उखु किसानले करिव ५० करोड पाउन बाँकी, किसानहरु फेरि काठमाडौं आए

Advertisement

काठमाडौँ । किसानले उखु बिक्री गरेबापत अझै करिब ५० करोड रुपियाँ पाउन बाँकी रहेको पाइएको छ । श्रीराम, लुम्बिनी र अन्नपूर्ण सुगर मिलले गरी उक्त रकम भुक्तानी दिन बाँकी रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

उखुको बक्यौता रकम नपाएको भन्दै गत पुसमा काठमाडौंमा आन्दोलन गरेका उखु किसान र सरकारबीच दुई महिनाभित्र भुक्तानी गर्ने सम्झौता भएको थियो । पुस १८ मा सम्झौता भएपछि केही उद्योगले भुक्तानी सुरु गरे पनि श्रीराम र लुम्बिनीले दिएका छैनन् ।

बक्यौता रकम भुक्तानी नभएपछि किसानको प्रतिनिधित्व गर्दै केही किसान पुनः काठमाडौं आएका छन् । सांसदसहित आएका किसानका प्रतिनिधिले मंगलबार मन्त्रालयमा ज्ञापनपत्रसमेत बुझाएका छन् । ‘०७० सालदेखिकै अलिअलि रकम बाँकी थियो । उखु किसान संघर्ष समिति र सरकारबीच पुसमा भएको सम्झैतामा माघ ७ सम्म आधा भुक्तानी र दुई महिनाभित्र सम्पूर्ण भुक्तानी गर्ने भनिएको थियो,’ मन्त्रालयका उपसचिव वीरेन्द्र बस्नेतले भने, ‘मंगलबार सांसदसहितको टोलीले ज्ञापनपत्र बुझाएका छन् । यसबीचमा धेरै उद्योगीले रकम बुझाए । श्रीराम र लुम्बिनीले टेरेनन् ।’

मन्त्रालयका अनुसार श्रीराम सुगर मिलले किसानलाई २६ करोड ७७ लाख रुपियाँ भुक्तानी गर्नुपर्नेछ । मिल सञ्चालकले भुक्तानी गर्न नसकेपछि किसान र उद्योगीबीच जग्गा बेचेरै भए पनि दिने सहमति भएको थियो । श्रीरामको स्वामित्वमा रहेको जग्गामध्ये १० बिघा बिक्री गरेर त्यसबाट आउने रकमले किसानको बक्यौता तिर्ने, कर्मचारी तथा कामदारको तलब, भत्ता उपदानलगायत तिरेपछि मात्रै उद्योगको अन्य दायित्व फरफारक गर्न बाँकी रकम प्रयोग गर्ने सहमति गत पुसमा भएको थियो ।

कान्तिपुर दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement