपालमै रोजगारको सुनिश्चितता गर्ने सरकारले सुरु गरेको प्रयास सकारात्मक भएको र यस कार्यमा एनआरएनए सक्दो सहयोग गर्ने बताए ।

यस्तै, अमेरिकाको मेरिल्यान्ड राज्यको तल्लो सदनका हाउस अफ डेलिगेट्स ह्यारी भण्डारीले गैरआवासीय नेपालीहरु जुन देशमा बस्नुभएको छ त्यो देशको राजनीतिमा पनि पाइला अघि बढाउनुपर्नेमा जोड दिए । साधारणसभा सँगै राष्ट्रिय ज्ञान सम्मेलनमा विभिन्न शीर्षकमा गोष्ठीको आयोजन गरिएको र विषयगत विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नुहुने साधारणसभा तथा सम्मेलनका संयोजक एनआरएनए अमेरिकाका वरिष्ठ उपाध्यक्ष डा अर्जुन बञ्जाडेले जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement