देवघाटमा बाँदरले साह्रै दुःख दियो, तर्साउन ११ वटा यन्त्र खरीद

Advertisement

भरतपुर । बाँदरले दुःख दिएपछि देवघाट क्षेत्र विकास समितिले तर्साएर लखेट्ने भएको छ । जसका लागि समितिले बाँदर धपाउने ११ यन्त्र खरिद गरिसकेको छ । समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेका अनुसार एउटालाई रु दुई हजार ८०० का दरले यन्त्र खरिद गरिएको छ । त्यस यन्त्रमा १० एमएल पानी र १० एमएल कार्वाइड राखेर पछाडिबाट लाइटर छिराएर सल्काएपछि चर्को आवाज आउने उनको भनाइ छ ।

यन्त्रलाई चलाउने विधिका बारेमा सिकाएर स्थानीय टोलहरुलाई वितरण गरिने घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार हाल देवघाट र आसपासका क्षेत्रमा तीन हजारदेखि तीन हजार ५०० सम्म बाँदर रहेको अनुमान छ । घिमिरेले हरेक वर्ष ४०० भन्दा बढीले बच्चा जन्माउने गरेको बताए ।

समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार सो यन्त्रको चर्को आवाज आउने र बाँदर तर्सिएर भाग्ने छ । त्यस क्रममा निकै चर्को आवाज आउने भएकाले सञ्चालन गर्नेको कानको समस्या हुनसक्ने भएकाले पूर्णरूपमा तालिम दिएर मात्र यन्त्र स्थानीयवासीलाई दिइने छ । असार महिनामा तालिम दिएर साउनको पहिलो साताबाट काम थाल्ने तयारी गरिएको छ । बाँदरले बालीनाली ध्वस्त बनाएको, घरभित्र पसेर खानासमेत खाइदिने गरेको, १२ जनाभन्दा बढीलाई चिथोरेको र टोकेको उनले बताए ।

स्थानीयवासीले धेरै दुःख पाएपछि समितिले बाँदर नियन्त्रणका लागि प्रयास अघि बढाएको पौडेलले बताए । अन्य विभिन्न विकल्पमा काम गरेको भए पनि केही सीप नलागेपछि चर्को आवाज निकालेर तर्साएर लखेट्न लागिएको उनको भनाइ छ । समितिले बाँदरलाई खोरमा राख्ने, सङ्कलन गरेर अन्यत्र लगेर छाडिदिनेजस्ता काम गरेको भए पनि सफल हुनसकेको छैन ।

Advertisement

Advertisement

Advertisement