बैंकका सहायक कम्पनीहरुलाई ब्रोकर लाइसेन्स दिन बाटो खुल्दै, सेयर बजारको बेथिति सुधार हुने आशा

Advertisement

काठमाडौं । अर्थसमितिले रामकुमारी झाँक्रीको संयोजकत्वमा बनाएको पुँजी बजार तथा मुद्रा बजारसम्बन्धी अध्ययन उपसमितिले बाणिज्य बैंकका सहायक कम्पनीहरुलाई पनि ब्रोकर लाइसेन्स दिने निर्देशन गर्न मुल समितिलाई सिफारिस गरेको छ ।

उपसमितिको मंगलबार बसेको बैठकले पुँजीबजार सुधारका लागि तत्काल बैंकका सहायक कम्पनीहरुलाई यस्तो लाइसेन्स दिन सरकारलाई निर्देशन दिन समितिलाई सिफारिस गरेको हो । बैंकहरुलाई शर्तसहित यस्तो लाइसेन्स दिइनुपर्ने उपसमितिको निष्कर्ष छ । यसअघि अर्थसमितिले बैंकहरुलाई यस्तो लाइसेन्स दिन रोक्न सरकारलाई निर्देशन दिएको थियो । मुल समितिले निर्णय गरेसँगै सरकारको सम्वन्धित निकायलाई यस्तो लाइसेन्स दिन बाटो खुल्ने छ ।

त्यस्तै, उपसमितिले कारोबार राफसाफलाई टी प्लस थ्री बाट टू बनाउदै वान मा ल्याउने, डिम्याट खाता एक मात्रै हुने व्यवस्था गर्ने व्यवस्थाका लागि पनि उपसमितिले मुल समितिलाई सिफारिस गरेको छ ।

झाँक्रीले ब्रोकर कम्पनीहरुमा ‘कर्पोरेट कल्चर’ नरहेको भन्दै यस्ता कम्पनीहरुलाई नेपाल धितोपत्र बोर्डले पनि नियामन गर्न नसकेको बताइन् । उनले बोर्डको नियामन क्षमता कमजोर हुँदा ब्रोकर कम्पनीहरुले बदमासी गर्नेगरेको बताएकी हुन् । उनले ब्रोकर कम्पनीहरुको बदमासी न्यून गर्न बैंकहरुलाई पनि ब्रोकर लाइसेन्स चाँडै दिनुपर्ने भन्दै तर त्यसका लागि गृहकार्य हुन नसकेको बताइन् ।

आफूले बुझ्दै र अध्ययन गर्दै जाँदा पुँजीबजारमा निकै धेरै समस्या रहेको पाएको बताउँदै झाँक्रीले यो क्षेत्रलाई पारदर्शी र व्यवस्थित नगर्ने हो भने साना लगानीकर्ताहरुमाथि सधैं शोषण हुने बताइन् ।

बैठकमा सहभागीहरुले नेपाल स्टक एक्सचेन्जको स्वामित्व पुर्नसंरचना गरी विदेशी साझेदार ल्याउन उपयुक्त हुने बताएका थिए । त्यस्तै, नेपाल स्टक एक्सचेन्ज र धितोपत्र बोर्डका कर्मचारीले कम्पनीहरुको साधारण सेयरका लागि आवेदन दिन नपाउने निर्णय गरेको छ । तर उनीहरुले यसअघि लिइसकेको सेयर भने बिक्री गर्न पाउने छन् । उनीहरुले जलविद्युत कम्पनीलाई नियामन गर्नुपर्ने कुरा पनि औंल्याएका छन् ।

Advertisement

Advertisement

Advertisement