युरोपेली सामानमा कर वृद्धि गरिएको अमेरिकाको घोषणा, युरोपले पनि बढाउने सम्भावना

Advertisement

वासिङ्टन । संयुक्तराज्य अमेरिकाले युरोपेली संघबाट आयात हुने ७ अर्ब ५० करोड अमेरिकी डलर बराबरका सामानमा करवृद्धि गर्ने घोषणा गरेको छ । अमेरिकी करवृद्धिको प्रत्यक्ष असर एयरबस, फ्रान्सेली मदिरा (वाइन) र स्कटल्यान्डको ह्विस्कीमा परेको छ । यी सामान अमेरिकामा सर्वाधिक निर्यात हुने वस्तुको सूचीमा छन् ।

युरोपेली संघका पदाधिकारी र अमेरिकी व्यापार प्रतिनिधिहरुबीच करवृद्धिका विषयमा घनीभूत छलफल भए पनि अन्त्यमा वार्ता बिफल भएको थियो । चीनसँगको व्यापार वार्तामा खासै प्रगति नभएको अवस्थामा युरोपेली संघसँग पनि व्यापार गतिरोध बढेका कारण यसले विश्व अर्थव्यवस्थामा थप सङ्कट निम्त्याउने विश्लेषकहरुको अनुमान छ ।

नयाँ घोषणा अनुसार विमान निर्माता कम्पनी एयरबसका नागरिक उड्डयनका विमानहरु अमेरिका आयात गर्दा १० प्रतिशत करवृद्धि हुनेछ । एयरबसमा बेलायत, फ्रान्स, जर्मनी र स्पेनको लगानी छ ।

करवृद्धिको मारमा फ्रान्सेली वाइन जस्ता उच्च मूल्यका सामान पनि परेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली संघबाट अमेरिका आयात हुने बस्तुमा करवृद्धि गर्ने धम्की दिँदै आउनुभएको थियो । फ्रान्स, स्पेन र जर्मनीबाट आयात हुने वाइनमा अब २५ प्रतिशत कर लाग्नेछ ।

अमेरिकी करवृद्धिको घोषणा हुनुअघि वार्ताका लागि अमेरिका पुग्नुभएका फ्रान्सेली अर्थमन्त्री ब्रुनो ली मायरले अमेरिकी कदमको प्रतिशोधमा युरोपले पनि अमेरिकी सामानमा करवृद्धि गर्ने सम्भावना रहेको बताए ।

उनले युरोप प्रतिशोध लिने अन्तिम तयारीमा छ भन्दै अमेरिकी निर्णय आर्थिक तथा राजनीतिक दुबै दृष्टिकोणबाट निकै प्रत्यूत्पादक हुने चेतावनी दिए ।

मन्त्री ली मायरले शुक्रबार नै अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटिजरसँग भेट्ने कार्यक्रम छ । मन्त्री मायरले विश्व अर्थतन्त्र नै मन्दीतर्फ अग्रसर भइरहेको सन्दर्भमा सबैले मिलेर अर्थतन्त्रका समस्या सुल्झाउन पहल गर्नुपर्ने बताए ।

युरोप र अमेरिकाबीच विमान निर्माता कम्पनीहरु एयरबस र बोइङलाई उपलब्ध हुने अनुदानका विषयलाई लिएर मतान्तर जारी छ । युरोपेली संघका पदाधिकारीहरु गत जुलाईमा विमान निर्माता कम्पनीलाई दिइने अनुदानका विषयमा छलफल गरी निष्कर्ष निकाल्न सहमत भएका थिए । उनीहरुबीच विमान कम्पनीहरुलाई सरकारी अनुदान नदिने विषयमा सहमति भए पनि त्यो कार्यान्वयनमा आउन सकेन ।

विमान कम्पनीलाई दिइने सरकारी अनुदानका विषयमा विगत १५ वर्षदेखि विवाद छ ।  गत बुधबार राष्ट्रपति ट्रम्पले युरोपेली संघसँग देखिएका द्विपक्षीय व्यापारका समस्या सुल्झाउन आफू खुला रहेको बताएका थिए । उनले युरोपेली संघसँग व्यापार घाटा ठूलो रहेकाले त्यसलाई न्यूनीकरण गर्नका लागि आफू जस्तोसुकै कदम चाल्न बाध्य हुने चेतावनी पनि दिएका छन्।

Advertisement

Advertisement

Advertisement