अर्थ समितिमा अर्बपति सांसद ! मोतिलाल दुगडको प्रश्नपछि भत्ता बहस

Advertisement

काठमाडौं । मंगलबार ११ बजेका लागि डाकिएको अर्थ समिति बैठकमा अर्बपति सांसद मोतिलाल दुगडका तर्फबाट अर्की सांसद प्रमिला राईले एउटा जिज्ञासा राखिन–‘माननीयज्यूको एउटा जिज्ञासा छ(दुगडलाई देखाउँदै), आज हामीले गरेको हाजिरीको के अर्थ(भ्याल्यु) हुन्छ, यसको गणना हुन्छ की नाई ?’,

त्यतिकैमा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे बोले । ‘ए ! त्यो भत्ताको कुरा गर्नु भएको । त्यो त आउला नी । कि के हुन्छ सभापतिज्यू ।’ पाण्डेले यति बोल्न नपाउँदै दुगडले प्रति प्रश्न गरे । ‘तपाई भत्तै बुझिदिनुस् तर कोरम नपुगी बैठक स्थगित हुँदा हाम्रो हाजिरीको मतलब के हुन्छ ?’

त्यसपछि अर्थ समिति सभापति कृृष्ण दाहालले बोले । ‘ठ्याक्कै आउँछ की आउँदैन, मलाई थाहा छैन्, हामीले हाजिरी भने सचिवालयमा पठाउने गरेका छौं, मलाई लाग्छ भत्ता आउँछ होला ।’

यति भैसक्दा बैठकको माहोल भत्तामय भैसकेको थियो । नेकपा सांसद रामकुमारी झाक्रीले दुगडका तर्फबाट प्रमिला राईले राखेको जिज्ञासाको गलत अर्थ लगाईएको बताइन् । तर नेता सुरेन्द्र पाण्डेले ‘उहाँले भन्नु भएको कुराको आसय भत्ता नै थियो’ भनि रहे । अरु सांसदहरुले पनि भत्ताबारे आ आफ्ना धारणा राखि रहे । स्थापित उद्योग व्यवसायीका रुपमा चिनिएका सांसद दुगडले नै भत्ताको आसयमा आफ्ना अभिव्यक्ति राखेको भन्दै माहोल तातेको थियो ।

बैठक स्थगित गरेर हलको बाहिर पट्टी जम्मा भएका सांसद सुरेन्द्र पाण्डे, जय कुमार राई, रामकुमारी झाक्री लगायतबीच फेरी भत्ताले नै प्रवेश पायो । त्यत्तिकैमा पाण्डेले भने,‘मैले कुरा बुझि बुझि भत्ताको विषय हो भनिदिएँ, त्यत्रो उद्योगी रे, बैठकमा आउनु पर्दैन ?’।

त्यत्तिकैमा झाक्रीले भनिन,‘तपाईहरुले नै बनाइदिएको सांसद हो क्यारे, तपाईहरुले सांसद बनाउन यस्तै व्यापारी चाहिने रहेछ, चुनाव जित्न ठेकेदार चाहिने रहेछ ।’ यति भनिसकेपछि सांसदहरुको टोली आ आफ्नो बाटो लाग्यो । त्यत्तिकैमा अर्की सांसद जुली कुमारी महतो आइपुगिन् । उनलाई भित्र गएर हाजिर गर्न समिति सचिव सुरेन्द्र अर्यालले संकेत गरे । र महतो हाजिर गरेर आफ्नो बाटो लागिन् ।

नागरिक लगानी कोष सम्बन्धी ऐनबारे छलफल गर्न डाकिएको बैठक गणपुरक संख्या नपुगेपछि सांसदहरु अनौपचारिक कुराकानीमा थिए । अर्थमन्त्री डा. युवराज खतिवडालाई बोलाईएको भए पनि उनको प्रतिनिधीका रुपमा राजश्व सचिव शिसिर ढुंगाना र कानुन महाशाखा प्रमुख उदयराज सापकोटाले सहभागीता जनाएका थिए ।

कोरम नपुगेको बैठकको भत्ता पाइँदैनः संसद सचिवालय
संसद सचिवालका प्रवक्ता डा. रोजनाथ पाण्डेले गण पुरक संख्या नपुगेर बैठक स्थगित हुँदा बैठक भत्ता नपाइने स्पष्ट पारे । ‘गण पुरक संख्या नपुगेर बैठक स्थगित हुँदा उपस्थित भएर हाजिरी गर्नु भएका माननीयहरुले भत्ता पाउनुहुन्न, भत्ता पाउनका लागि बैठकमा गण पुरक संख्या पुगेको हुनुपर्छ’, संसद सचिवालयका प्रवक्ता पाण्डेले कर्पाेरेट नेपालसँग भने ।

उनले एकै दिन ३ पटकसम्म बैठक स्थगित गरेपछि गण पुरक संख्या नपुगे पनि बैठक बसेर निर्णय गर्न सकिने र त्यसो गर्दा भने बैठक भत्ता प्राप्त हुने पनि स्पष्ट पारे ।

Advertisement

Advertisement

Advertisement