सुध्रदै अर्थतन्त्रः घट्दै आयात, बढ्दै निर्यात

Advertisement

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा अर्थतन्त्रका परिसूचकहरु सकारात्मक देखिएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउन महिनाको तथ्यांक अनुसार आयात घटेको छ भने निर्यातमा वृद्धि देखिएको छ । २०७६/७७ को पहिलो महिनामा कुल वस्तु निर्यात २७.७ प्रतिशतले वृद्धि भई ८ अर्ब ८४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात जम्मा ३.२ प्रतिशतले वृद्धि भएको थियो ।

निर्यातमध्ये भारततर्फ ५१.८ प्रतिशत र चीनतर्फ १३२.९ प्रतिशतले वृद्धि भएको छ । अन्य मुलुकतर्फको निर्यातमा भने ९.२ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा पाम तेल, अलैंची, दन्त मन्जन, जुटका सामान, पोलिष्टर यार्न, लगायतका वस्तुको निर्यात बढेको छ भने जस्ता पाता, जुस, तयारी पोशाक, पश्मिना, ऊनी गलैंचा लगायतका वस्तुहरुको निर्यात घटेको छ ।

आर्थिक वर्ष २०७६/७७ को पहिलो महिनामा कुल वस्तु आयात ११.५ प्रतिशतले घटेर १०६ अर्ब ७३ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ५४.३ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ४.५ प्रतिशत र ४१.२ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात २४.० प्रतिशतले बढेको छ ।

वस्तुगत आधारमा हटरोल सिट, कच्चा पाम तेल, तयारी पोशाक, सोलार प्यानल, अन्य मेसिनरी तथा पाटपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने हवाईजहाज तथा पार्टपुर्जा, एम.एस. बिलेट, सुन, पेट्रोलियम पदार्थ, सिमेन्ट लगायतका वस्तुहरुको आयात घटेको छ ।
भन्सार नाकाका आधारमा निर्याततर्फ सुख्खा बन्दरगाह भन्सार कार्यालय, भैरहवा भन्सार कार्यालय, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालय, नेपालगन्ज भन्सार कार्यालय र कृष्णनगर भन्सार कार्यालय बाहेकका मुख्य भन्सार नाकाहरुबाट गरिएको निर्यातमा वृद्धि भएको छ ।
आयाततर्फ भने सुख्खा बन्दरगाह भन्सार कार्यालय, मेची भन्सार कार्यालय, रसुवा भन्सार कार्यालय बाहेकका मुख्य भन्सार नाकाहरुबाट भएको आयातमा ह्रास आएको छ । आर्थिक वर्ष २०७६/७७ को पहिलो महिनामा कुल वस्तु व्यापार घाटा १३.९ प्रतिशतले संकुचन भई रु.९७ अर्ब ८९ करोड कायम भएको छ । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ८.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा सो अनुपात ५.७ प्रतिशत रहेको थियो ।

बाहिरीने भन्दा भित्रिने रकम बढ्यो
आर्थिक वर्षको पहिलो महिनामा शोधनान्तर स्थिति ६ अर्ब ५ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २४ अर्ब ७७ करोडले घाटामा रहेको थियो । अर्थात नेपालबाट बाहिरिने रकम भन्दा नेपाल भित्रिने रकमको ६ अर्ब ५ करोडले बढी रहेको छ ।
अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको पहिलो महिनामा २२ करोड ५० लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा ५ करोड ४२ लाखले बचतमा रहेको छ ।

Advertisement

Advertisement

Advertisement