गुरु नानकको सम्मानमा सिक्का निष्कासन

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले गुरु नानक देवको ५५० औँ जन्मोत्सवको अवसरमा विभिन्न दरका सिक्का निष्कासन गरेको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर डाक्टर चिरञ्जीवी नेपाल र नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले ती सिक्का शुक्रबार आयोजित समारोहमा सार्वजनिक गरे । गुरु नानकको सम्मानमा निष्कासन गरिएका सिक्का १००, १००० र २५०० मूल्य दरका भएको बैंकका प्रवक्ता लक्ष्मीप्रसाद निरौलाले जानकारी दिएका छन् । समारोहमा शिख हेरिटेज अफ् नेपाल नामक पुस्तक पनि सार्वजनिक गरियो । सो अवसरमा शिख समुदायबाट नेपालको विकास र समृद्धिमा हुँदै आएको योगदानबारे जानकारी गराइएको थिए ।

त्यस अवसरमा गभर्नर डाक्टर नेपालले शिख समुदायबाट विभिन्न सामाजिक विकासका अतिरिक्त काठमाण्डौ उपत्यकाको खानेपानी विस्तार र नेपाल पब्लिक मोटर्स सर्भिस संस्थाका माध्यमबाट यातायात क्षेत्रको विकासमा निकै ठूलो योगदान भएको बताए ।

नेपालका लागि भारतीय राजदूत पुरीले प्रत्येक व्यक्तिले आफूले आर्जन गरेको ज्ञान र सीप अरूलाई पनि बाँड्नुपर्छ भन्ने मान्यता राख्ने गुरु नानक सम्पूर्ण मानवजातिकै गुरुको रूपमा रहनुभएको बताए । संसारमै सबैभन्दा बढी पैदलयात्रा गर्ने गुरु नानकले २३ वर्षसम्म उदासी भेषमा रहेर चीन, साउदी, श्रीलङ्का, नेपाललगायतका देशको भ्रमण गरेका थिए ।

काठमाण्डौ उपत्यकामा गुरुनानक मठ बालाजु, विष्णुपादुका गुुरु नानक मठ ज्ञानेश्वर, पशुपति गुरु नानक मठ देवपतन, शोभा भगवती गुरु नानक मठ र थापाथली नानक मठ रहेको छ । उपत्यकाममा एक हजार ६०० रोपनीभन्दा बढी जग्गा गुरु नानक सभ्यताको प्रवद्र्धनका लागि तत्कालीन राजाहरूले उपलब्ध गराएको इतिहास छ । हालको कुपण्डोलस्थित गुरुद्वारा २०३२ सालतिर बनाइएको हो ।

नेपालमा शिख समुदायको नेपालगञ्ज, वीरगञ्ज, बुटवल र कृष्णनगरलगायतका क्षेत्रमा बसोबास रहेको छ । शिख समुदायले नेपाल र भारतबीच रहँदै आएको सम्बन्ध विस्तारमा योगदान पुर्‍याउँदै आएका छन् ।

Advertisement

Advertisement

Advertisement