'अयोध्या ! ओलीको उट्पट्याङ शैलीको उपज होइन्, कुर्सी जोगाउने अस्त्र हो'

Advertisement

काठमाडौं । काँग्रेस युवा नेता गगन थापाले प्रधानमन्त्री केपी ओलीको सोमबारको अभिव्यक्ति उनको उट्पट्याङ शैली नभएर कुर्सी जोगाउने अस्त्र भएको बताएका छन् । राम जन्मस्थल अयोध्या भारतमा नभई नेपालमा रहेको प्रधानमन्त्री ओलीको भनाई आफ्नो पार्टी नेकपाभित्रको आन्तरिक किचलोमा कुर्सी जोगाउने उद्देश्यले योजनावद्ध ढंगले आएको उनको तर्क छ ।

गगन सामाजिक सञ्जालमा लेख्छन्, 'प्रधानमन्त्रीज्यूको अभिव्यक्तिमा प्रतिक्रिया देख्दा धेरैले जे पनि बोल्ने प्रमको पूरानै प्रवृत्ति हो र यो पनि उट्पट्याङ शैलीबाट आएको क्षणिक आवेगको रुपमा लिएको पाएँ । मेरो विचारमा यो नेकपाको आन्तरिक किचलोमा प्रमले आफ्नो कुर्ची जोगाउन योजनावद्ध ढङ्गले उठाएको अस्त्र र राजनीतिक स्टन्ट हो ।'

उनले थप्छन्, 'प्रमलाई राम्रोसंग थाहा छ यस्तो अभिव्यक्ति दिँदा भारतबाट विविध प्रतिक्रिया आउँछ । त्यसका आधारमा देशभित्र उत्पन्न परिस्थितिको जगमा आफूलाई कथित राष्ट्रवादी बनाउने र पार्टीभित्रको विद्रोह थाम्ने कडीका रुपमा नै केपी ओलीबाट संवेदनशील विषयमा यस्ता असंगत अभिव्यक्ति आएको हो।'

नेता गगन थापाले ओली सत्ता स्वार्थका लागि जुनसुकै प्रपञ्च रच्न तयार रहेको प्रष्ट भएको तर्क गर्दै आफ्नो लागि राष्ट्रिय स्वार्थ समेत दाउमा राख्ने काम भएको बताएका छन् । उनले प्रमको अराजनीतिक टिप्पणीको भार बोक्न स्वाभिमानी नेपाली अभिसप्त छैनौँ भनदै यसलाई हल्का रुपमा लिन नहुने बताएका छन् । यस्ता योजनावद्ध राजनीतिक प्रपञ्चलाई पूरा हुन दिन नहुने गगनको भनाई छ ।

ओलीले देशभित्र र बाहिर उत्तेजना ल्याउने नियतले अन्टसन्ट बोल्नेकाम गरेको बताउँदै उनले प्रत्युत्पादक भएपछि परराष्ट्रको वक्तव्य आएको बताएका छन् । गगन भन्छन्, 'कुर्सी जोगाउन जे पनि बोल्ने र गर्ने प्रमबाट न देश सुरक्षित छ न लोकतन्त्र, नेकपाका साथीहरू ! राजनीतिक होइन भनेर नपन्छिनोस, अव खड्गप्रसाद ओलीलाई प्रमबाट बिदा गर्नोस्।'

Advertisement

Advertisement

Advertisement