एक बर्षको कार्यसम्पादन सम्झौता गरेका सचिवहरु राजनीति स्वार्थपूर्ति नभएपछि एक महिना मै सरुवा

Advertisement

काठमाडौं । १५ साउनमा प्रधानमन्त्री केपी ओलीले मन्त्रीहरूसँग एक वर्षका लागि कार्यसम्पादन सम्झौता गरे । प्रधानमन्त्रीले तालिका नै बनाएर आर्थिक वर्ष ०७६।७७ को वार्षिक कार्ययोजना कार्यान्वयन गर्न निर्देशन दिए । मन्त्रीहरूले सचिवसँग कार्यसम्पादन सम्झौता गरे ।

तर, कार्यसम्पादन सम्झौताको मसी नसुक्दै सरकारले २ भदौमा एकैचोटि १६ सचिवको सरुवा गरेको छ । जसले सरकारको वार्षिक कार्ययोजना कार्यान्वयन हुनेमा शंका उत्पन्न भएको छ । मन्त्रीको लहडका कारण कतिपय सचिवहरूको डेढ महिनाकै अवधिमा पनि सरुवा भएको छ । मन्त्रीले चाहँदा रहने र नचाहँदा सरुवा गर्ने प्रवृत्तिले सचिवहरूको मनोबल खस्किने गरेको छ ।

राजनीतिक नेतृत्वको स्वार्थअनुकूल काम गर्न अस्वीकार गर्दा पनि सरुवा गरिने गरिएको कतिपय सचिवहरूको आरोप छ । स्थानीय तहको चुनावताका निर्वाचन आयोगमा सचिव थिए, गोपीनाथ मैनाली । निर्वाचन खर्च कटौती गरेर मितव्ययिता अपनाउन खोज्दा सरकारले उनको सरुवा गर्यो । प्रधानमन्त्री कार्यालयमा तानेर भूमिकाविहीन बनाइयो । मैनालीले यो विषय सार्वजनिक रूपमै बोले । त्यस्तै, तत्कालीन पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा ६ फागुन ०७५ मा खेलकुद मन्त्रालयमा सरुवा भए । त्यतिवेला उनले ‘भारतबाट ल्याइएका इलेक्ट्रिक बस चीनबाट ल्याएको भनेर प्रमाणित गर्न नमान्दा सरुवा भयो’ भन्दै गम्भीर आरोप सार्वजनिक गरे ।

स्वास्थ्य मन्त्रालयमा नौ महिनामै चार सचिव
स्वास्थ्य मन्त्रालयमा पछिल्लो नौ महिनामा चार सचिव फेरिएका छन् । गत मंसिरमा स्वास्थ्यसचिव बनेका केदारबहादुर अधिकारी माघमै वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भए । वाणिज्य तथा आपूर्तिसचिव चन्द्रकुमार घिमिरे स्वास्थ्यमा तानिए । तर, घिमिरे पनि अढाई महिनाभन्दा बढी टिक्न सकेनन्, वैशाखमै महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयमा सरुवा भए । त्यसपछि आए अर्का सचिव रामप्रसाद थपलिया । तर, २ भदौको मन्त्रिपरिषद् बैठकले उनलाई पनि युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरेको छ । शिक्षासचिव खगराज बराल स्वास्थ्यमा आएका छन् ।

राजनीतिक आस्थाका आधारमा रोजेअनुसारका मन्त्रालय
कर्मचारी सरुवाको मुख्य कारण राजनीति नै हुने गरेको छ । कुनै राजनीतिक दलनिकट भएकै आधारमा सचिवहरूले आफूले रोजेअनुसारका मन्त्रालय पाएका छन् । कतिपय मन्त्रालय यस्ता पनि हुन्छन्, जहाँ राजनीतिक आस्थाविना पुग्नै गाह्रो हुन्छ । पछिल्लो समय नेकपानिकट भएकै आधारमा प्रेमकुमार राई, वैकुण्ठ अर्याल, महेश दाहाल, खगराज बराललगायतले रोजेको मन्त्रालय पाएका छन् । कतिपय सचिव यस्ता पनि छन्, जो पैसा र शक्तिका आधारमा आफूले रोजेको मन्त्रालय जान्छन् ।

नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement