गोदावरी मेलामा दुई दिनमा ३७ लाख फूलको कारोबार

Advertisement

काठमाडौं। फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) आयोजित गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा ३७ लाख रुपियाँ बराबरको फूलको कारोबार भएको छ ।

शुक्रबारदेखि ललितपुरको जावलाखेलस्थित खेल मैदानमा सुरु भएको १३औं पुष्प मेलामा पहिलो छ हजार पाँच सय जनाले अवलोकन गरेका थिए । १२ लाखको कारोबार भएको थियो । शनिबार १५ हजारजनाले अवलोकन गरेका छन् । जसमा २५ लाखको कारोबार भएको फ्यानका महासचिव विश्वमणि पोखरेलले जानकारी दिए ।

४ कात्तिकसम्म चल्ने पुष्प मेलामा आयोजकले ५० लाख रुपियाँको कारोबार गर्ने लक्ष्य लिएको छ । सो अवसरमा लक्ष्य भन्दा बढीको कारोबार हुने अनुमान गरिएको उनले बताए । प्रदर्शनीमा व्यावसायिक स्टल ४४, सूचनामूलक ४ र गोदावरी फूलका प्रतिस्पर्धात्मक प्रदर्शनी स्टल १ सहित कुल ४९ वटा स्टल रहेका छन् । महासचिव पोखरेलले यस वर्षको मेलामा विभिन्न मुलुकबाट माउबोटका रूपमा आयात गरी उत्पादन विस्तार गरिएका करिब १६ नयाँ प्रजातिका गोदावरी फूलसमेत प्रदर्शनीमा राखिएको बताए ।

प्mयानले मेलामा सहभागी उत्कृष्ट नर्सरीलाई पुरस्कृत गरेको थियो । सम्झना नर्सरीले विभिन्न विधामा चारवटा पुरस्कार प्राप्त गरेको छ । गोदावरीको प्रतियोगितात्मक प्रदर्शनीमा सम्झना नर्सरी पहिलो, टीपीआर मितेरी नर्सरी दोस्रो र टीटीआर बंगलामुखी नर्सरीले तेस्रो भएका थिए । त्यस्तै मिनियचरतर्फ अजिमा नर्सरी र कट्फलावरतर्फ सिर्जना कट फ्लावर नर्सरी पुरस्कृत भएका थिए ।

नेपालमा २०११ बाट सामान्य स्तरमा सुरु भएको पुष्प व्यवसायले आव २०७५/७६ सम्म आइपुग्दा सात सयभन्दा बढी पुष्प व्यवसायीहरूद्वारा यस व्यावसायमा संलग्न रहेका छन् । यो व्यावसाय ४३ जिल्लामा विस्तार भएको छ । १५७ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भइरहेको जानकारी गराउँदै उहाँले यस व्यावसायमा ४३ हजार ५ सयभन्दा बढी जना प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा संलग्न रहेका छन् ।

पुष्प मेलाको उद्घाटन कृषि तथा पशुपक्षी विकास मन्त्री चक्रपाणि खनालले गरेका थिए । महासचिव पोखरेलले मेलाको अवलोकनका लागि सर्वसाधरणदेखि लिएर विद्यार्थी, अनुन्धानकर्ता, किसान, उद्योगी, कूटनीति नियोगका प्रतिनिधिहरू, विभिन्न दलका नेतालगायतका व्यक्तित्व आएका जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement