भीमदत्त नगरपालिकाको आम्दानी दोब्बरले वृद्धि

Advertisement

कञ्चनपुर । स्थानीय तह निर्वाचनपछि भीमदत्त नगरपालिकाको आन्तरिक आम्दानी दोब्बर बढीले वृद्धि भएको छ । आव २०७५/७६ को असार मसान्तसम्म नगरपालिकाको आन्तरिक राजश्व रु ११ करोड ५१ लाख पुगेको छ । स्थानीय तह निर्वाचन अघिसम्म नगरपालिकाको आन्तरिक आम्दानी रु पाँच करोड थियो ।

निर्वाचनपछिका दुई वर्षमा आन्तरिक आम्दानी दोब्बर बढीले वृद्धि भएको हो । नगरप्रमुख सुरेन्द्र विष्टले स्थानीय तह निर्वाचनपछि दुई वर्षमा नगरपालिकाको रु पाँच करोडको आन्तरिक राजश्व दोब्बर बढीले वृद्धि भएको बताए । गत आवको आम्दानीका आधारमा चालू आवमा रु १३ करोड २४ लाख आन्तरिक राजश्व सङ्कलनको लक्ष्य राखिएको छ ।

पाँचौँ नगरसभाबाट नगरपालिकाले रु एक अर्ब २२ करोडको बजेट पारित गरिएको थियो । गत वर्ष सेवा शुल्कबाट सबैभन्दा बढी रु पाँच करोड ३२ लाख राजश्व सङ्कलन गरिएको छ । सेवा शुल्कबाट रु चार करोड २७ लाख आम्दानीको लक्ष्य राखिएको थियो । रु तीन करोड २६ लाख लक्ष्य राखिएको रोयल्टीबाट रु चार करोड ७७ लाख आम्दानी गरिएको छ । नक्सापासबाट रु एक करोड २० लाख, बहालकर रु ५४ लाख ४७ हजार आम्दानी गरिएको छ । गत वर्ष स्थानीय कर रु दुई करोड ४९ लाख, व्यवसाय कर रु ९२ लाख, सम्पत्ति कर रु ८२ लाख, दस्तुर रु दुई करोड ४५ लाख सङ्कलन गरिएको थियो ।

नगरपालिका राजश्व परामर्श समितिका संयोजक उपनगरप्रमुख सुशीला चन्द सिंहले नगरपालिकाले राजश्व सुधारका लागि कार्ययोजना निर्माण गरिएको बताए । सोहीअनुरुप राजश्व सङ्कलनमा वृद्धि भएको उनको भनाइ छ ।

Advertisement

Advertisement

Advertisement