ऐतिहासिक सम्पदाको अवस्थाबारे स्थलगत अवलोकन, पुनःनिर्माणको अवस्था सन्तोषजनक

प्रतिनिधिसभा, विकास तथा प्रविधि समिति सभापतिसहितको टोलीले आज रानीपोखरी, धरहरा र काष्ठमण्डप पुनःनिर्माणको आज स्थलगत अवलोकन गरेको छ ।

समितिका सभापति कल्याणीकुमारी खड्कासहितको टोलीले तीनवटै सम्पदाको स्थलगत अवलोकन गरी सन्तोषजनक रुपमा काम भइरहेको प्रतिक्रिया दिएकी छिन् । उनले लामो समय विभिन्न आन्तरिक समस्याका कारण काम हुन नसकेको भए पनि पछिल्लो समय उत्साहजनक रुपमा काम भइरहेको बताइन् ।

काष्ठमण्डपको दोस्रो तलाको काम शुरु
केही समय अघिदेखि काष्ठमण्डपको दोस्रो तलाको काम शुरु भएको समितिलाई जानकारी दिनेक्रममा काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यले जानकारी दिए । उहाँका अनुसार कोरोना भाइरसका कारण बन्दाबन्दीको शुरुको समयमा केही दिन काम प्रभावित भए पनि पछिल्लो समय पहिलेकै रफ्तारमा काम भइरहेको जानकारी दिए ।

उनका अनुसार पहिलो तलाको काम सकी दोस्रो तलाको काम भइरहेको छ । हालसम्म ६५ प्रतिशत काम सम्पन्न भएको छ । दैनिक ३५ जना कामदारले काम गरिरहेका छन् । विसं २०७२को भूकम्पले पूर्णरूपमा क्षति पुगेको ऐतिहासिक काष्ठमण्डप पुनःनिर्माणका लागि अघिल्लो वर्ष वैशाख ३१ गते क्षमा पूजा गरिएको थियो । गत कात्तिक २२ गते शुभारम्भ पूजा गरेर विधिवत्रूपमा सो सम्पदाको पुनः निर्माण शुरु गरिएको हो । तीन वर्षभित्र पुनःनिर्माण सक्ने लक्ष्य राखिएको छ । गत माघ २७ गते श्रीपञ्चमीका दिन निर्माणाधीन काष्ठमण्डपको मूल थाम उठाइएको थियो ।

रानीपोखरीमा एक महिनाभित्र पानी
पानी भर्ने तयारीमा रहेको रानीपोखरीमा अहिले सौन्दर्यकरण र मन्दिर पुनःनिर्माणको काम भइरहेको छ । ऐतिहासिक पोखरीमा २०७२ सालमा गएको गोर्खा भूकम्पपछि आगामी साउनभित्र पानी भर्ने तयारी राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको छ ।

लामो समय काठमाडौँ महानगरपालिकाले पुनःनिर्माण गर्ने भने पनि काम अघि बढ्न नसकेपछि पछिल्लो समय प्राधिकरणले निर्माण कार्य तीव्र रुपमा काम गरिरहेको छ । अहिलेसम्ममा पोखरीको काम सकिएको छ भने बालगोपालेश्वर मन्दिरको काम ४५ प्रतिशत सकिएको छ ।

प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ । पोखरीको बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो ।

प्रताप मल्लले आफ्ना छोरा चक्रवर्तीन्द्र मल्लको नाममा यो पोखरी बनाउनुभएको थियो । पोखरीको निर्माणकार्य करिब पाँच वर्षभित्र अर्थात नेसं। ७८९ ९विसं १७२५० मा सम्पन्न भएको थियो । नेसं ७९० ९विसं। १७२७÷ईसं। १६७०० मा शिलापत्र राखिएको थियो ।

पोखरीमा १०८ तीर्थको जल हालिएको इतिहासकार बताउछन् । प्रताप मल्लले निर्माण गर्दा पोखरीको चारैतिर चारवटा मन्दिर स्थापना गर्न लगाएको पाइन्छ । जसमध्ये उत्तर–पश्चिम कुनामा शक्तिसहितको भैरवको मन्दिर, उत्तर–पूर्व कुनामा भैरवको मन्दिर, दक्षिण–पूर्व कुनामा देवीको मन्दिर र दक्षिण–पश्चिममा सोह्रहाते गणेश स्थापना गरेको देखिन्छ ।

धरहरा पुनःनिर्माण सन्तोषजनक
अवलोकनमा आएको समितिलाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिएका थिए । जानकारी दिने क्रममा उनले हालसम्ममा धरहरको ३९ प्रतिशत काम सम्पन्न भएको बताउनुभयो । दशैँ तलाको काम सकिएको धरहरामा अहिले पार्किङस्थलको काम भइरहेको छ र दैनिक ४० जना कामदारले काम गरिरहेका छन् ।

धरहराको पनि भूकम्प गएको तीन वर्ष बितेपछि निर्माणको कामले गति लिएको हो । दुई वर्षको अवधिमा निर्माण सम्पन्न गर्नेगरी रमन कन्स्ट्रकशनले धरहराको पुनःनिर्माण शुरु गरेको छ । निर्माणका लागि जम्मा रु तीन अर्ब ४८ करोड लाग्ने जनाइएको छ ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भएका सो ऐतिहासिक धरहरा पुनःनिर्माणका लागि अघिल्लो पुस १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको थियो । एघारतले धरहरा विसं १९९० को भूकम्पको कारण क्षतिग्रस्त भएपछि नौ तलामा सीमित भएको थियो । सो ऐतिहासिक धरहरा सन् १८३२ मा भीमसेन थापाले निर्माण गर्नुभएको थियो । धरहरा परिसरमा पार्किङसहित रेष्टुराँ, बगैँचा, पुस्तकालयलगायत सुविधा हुनेछन् । गोश्वारा हुलाक भएको स्थानमा उद्यान बनाइनेछ । उद्यानभित्र बस्ने ठाउँ, ढुङ्गेधारा, हरियाली, चमेनागृह हुनेछन् । धरहरामा पढ्न चाहने, ध्यान गर्न चाहने या बस्न चाहने सबैका लागि सुविधा उपलब्ध हुनेछ ।

निर्माण हुने धरहरा बालबालिका तथा ज्येष्ठ नागरिकमैत्री हुने र त्यहाँ आउने अवलोकनकर्ताका लागि सवारी साधनको व्यवस्थित पार्किङ गर्न सकिने गरी पुनःनिर्माण हुनेछ । पुरातात्विक हिसाबले महत्व बोकेको काठमाडौँलाई सुरक्षित र आकर्षित बनाउन ऐतिहासिक सम्पदाको पुनःनिर्माण अत्यावश्यक भएको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।

धरहराको १८ औँ तलामा अवलोकनकक्ष हुनुका साथै धरहरा परिसरमा म्युजियम, वाटर फाउन्टेन, बगैँचा, रेष्टुरेन्टको साथै अत्याधुनिक पार्किङको व्यवस्था गरिनेछ । जहाँ ३५० गाडी र छ हजार मोटरसाइकल पार्किङ गर्न मिल्ने बताइएको छ ।