भारतीय टोली फिल्मी शैलीमा नेपाल छिरेर हुलाकी राजमार्ग निर्माण कार्य रोक्यो

Advertisement

कञ्चनपुर । पश्चिम कञ्चनपुरदेखि तराईका जिल्ला हुँदै पूर्व झापा जोड्ने राष्ट्रिय हुलाकी राजमार्ग निर्माणमा भारतीय पक्षले अवरोध गरेको छ । कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुईस्थित राजमार्ग निर्माण क्षेत्रमा आइतबार फिल्मी शैलीमा आएका भारतीय सुरक्षाकर्मी, प्रशासनिक अधिकारी र सर्वसाधारणको टोली निर्माण रोकेर फर्किएको छ ।

‘गत असारमै राजमार्ग ग्राभेल गर्दा पनि भारतीय पक्षले अवरोध गरेको थियो । यसपालि कालोपत्रे गर्ने तयारी गर्दा फेरि अवरोध भएको छ,’ स्थानीय शिक्षक विवेक लम्सालले भने, ‘भारतीयहरू ठूलै फौज लिएर आएका थिए । उनीहरूले नेपाली भूमिमा प्रवेश गरी दादागिरी देखाएर सडक निर्माण कार्य रोके ।’

बेलौरी क्षेत्रमा सडक निर्माण गरिरहेको ठेकेदार कम्पनी बाबाहंस सिद्धिकीका सञ्चालक चक्र शाहलाई काम रोक्न भारतीय पक्षले चेतावनी दिएको छ, भारतीय टोली फर्किए पनि काम रोकिएको छ ।

भारतीय पक्षले रिफ्रेन्स पिलर ३८ लाई सीमा पिलर मानेर विवाद झिक्दै आएको छ । ‘गत वर्ष ग्राभेलिङ गर्दा भारतीय पक्षले अवरोध गरेको थियो । फेरि कालोपत्रे तयारी गर्दा पनि एसएसबी आएर काम नगर्न दबाब दिएको छ,’ शाहले भने, ‘हामीलाई त नेपाल सरकारले जिम्मा दिएको काम गरेका हौँ । यो क्षेत्रमा ७५ प्रतिशत काम भइसकेको छ, कालोपत्रे गर्न मात्रै बाँकी थियो । तर, काम गर्न अवरोध भयो ।’

बेलौरीका नगर प्रमुख पोतिलाल चौधरीले भारतीय पक्षले जिपिएस नक्साबाट सो सडक भारतको भूमिमा पर्ने दाबी गर्दै काममा अवरोध गरेको बताए । ‘नेपालले इतिहासदेखि उपभोग गर्दै आएको भूमि हो, अहिले अचानक भारतीय भूमि हो भन्दै सडक रोकिएको छ,’ उनले भने, ‘यो सडकमा भारतीय पक्षले पटकपटक अवरोध गरेको छ, यो विषयमा नेपाल सरकारले भारतसँग आफ्नो तर्क स्पष्टसँग राख्नुपर्छ ।’

नेपाल र भारतको संयुक्त सीमा सर्भे टोलीले ०५८ देखि ०६३ सम्म नापी गरेर सिमाना तय गरेको थियो । संयुक्त टोलीले कञ्चनपुर जिल्लामा नापी गर्दा ऐतिहासिक नक्सा, जंगे पिलर र जनताको भोगचलनलाई समेत बेवास्ता गर्दै नेपाली भूमि पनि भारततर्पm पारेको थियो । कतिसम्म भने भारतीय सहयोगमा डिपिआर बनेर निर्माण भइरहेको हुलाकी राजमार्गको केही खण्डसमेत भारततर्पm पर्ने गरी नक्सांकन भएको थियो ।

भारतीय पक्षसँग मिलिभगतमा नक्सा बनाउने नापी अधिकृत मधुरमण मास्के र उनको टोलीलाई कारबाही गर्न भन्दै स्थानीय जनताले नेपाल सरकारसँग माग गरेका छन् । तर, उनीहरूलाई कारबाही भएको छैन । र, नक्सामा हस्ताक्षर पनि भएको छैन ।

कञ्चनपुरको बेलौरी क्षेत्र भएर बग्ने चौधर खोला नेपाल–भारतको सिमाना हो । नदीलाई सिमाना मान्दा साक्षी स्तम्भ (रेफ्रेन्स पिलर) तीन सय मिटरयता नेपालतर्पm राखिएको थियो ।

नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement