सहकारीमार्फत बेरोजगारी समस्याको सम्बोधन हुन्छः मन्त्री अर्याल

Advertisement

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले कोभिड–१९ को महामारी र जलवायु परिवर्तनबाट सिर्जित परिस्थितिविरुद्ध अनुकूलन क्षमता सुदृढ गराउन सहकारी क्षेत्रले भूमिका खेल्नुपर्ने बताएकी छिन् ।

राष्ट्रिय सहकारी महासङ्घले ९८औँ अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा उहाँले कोभिड–१९ को महामारीका कारण बढ्दो बेरोजगारी समस्यालाई सम्बोधन गर्ने क्षेत्र नै सहकारी भएको बताइन् ।

उनले भनिन्, “यो विषम परिस्थितिमा सहकारीले सिर्जना गर्न सक्ने रोजगारीको अवसरका विषयमा सरकारलाई तथ्याङ्क दिनुस् । सरकारले सहकारीलाई सबै क्षेत्रमा प्रवेश गर्न आवश्यक पर्ने कानूनमा संशोधन गर्न तयार छ ।” अर्थतन्त्रमा देखिएका गम्भीर चुनौतीको सामना गर्न, नेपालको अर्थतन्त्रलाई मजबुद बनाउन, घरघरमा समृद्ध ल्याउन सहकारीको पैसा उत्पादन क्षेत्रमा परिचालन गर्ने, स्थानीय स्रोत साधनलाई सहकारीमार्फत भावी पुस्तालाई समेत जोगाउन गरी सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो ।

दिगो विकास लक्ष्य प्राप्तिका लागि पनि हरेक क्षेत्रमा सहकारीको उपस्थितिको खाँचो औँल्याउँदै मन्त्री अर्यालले सहकारी अब एक क्षेत्रमा मात्र सीमित भएर नहुनेमा जोड दिइन् । “जनस्तरससम्म पुग्ने, प्रत्येक परिवारका सदस्यसम्म पुग्ने सहकारी सबै क्षेत्रमा जानुपर्छ । त्यसका लागि कानूनी अड्चन फुकाइन्छ”, उनले भनिन् ।

कार्यक्रममा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव केदार न्यौपानले ‘जलवायु कार्यका लागि सहकारी’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनले नेपालले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन बनाएर अगाडि बढेकाले सहकारी क्षेत्रले जलवायु परिवर्तनबाट सिर्जित चुनौती उत्थानशीलता र अनुकूलन क्षमता वृद्धि गर्न सदस्यलाई तयार पार्नुपर्ने बताए । युएनडिपी नेपालका सहायक आवासीय प्रतिनिधि विजय सिंहले देशको लक्ष्यमा सहकारीले ठूलो योगदान दिने बताए । महासङ्घका अध्यक्ष मीनराज कँडेलले सहकारी अभियानका लागि दिगो विकास लक्ष्यका ‘गाइडलाइन’ तयार गरिएको बताए । राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेलले नयाँ प्रविधिको अवलम्बनमा जोड दिए ।

नेफ्स्कुन पुरस्कृत
दिवसका अवसरमा विभिन्न सहकारी सङ्घ÷संस्था राष्ट्रिय सहकारी पुरस्कारबाट पुरस्कृत भएका छन् । मन्त्री अर्यालले केन्द्रीय सहकारी सङ्घमध्येबाट नेपाल बचत तथा ऋण केन्द्रीय सङ्घ (नेफ्स्कुन) का पुरस्कृत सङ्घका अध्यक्ष परितोष पौडेललाई प्रदान गरिन् । त्यसैगरी जिल्लास्तरीय सङ्घमध्येबाट जिल्ला सहकारी सङ्घ लि बाँके पुरस्कृत भएको छ ।

प्रदेशगत आधारबाट उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार २०७६ बाट विभिन्न पाँच प्रदेशका सहकारी संस्थालाई सम्मान गरिएको छ । प्रदेश २ बाट साना किसान कृषि सहकारी संस्था रौतहट, वाग्मती प्रदेशबाट चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था काठमाडौँ, गण्डकी प्रदेशबाट पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था कास्की, प्रदेश ५ बाट जनउत्थान साकोस रुपन्देही र कर्णाली प्रदेशबाट हरियो हिरा कृषि तथा जडीबुटी विकास सहकारी संस्था सुर्खेत पुरस्कृत भए ।

Advertisement

Advertisement

Advertisement