कर्मचारी सञ्चय कोषले हटाउन खोजेपछि काठमाडौं मलका व्यवसायी आन्दोलित

Advertisement

काठमाडौं । काठमाडौं मल खाली गराउने कर्मचारी सञ्चय कोषको निर्णयविरुद्ध व्यवसायीले आन्दोलन गर्ने भएका छन् । ठेक्कामा सम्झौता तोडिएपछि कोषले मललाई ‘कर्पोरेट हाउस’ का रुपमा सञ्चालन गर्न व्यवसायीलाई पसल हटाउन निर्देशन दिएको छ ।

मलका व्यवसायीले कोषको निर्णय गैर कानूनी भएको भनेर नमान्ने भएका छन्। त्यहाँका व्यवसायीहरुको छाता संगठन ‘द काठमाडौं मल व्यापार संघ’ले भोलि मंगलबार पत्रकार सम्मेलन गरी विरोधका कार्यक्रम सार्वजनिक गर्ने जानकारी दिएको छ ।

संघकी अध्यक्ष सुष्मा महराले मलमा १४ वर्षदेखि व्यवसाय गर्दै आएका व्यवसायीलाई कोषले एक्कासी हटाउन नपाउने बताइन् । ठेकदारसँगको असन्तुष्टिले कोषले व्यवसायीलाई मर्कामा पार्न नहुने उनको भनाइ छ । व्यवसायीलाई जबर्जस्ती हटाउन खोजिए मलमा तालाबन्दी गर्ने सघंकी अध्यक्ष महराले चेतावनी दिईन् ।

लाखौं लगानी गरेर व्यवसाय गरिरहेकाहरुलाई कोषले सडकमा ल्याउन खोजेको उनको आरोप छ । ‘टेण्डरबाट छानिएको ठेकदारसँग बीचमै ठेक्का तोडिन्छ, मलको आयभन्दा बढी बोलकबोल गरेर ठेकदार छानेपछि समस्या आउँछ नै’, उनले भनिन् ।

मलको ठेक्का प्रक्रिया पनि पारदर्शी नभएको उनको दाबी छ । धेरै बोलकबोल गरेर ठेक्का पाउनले आफ्नो लगानी उठाउन मनपरी भाडा वृद्धि गर्ने गरेको व्यवसायीको आरोप छ ।

२० हजार भाडा रहेको युनिटको भाडा अहिले ८० हजारसम्म पुर्‍याइएको उनीहरुको भनाइ छ । मलमा झण्डै ३ सय पसल छन् । मलका झ्यालढोका फोडेर अगाडि/पछाडि, दायाँबायाँ ३७ वटा टहरामा पनि पसल सञ्चालनमा छन् ।

माघ १३ गते एक महिने सूचना जारी भएकोमा ५ फागुनमा पुनः सूचना जारी गर्दै सञ्चय कोषले आफ्नो स्वामित्वमा रहेको काठमाडौंका खाली गर्न व्यवसायीलाई २१ दिने अल्टिमेटम दिएको थियो ।

गुण्डा नाइके राजु गोरखाली समूहसँग गत पुसमा ठेक्का सम्झौता तोडेको कोषले आफ्नो स्वामित्वमा रहेको उक्त भवनलाई ‘कर्पोरेट हाउस’ बनाउन पसलहरु हटाउन लागिएको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement