मागे भन्दा धेरै राहत दिन्छौं, अर्थतन्त्र सुध्रिदैछ आत्तिनु पर्दैनः गभर्नर अधिकारी

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निजी क्षेत्रले मागे भन्दा धेरै ठूलो राहत प्याकेज मौद्रिक नीति मार्फत दिने बताएका छन् । आगामी आर्थिक वर्षको मौद्रिक नीतिबाट सुझाव संकलनका लागि राष्ट्र बैंकले आयोजना गरेको वेविनारमा गभर्नर अघिकारीले निजी क्षेत्रले अपेक्षा गरे भन्दा धेरै ठूलो राहत प्याकेज तथा सहुलियत कार्यक्रम दिने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

‘सबैले आपेक्षा गरेकोभन्दा बढी राहत मौद्रिक नीतिले व्यवस्था गर्नेछ, सबै क्षेत्रलाई समेटेर बचाउने नीति आउँछ ।’, गभर्नर अधिकारीले वेविनारमा भने । उनले अर्थतन्त्र सुधार उन्मुख रहेकाले कुनै पनि क्षेत्रले आत्तिनु नपर्ने दावी पनि गरे ।

गभर्नर अधिकारीले कोरोनाको कारण सबै क्षेत्र प्रभावित भएकोले आय आर्जन भएको क्षेत्रले भने असार मसान्त अगावै बैंकको किस्ता तिरिदिन आग्रह पनि गरे । ‘सक्नेहरुले असार मसान्त भित्रै अहिलेसम्मको तिर्नु पर्ने साँवा र ब्याज तिरिदिनुस्, यो बेला सबैलाई समस्या परेको छ, नसक्ने ऋणीहरुलाई राष्ट्र बैंकले आवश्यक थप व्यवस्था मौद्रिक नीतिमार्फत् गर्नेछ ।’

असहज परिस्थितीलाई ध्यान दिँदै बैंकहरुले अनावश्यक दवाब नदिएर ऋणीहरुलाई संरक्षण नै गरेको पनि उनले बताएका थिए । राष्ट्र बैंकले कोभिड १९ को प्रभाव र प्राप्त सुझावहरुको अध्ययन गरेर आगामी मौद्रिक नीति साउनको पहिलो साता भित्र नै सार्वजनिक गर्ने तयारी गरिरहेको पनि गभर्नर अधिकारीले बताए ।

Advertisement

Advertisement

Advertisement