चितवन पुगेर प्रचण्डको उदघोष- माडिमा कतै नभएको विकास गर्छु

Advertisement

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको विश्वास गुम्न नदिने बताएका छन् । नेकपा माडीद्वारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले कम्युनिष्ट आन्दोलनलाई ऐक्यबद्ध बनाउनका लागि जनताले साथ दिएको भन्दै जनताको विश्वास गुम्न नदिने बताए ।

प्रचण्डले भने, “पार्टी एकताबद्ध बनाउँदै समाजवादको बाटोमा हिँड्नका लागि जनताले विश्वासका साथ मत दिएका हुन् । त्यसमा कहीँ कसैले चुक्नु हुँदैन । हतारमा निर्णय गरेर भोलि पछुताउने समय नआओस् भन्ने नै हो ।” अध्यक्ष दाहालले अब पार्टी दुर्घटनामा नजाओस् र देश दुर्घटनामा नजाओस् भन्नका लागि पार्टीभित्रको विवाद मिलाउन लागिपरेको बताए । उनले थपे, “कुनै न कुनै समझदारी र सहमतिमा देश र जनतालाई अघि राखेर काम गरे समस्याको हल निस्कन्छ ।” उनले भने, “प्रधानमन्त्रीको चाहना पनि सहमति र समझदारी गरेरै अघि बढ्ने रहेको छ ।”

कार्यकर्ताहरुलाई निर्देशन दिँदै प्रचण्डले हतार गरेर कुनै खालका गतिविधि नगर्न आग्रह गरे । कार्यकताहरु एकताको पक्षमा दृढ भएर उभिने समय आएको उनको भनाइ थियो । सो अवसरमा उनले कोरोनासँगसँगै बाँच्न र हिँड्न सिक्नुपर्ने बताए । यद्यपि सचेत भने हुनुपर्ने उनको भनाइ थियो । आफू निर्वाचित भएको माडी क्षेत्रमा अरूले गरेजस्तो सामान्य विकास निर्माणले नहुने भन्दै दीर्घकालीन महत्व राख्ने महत्वपूर्ण आयोजनाहरु अघि बढेको प्रचण्डले बताए ।

निकुञ्ज ऐन संशोधन प्रक्रियामा रहेको, आकासेपुलका लागि अध्ययन गर्न रु एक करोड विनियोजन भएको र चक्रपथ निर्माण गर्ने योजना रहेको पनि उनले बताए । सो अवसरमा माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले माडीमा भएका विकास निर्माणका बारेमा जानकारी गराएका थिए । आजै दाहालले बाढीले बगाएर मृत्यु भएका व्यक्तिको घरमा पूर्व सिंह तामाङको घरमा पुगेर जानकारी लिए ।

Advertisement

Advertisement

Advertisement