‘मलाई सहकारी नबुझ्ने सहकारीमन्त्री भनियो, तर मैले मज्जाले सहकारी बुझेको छु’

Advertisement

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍मा अर्यालले आफूले राम्रोसँग सहकारी बुझेको दावी गरेकी छन् । सहकारी पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा उनले आफूलाई सहकारी नबुझ्ने मन्त्री भनेकोमा असन्तुष्टि जनाइन् ।

अर्यालले भनिन, मैले मज्जाले सहकारी बुझेको छु । तर सहकारीहरु सहकारीको नर्मअनुसार, सिद्धान्तअनुसार चलेका छन कि छैनन् ? त्यो पनि बुझेको छु । उनले अबको सहकारीको दिशा भनेको आत्मनिर्भरताको हो, त्यसका लागि उत्पादनमूलक क्षेत्रमा सहकारीको स्रोतलाई परिचालन गर्नुपर्छ भन्दै सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने भनेको कुनै संस्थाले होडिङबोर्ड राखेर काम गर्ने भनेको होइन्, संस्थाहरु मिलेर लगानी गर्ने भनेको हो भनिन् ।

आफूले त्यसो भन्दा सहकारीका अभियन्ताले आफूलाई सहकारी नबुझेको भनेर आरोप लगाएको उनले गुनासो गरिन् । अर्यालले सहकारी शिक्षालाई पाठ्यक्रममा राख्न त्रिभुवन विश्वविद्यालयसँग कुरा भइरहेको बताइन् । उनले मन्त्री आफूले केही गरिनन् भन्नेलाई देखाउन आफूले तीन गाउँको जमिन एकीकृत गरेर कागती खेती शुरू गरिसकेको, त्यसमा १५ हजार कागती रोपिसकेको र अरु १५ हजार रोप्ने योजना रहेको उदाहरण दिँदै अब हरेकले त्यस किसिमको कामको सुरुवात गर्नुपर्ने बताइन् ।

आफूले केही गरौं भनेर लागिरहेको बताउँदै तर मिडियाले त्यसलाई सहयोग नगरेको गुनासो गरिन् । उनले सहकारीमार्फत केही गर्नुपर्छ भनेर आफू लागिपरेको र भूमि सुधारका लागि धेरै काम भए पनि त्यो बाहिर ल्याउन मिडियाले सहयोग नगरेको अर्यालको भनाई छ ।

सबै सहकारीमा एकै किसिमको ब्याजदर निर्धारण गर्न सरकारले सन्दर्भ ब्याजदर तोकेको भन्दै त्यसमा सहकारीका अगुवाहरुको साथ नरहेको भन्ने कुरा गलत भएको उनले बताइन् । केही प्राविधिक कुरा मिलाउनुपर्यो भन्ने सुझाव जायज भएको भन्दै तर सन्दर्भ ब्याजदरका विषयमा कसैको पनि विरोध नरहेको भन्दै अर्यालले यसको व्यापक विरोध भइरहेको छ भनेर गलत प्रचार गरिएको बताइन् ।

मन्त्री अर्यालले भूमिलाई निजी सम्पत्तिको रुपमा स्वीकार गरिसकेपछि अहिलेको अवस्थामा भूमिलाई राष्ट्रियकरण गर्न सम्भव नभएको भन्दै तर यसको अधिकतम प्रयोग गर्दै जानुपर्ने बताइन् । आफ्नो अर्को जमिन हुँदाहुँदै सरकारी जग्गा ओगटेर बस्नेले त्यसको मूल्य तिर्नुपर्ने बताउँदै जमिन खाली राख्न नहुने अवधारणाअनुसार भूमि बैंकको सोच आफूहरुले अघि बढाएको बताइन् ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडाल, वरिष्ठ उपाध्यक्ष मिनराज कँडेल, उपाध्यक्ष ओमदेवी मल्ल, राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेल, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेतीलगायतले बोलेका थिए ।

Advertisement

Advertisement

Advertisement