छ करोड ६९ लाख राजश्व छल्ने २ फर्म परे राजश्वको फन्दामा, १४ फर्मलाई पौने ३१ लाख जरिवाना

Advertisement

काठमाडौँ । राजश्व अनुसन्धान विभागले ६ करोड ६९ लाख राजश्व चुहावट गर्ने फर्म बिरुद्ध उच्च अदालत तुलसीपुर बुटवलमा मुद्दा दायर गरेको छ । बिगो असुल उपर गरी जरिवाना एवम् कैद सजाय समेतको माग दाबी सहित विभागले मुद्दा दर्ता गरेको हो ।

श्याम ग्लास इण्डष्ट्रिजले ६ करोड ६ लाख २५ हजार २ सय ८२ रुपियाँ राजश्व चुहावट गरेकाले मुद्दा दर्ता गरिएको विभागले जनाएको छ । उक्त फर्मले नेपाल सरकारलाई तिर्नु पर्ने राजश्व नतिर्ने र कम तिर्ने उद्देश्य राखी उत्पादित सिसा तथा सिसाजन्य मालवस्तुमा अन्तःशुल्क असुल नगरी राजश्व चुहावट गरेको देखिएको छ ।

त्यसैगरी महाशक्ति गुट्खा उद्योगले ६२ लाख ८ हजार ७ सय ६ रुपियाँ राजश्व चुहावट गरेको पाइएपछि मुद्दा दायर गरिएको विभागले जनाएको छ । उक्त उद्योगका सञ्चालकहरुले नेपाल सरकारलाई तिर्नु पर्ने राजश्व नतिर्ने र कम तिर्ने उद्देश्य राखी अन्तःशुल्कजन्य पदार्थ उत्पादित तथा बिक्री गरी अन्तःशुल्क असुल नगरी राजश्व चुहावट गरेको पाइएपछि मुद्दा दर्ता गरिएको विभागले आज प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख छ ।

१४ फर्महरुलाई ३० लाख ७५ हजार जरिवाना
यसैगरी मालवस्तु तथा ढुवानी साधनहरुको अनुगमन प्रणालीमा बिल बिजक प्रविष्टी नगरी कानूनको परिपालना नगरको अभियोगमा विभिन्न १४ फर्महरुलाई ३० लाख ७५ हजार रुपियाँ जरिवाना गरिएको विभागले जनाएको छ । ती फर्महरुलाई राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२(संसोधन २०७६ सहित) को दफा १३ग को उपदफा(४क) बमोजिम जरिवाना गरी उक्त रकम असुल गरिएको विभागले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement