‘क्लिन फिड’ लागू गर्ने मिति नजिकिँदै, विवाद भने कायमै

Advertisement

काठमाडौं । सरकारले भनेअनुसार नेपालमा ‘क्लिन फिड’ लागू गर्ने मिति नजिकिँदै गएको छ । आउँदो कात्तित ८ गतेबाट क्लिन फिड लागू गर्ने भनिरहँदा यसप्रति आशासँगै आशंकाहरु पनि देखिएको छ ।

नयाँ विज्ञापन ऐन कार्यान्वयन गर्ने क्रममा विदेशी च्यानलहरुलाई विज्ञापन रहित गर्न क्लिन फिड लागू गर्न लागिएको हो । यसलाई कसरी कार्यान्वयन गर्ने ? भन्ने विषयमा भने विवाद कायमै देखिन्छ । विज्ञापन ऐन पास भएपछि सरकारले क्लिन फिड लागू गर्न एक बर्षको समय दिएअनुसार कात्तिक ८ गतेलाई डेटलाइन तोकिएको छ । त्यसअनुसार हरेक विदेशी टेलिभिजन प्रसारण गर्ने संस्थाले यस्ता च्यानलहरु विज्ञापनरहीत गरेर मात्रै प्रसारण गर्नुपर्ने बाध्यता हुन्छ ।

‘क्लिन फिड’ लागु हुने अवधि नजिकिँदै जाँदा यससँग सरोकार राख्ने कुनै पक्ष खुशी छ भने कुनै पक्ष दुःखी । सरकारदेखि विज्ञापन व्यवसायी जसरी पनि यसलाई कार्यान्वयन गर्नुपर्ने पक्षमा छन भने डीटीएच (डाइरेक्ट टू होम) र केवल टिभी सेवा प्रदायकहरु क्लिन फिडको कार्यान्वयनमा प्राविधिक तथा व्यवहारिक समस्यासँगै आफूहरुको ठूलो लगानी जोखिममा पर्ने अवस्था रहेको बताउँदै आएका छन् । क्लिन फिड लागू भयो भने विशेषगरी भारतीय विज्ञापनका कारण नेपाललाई भइरहेको अर्बौं रुपियाँ जोगिने, साँस्कृति हस्तक्षेप कम भई नेपालको कलाकारदेखि कला संस्कृतिको विकासमा सहयोग पुग्ने दावी विज्ञापन व्यवसायीको छ ।

तर केवल तथा डीटीएच सेवा प्रदायकहरुले भने आफूहरुले औंल्याएका समस्या समाधान नगर्दा विदेशी टेलिभिजनहरु सबै भन्दा हुनेसम्मको अवस्था आउने र त्यसले झन अर्को ठूलो समस्या सिर्जना गर्ने बताउँछन् ।

के छ सरकारी भनाई ?
सुचना तथा सञ्चार प्रविधि मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले क्लिन फिड लागू गर्ने कुराबाट पछि हट्ने ठाउँ नरहेको बताए । उनले यसको कार्यान्वयनका लागि सरकारले आवश्यक उपकरण प्रक्रिया नै अघि बढाइसकेको बताए । क्लिन फिड लागू गर्ने कुरामा सरकार पछि हट्न नसक्ने तर टेलिभिजन सेवा प्रदायकहरुको समस्याहरु कानुनभित्र रहेर सम्बोधन गर्न सकिने तिवारीको भनाई छ ।

उनले व्यवसायीहरुसँग बसेर उनीहरुको जायज समस्याहरु कानुनको अधिनभित्र रही छलफल गर्न र उनीहरुको माग सम्बोधन गर्न मन्त्रालय तयार रहेको बताए । तिवारीका अनुसार नेपालको विज्ञापन बजारलाई प्रवर्द्धन गर्न क्लिन फिड लागू गरिएकाले यसलाई सफल बनाउन सबैको सहयोग जरुरी रहेको बताए ।

के भन्छन् विज्ञापन व्यवसायी ?
नेपाल विज्ञापन संघका वरिष्ठ उपाध्यक्ष सोम धितालले आफूहरुको लामो प्रयास र दबाबपछि सरकारले क्लिन फिड कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएकोले यसबाट पछि हट्न नमिल्ने बताउँछन् । टेलिभिजन सेवा प्रदायकहरुको जायज समस्यालाई सरकारले सम्बोधन गरेर भए पनि क्लिन फिड लागू गर्ने कुरालाई प्रभावकारीरुपमा कार्यान्वयन गर्नुपर्ने उनको भनाई छ ।

धिताल भन्छन्, ‘क्लिन फिड कात्तिकबाट कार्यान्वयन हुन्छ भन्ने कुरामा शंका छैन् । यसबाट कसैलाई समस्या पर्छ, अप्ठ्यारो पर्छ भने उनीहरुको समस्या सुन्ने, त्यसलाई सम्बोधन गर्ने दायित्व सरकारको हो । सरकारले अन्याय त कसैलाई पनि गर्न हुँदैन् । क्लिन फिड कार्यान्वयन देशको लागि आवश्यक छ । समग्र मिडिया उद्योगको विकासका लागि चाहिएको हो ।’

कानुनमा भनिएजस्तो विज्ञापन बोर्ड गठन गरेर नियामनसम्बन्धी काम चाँडै अघि बढाउनुपर्ने पनि धितालले बताए । क्लिन फिड कार्यान्वयन भइसकेपछि यसको लाभ मिडियासम्वद्ध सबै क्षेत्रले पाउने भन्दै उनले पहिला घर बनाउनुपर्यो, घर बन्ने भएपछि झ्याल कहाँ राख्ने ? ढोका कहाँ राख्ने ? छलफल गरेर अघि बढ्न सकिन्छ भने ।

के भन्छन् टेलिभिजन सेवा प्रदायक ?
डिशहोम मिडिया नेटवर्कका कार्यकारी निर्देशक सुदीप आचार्यले क्लिन फिड लागू गर्ने कुरा बाहिर भनिएजस्तो सहज र व्यवहारिक नरहेको बताउँछन् । उनले विदेशी विज्ञापनको प्रभाव नेपालमा हुनुहुँदैन भन्ने पक्षमा आफूहरु पनि रहेको तर त्यसको कार्यानव्यन गर्ने सीमा र कार्यविधिको विकल्प खोज्नुपर्ने बताउँदै नत्र केवल र डिटिएच सेवा प्रदायक बन्द हुने र ठूलो लगानी डुब्ने बताउँछन् ।

आचार्य भन्छन्, ‘सरकारले बनाएको कानुन मान्दैनौैं भनेका छैनौं । त्यसलाई कसरी व्यवहारिक र सबैको हित हुने खालको बनाउँ भनेको हो । हामी पनि यही देशका व्यवसायी हौं । यही देशका नागरिक हौं । हाम्रो लगानीको पनि संरक्षण गर्नु राज्यको दायित्व हो । हाम्रो ठाउँबाट पनि सरकारले हेरिदियोस भन्ने हो ।’

नेपालीहरुले रुचाउने धेरै विदेशी कन्टेन्ट रहेकाले क्लिन फिड कार्यान्वयन गर्ने कुराले सिर्जना गर्ने समस्यालाई हामीले अहिले नै औंल्याएका हौं भन्दै उनले क्लिन फिडको स्पष्ट परिभाषा नै नभएको अवस्थामा यसलाई कसरी गर्न समस्या हुने बताए । उनका अनुसार बाहिरबाट आउने मुल स्रोत नै क्लिन भएर आउनुपर्छ भनियो भने अधिकांश विदेशी च्यानल आउँदैनन् भन्दै आचार्यले त्यसरी आउने सक्ने च्यानल भनेको जम्मा ५–७ वटा मात्रै हो भने । भारतीय च्यानलहरु ठप्प नै हुन्छ । त्यसरी आउने च्यानल निकै महंगो पनि हुन्छ । नेपालले थेग्नै सक्दैन् । त्यो अवस्थामा टेलिभिजन सेवा प्रदायकहरुले पनि व्यवसाय थेग्नसक्ने अवस्था हुन्न । त्यो भनेको अफिस बन्द गरेर चाही बुझाउने नै हो । हामी बन्द हुने भनेको नेपालीसमेत सम्पूर्ण टेलिभिजन प्रसारण बन्द हुने हो ।

आचार्यले आफूहरुले क्लिन फिडको विरोध नगरेको तर प्राविधिक कुरा सरकारलाई बुझाउन मात्रै खोजेको हो भने । उनले क्लिन फिड नभई फिड क्लिनमा नै जानुपर्छ भन्दै उताबाट आएको च्यानल डाउनलिङ्क भइसकेपछि हामीले वा प्रसारकले क्लिन गर्ने प्रविधिमा जानुपर्छ भने । उनले त्यस्तो गर्ने प्रविधिहरु रहेकोले छिमेकी देशहरुको समेत अनुभवका आधारमा नेपालमा फिड क्लिन गर्न सकियो भने उचित हुने बताए ।

Advertisement

Advertisement

Advertisement