अझै २२ प्रतिशत जनतामा राष्ट्रिय प्रसारणको बिजुली पुग्न बाँकी

Advertisement

काठमाडौंं । मुलुकभरका ७५३ स्थानीय तहमध्ये २२२ मा ९० प्रतिशभन्दा बढी विद्युत् पुगेको नेपाल विद्युत प्राधिकरणले दावी गरेको छ । प्राधिकरणले सार्वजनिक गरेको विद्युतीकरण तथ्याङअनुसार अधिकांशमा विद्युत पुगेको प्राधिकरणले बताएको हो ।

मुलुकभरका स्थानीय तहका गाउँपालिका र नगरपालिकाहरुको वडासम्मको विस्तृत अध्ययन बाट यो तथ्य निकालेको भन्दै प्राधिकरणले ११७ स्थानीय तहमा विद्युतीकरण ५ प्रतिशतभन्दा कम रहेको, केही स्थानीय तहमा विद्युत पुग्न नसकेको जनाएको छ । ५५ स्थानीय तहमा पाँच देखि ३५ प्रतिशतसम्म विद्युतीकरण भएको छ भने १०६ मा ३५ देखि ६५ प्रतिशत र २५३ मा ६५ देखि ९० प्रतिशतसम्म विद्युतीकरण भएको छ ।

हालसम्म कुल जनसंख्याको करिब ७८ प्रतिशतमा राष्ट्रिय प्रणालीको विद्युत पुगेको छ । कुल जनसंख्याको करिब २२ प्रतिशतले अझै राष्ट्रिय ग्रिडको विद्युत् प्रयोग गर्न पाएका छैनन् । सरकारले २०७९ भित्रमा प्रत्येक घरधुरीमा विद्युत् सेवा पुर्याउने र चार वर्षभित्रमा प्रतिव्यक्ति विद्युत खपतलाई ७०० युनिट पुर्याइने प्राधिकरणले बताएको छ ।

यसका लागि ग्रीड पुर्याउन सम्भव नहुने स्थानहरुमा ब्याट्री स्टोरेज प्रणालीसहितको माइक्रो–हाइड्रो, सोलार तथा वायु उर्जाको उपयोग गरिने जनाइएको छ । प्राधिकरणले राष्ट्रिय ग्रिड नपुगेका रुकुम पूर्व, कालिकोट, बाजुरा र जुम्लामा चालु आर्थिक वर्षभित्रमा पुर्याउने, आगामी दुई वर्षभित्रमा डोल्पालाई र त्यसपछि हुम्लालाई राष्ट्रिय विद्युत् प्रणालीमा आवद्ध गर्ने गरी काम अगाडि बढेको जनाएको छ ।

४६० गाउँपालिकामध्ये १०३ मा ५ प्रतिशतभन्दा कम विद्युतीकरण भएको, ४७ गाउँपालिकामा पाँच देखि ३५ प्रतिशत र ७१ मा ३५ देखि ६५ प्रतिशतसम्म विद्युतीकरण भएको छ । १४२ गाउँपालिकामा ६५ देखि ९० प्रतिशतसम्म र ९७ मा ९० देखि सत्प्रतिशतसम्म विद्युतीकरण भएको प्राधिकरणको भनाई छ । महानगर, उपमहानगरसहित २९३ नगरपालिकामध्ये १४ वटामा पाँच प्रतिशतभन्दा कम विद्युतीकरण भएको छ ।

यसैगरी ८ नगरपालिकामा पाँच देखि ३५ प्रतिशतसम्म विद्युतीकरण भएको छ भने ३५ नगरपालिमा ३५ देखि ६५ प्रतिशतसम्म विद्युतीकरण भएको छ । पाँच देखि ३५ प्रतिशतसम्म विद्युतीकरण हुनेमा पनि कर्णाली र सुदूरपश्चिम प्रदेशका क्रमशः ७ र १ नगरपालिका हुन् । ३५ नगरपालिकामा ३५ देखि ६५ प्रतिशतसम्म विद्युतीकरण भएको छ ।
१११ नगरपालिकामा ६५ देखि ९० प्रतिशतसम्म विद्युतीकरण भएको छ भने १२५ नगरपालिकामा ९० देखि सत्प्रतिशतसम्म विद्युतीकरण भएको जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement