तरकारी लगाएरै गरिब भइरहने कि गाँजा बैध गरेर धनी हुने ?

Advertisement

विश्वमा सबैभन्दा धेरै गाँजा धेरै निर्यात गरेर कमाउने मुलुक अमेरिका, रसिया, चीन र भारत हुन् । अरूलाई वैध गर्नबाट रोक्ने षडयन्त्र गर्नेहरू पनि यिनै मुलुकहरू हुन् । यस्ता मुलुकको षडयन्त्र बुझेरै उरूग्वेले सन् २०१३ मा गाँजा वैध गरिदियो र अहिलेसम्म मजाले कमाएको छ । आजसम्म ७० देशले गाँजा वैध गरिसकेका छन् ।

तर नेपालको षडयन्त्र फरक छ । नेपालबाट वर्षेनि रू ५० अर्वको गाँजा तस्करीबाट निर्यात हुने अनुमान छ । केही बाठा नेक्ससले तरमारिरहेका छन् अवैध भएर पनि । जनता र सरकारलाई सुको आम्दानी छैन, बरू वर्षेनी गाँजा प्रतिवन्धको ब्यवस्थापन गर्न भनेर गरिबमाथि कर थोपरेर कमाएको सवा एक अर्ब रूपैयॉ जेल ब्यवस्थापन र गाँजा फाँड्नमा खर्च गर्छ । त्यसमाथि वर्षेनी ५०,६० जना गरिबका छोरा प्राकृतिक जहाँतही उम्रने गाँजाको भरिया बनेका युवालाई जेल कोच्छ ।

नेपालभरिका प्राकृतिक महाअमृत झार गाँजा फाँड्दै जान वर्षेनि रू १५ खर्ब खर्च गरे पनि पुग्ने छैन । कुन मुर्खको लहलहैमा लागेर नेपालीहरूको बुद्धि भुटियो र आज साढे ४ दशकदेखि गाँजा फााडेको नाटक गरेर अलिअलि गोजी भर्ने र गरिब युवाहरूलाई जेलमा कोच्ने रोगी मुलुक बन्न पुग्यो । अहिले विश्वका ७० मुलुकले गाँजा वैध गरिसके, कमाउनु कमाई सके । नेपाल भने विदेशमा लाखौँ युवा बेचेर कमाएको पैसाले नेता र कर्मचारी पाल्न पाएको छ । गर्नुधर्नु रत्ति केही गिदीको गुदीमा पस्दैन ।

अहिले नै गाँजा वैध हुने हो भने नेपालले सन् २०८२ सम्ममा १७० अर्ब डलर कमाई सक्ने अध्ययनले देखाएको छ । यो रकम कति हो नेपालीले सपनामा पनि चिताउन नसक्ने र गन्नै नसक्ने परिमाणको हुन्छ ।

स्पेनमा १ ग्राम गाँजाको ७ युरो देखि १० युरोसम्म पर्छ । अर्थात १ के जी को ७ हजार युरोदेखि १० हजार युरो पर्छ, मूल्य रू १० लाख देखि १५ लाख रूपैयासम्म । गाँजाको गेडा पौष्टिक आहार हो, त्यसले नसा लाग्दैन । मजाले पिठो वा रोटी पकाएर खायो भने भात, गहुँको भन्दा बढी ताकत दिन्छ । गाँजाको पौष्टिक आहार खाने गर्यो भने रोग लाग्दैन, दिमाग तेज हुन्छ, त्यसमाथि लामो आयु हुन्छ ।

नेपालमा पनि गॉजा प्रति किलो रू १३,०००/– पर्छ । नेपालका अन्य कुन अन्न वा फलफुल वा तरकारी होला यति मूल्यवान ? १० रूपैया किलोमा पनि बेच्न पनि धौधौं पर्ने तरकारी लगाएरै गरिब भइरहने कि, अलिकति भए पनि गाँजा रोपेर प्रतिकिलो रू १३ हजारमा बेच्न पाउने खेती पनि गर्ने ? १३०० गुणा बढी आम्दानी हुने खेतीतिर पनि लाग्ने कि गरीबीबाट कहिल्यै नतंग्रिने खेतीमा नै रूमल्लिने ?

नेपालमा गाँजालाई वैध गर्न संसदमा पेश गरिएको विधेयकका लक्ष गाँजाबाट औषधि र औद्योगिक सामाग्रीहरूको उत्पादन गर्ने, खेती र ब्यवसाय गर्ने गरी वैध बनाउनका लागि हो । जहाँतही पसलमा गएर जसले पायो उसले किनेर खाने पिउने, खाने वा जसले पनि गाँजा खेती गर्न पाउनका लागि हैन । खेती ब्यावसाय गर्न, उत्पादन गर्न, निर्यात गर्न, सरकारी निकायबाट अनुमति लिनुपर्ने र त्यसका आधारहरू कानुनमा प्रष्ट लेखिए बमोजिम हुने हो । अहिलेको चरणमा गाँजा खुला गर्ने वा खानका लागि वैध गरिने हैन । गाँजा खाने वा बजारमा खुला बेच्ने काम अवैध नै मानिने गरी विधेयक प्रस्तुत गरिएको छ ।

नेपाल असार साउन गाँजा पाक्ने बेला हो । कहिले असार आउला, गाँजा फाँड्न पाउँला, कुस्त भत्ता र अन्य सुबिधा कुम्ल्याउँला र पचाउँला भन्ने ताकमा देशभरिका प्रहरी, स्थानीय नेताहरू र क्लबहरूका युवाहरू दिन गनेर कुर्दै बसेका हुन्छन् ।

गाँजा उम्रने बेलामा नै मास्ने हो भने यतिका नाटक गर्नेहरूको गोजी कसरी भरिन्थ्यो त ? कसले बुझेको छैन छाल गनेर पैसा कुम्ल्याउन पल्केका नेपाली नेताहरू, युवाहरू, प्रहरीहरू र कर्मचारीहरूको तिगडमबाजी । यो फाँड्ने नाटक गरिएको पनि नेपालमा हुर्केकामध्ये १ प्रतिशत गाँजाको पनि हैन । मुलुकभरि जति गाँजा फल्छ, त्यसको १ प्रतिशत पनि पुलिसले फाँडेका हुदैनन् । पुलिस, प्रशासन, नेता र स्थानीय युवा सबैले गॉजाबाट अवैध आम्दानी गरिरहेका हुन्छन् ।

मुलुकका वर्षेनी उम्रने सबै गाँजा फाँड्न लाग्ने हो भने मुलुकको सबै रू १५ खर्ब बजेट गॉजा फाड्नैमा खर्च गरे पनि संभवतः पुग्ने छैन । गाँजालाई माया गरौं । ईश्वरले नेपालीलाई लल गरिखाउ भनेर गाँजा जस्तो अमृत वनस्पति फालाफाल प्राकृतिक रूपमै बरदान दिएका हुन् । माल पाएर चाल नपाएको, चिन्नेलाई श्रीखण्ड नचिन्नेलाई खु्पाको बिँड नबनाऔँ ।

सबैले बुझ्नुपर्छ, गॉजाबाट नबन्ने कुनै वस्तु हुँदैन । हाम्रो शरीरभित्र गाँजा प्रणाली हुन्छ, गाँजा नखाए पनि । आमाको दूधमा गाँजा तत्व हुन्छ । लामो समय दूध खुवाउने आमा र लामो समय आमाको दूध खान पाएको बच्चा मानसिक र शारिरीक रूपमा जीवनभरि स्वस्थ रहनुको कारण यही गॉजा तत्व पर्याप्त खान र खुवाउन पाएर हो । बच्चालाई जति धेरै दूध खुवायो त्यति धेरै शरीरले गाँजा उत्पादन गर्ने हुनाले आमा पनि बढी स्वस्थ हुने भएको हो ।

हाम्रो शरीर भित्र जति तत्व छन् लगभग त्यति नै तत्व भएको कुनै वनस्पति छ भने त्यो गाँजा हो । गाँजाबाट आयुर्वेदमा सयकडौँ औषधि बन्छन् । होमिओपैथीमा पनि दुईवटा प्रमूख औषधि बनाईन्छ । एलोप्याथीमा पनि थुप्रै औषधि बनाईएका छन्, यसमा उन्नाईसौं शताब्दीसम्म १०० वटा मुख्य औषधि गाँजाबाट बनेका पाईन्थे ।

नेपालमा जहाँतहीँ आफै फल्ने यसो सबैले देख्ने ठाउँमा वा कसैले सूचना दिएको अवस्थामा बाहेक कसैलाई गाँजासंग मतलब पनि हुदैन। गॉजाको फुल वा चरेश बनाएर पुलिसबाट जोगिदै वा जोगाउदै तस्करसम्म पुर्याउने काम गरेर गाउँका युवा किसानहरूले पेट पालिरहेका हुन्छन् ।  गाँउका पुलिसहरूलाई सबै थाहा हुन्छ र ती अधिकाँश उदार पनि हुन्छन्, त्यसैले बुझेरै पक्रन चासो पनि दिदैनन् ।

दलीय प्रतिद्वन्दिताका कारण कोही कोही गाँजा लुकाएको आरोपमा पक्राउ पर्छन् वा पक्राउ गर्न बाध्य हुनुपर्छ र दुःख पाउने गर्छन् । पहुँच भएकाहरू पछि छुटाईन्छन् पनि । गरिब, कमजोर, सोझासाझाहरू भने जेलमा कोचिन बाध्य हुन्छन् । त्यसैले ईश्वरले गरिखाउ भनेर नेपालीलाई बरदान दिएको प्राकृतिक झार गाँजालाई अवैध गरेर जनता पक्राउ गर्दै थुनाउने र परिवारलाई पेट पाल्नबाच बन्चित गर्ने काम महापाप हो । गाँजासंग दुस्मनी गर्नु आफ्नो खुट्टामा आफै बञ्चरो हानेको हो । त्यसैले गाँजालाई निरपराधिकरण गरियोस्, गाँजालाई वैध गरियोस् । (उपाध्याय नेपाल सरकारका अवकाश प्राप्त सचिव हुन् ।)

Advertisement

Advertisement

Advertisement