सहमतिअनुसार अतिरिक्त शुल्क फिर्ता गर्न आनाकानी गरिएपछि चितवन मेडिकल कलेजमा तालाबन्दी

Advertisement

चितवन । सहमतिअनुसार अतिरिक्त शुल्क फिर्ता वा समायोजन गर्न आनाकानी गरिएपछि चितवन मेडिकल कलेज (सीएमसी)का विद्यार्थीले कलेजमा फेरि तालाबन्दी गरेका छन् । सीएमसीको शिक्षक युनिटमा विद्यार्थीले तालाबन्दी गरेसँगै पढन पाठनसमेत प्रभावित भएको छ ।

चिकित्सा शिक्षा संघर्ष समितिले जारी गरेको विज्ञप्तिअनुसार विद्यार्थीसँग लिएको अतिरिक्त शुल्क फिर्ता वा समायोजन गर्ने सहमति कलेजले उल्लंघन गरेकोले तालाबन्दी गर्नुपरेको हो । माग पुरा नहुँदासम्म तालाबन्दी जारी रहने समितिले जनाएको छ ।

यसअघि असोज ४ गते स्थानीय प्रशासनको रोहबरमा विद्यार्थी तथा अभिभावक र विद्यालय व्यवस्थापनबीच अतिरिक्त शुल्क फिर्ता वा समायोजन गर्ने सहमति भएको थियो । उक्त सहमतिको कार्यान्वयनमा कलेज व्यवस्थापन उदासिन बन्दै गएको भन्दै विद्यार्थीले तालाबन्दी गरेका हुन् ।

सहमतिअनुसार मेडिकल शिक्षा अध्ययनमा सरकारले तोकेकोभन्दा विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क कात्तिक १८ गतेभित्र फिर्ता गर्नेगरी कस्लाई कति शुल्क फिर्ता वा समायोजन गर्ने ? भनेर अध्ययन गर्न समिति बनाइएको, तर समितिले प्रतिवेदन नै नदिएपछि विद्यार्थीहरु सशंकित भएका हुन् ।

सरकारले एमबीबीएसका लागि तोकेको ४२ लाख ४५ हजार रुपियाँ शुल्क तोकेको छ । तर कलेजले छ लाख रुपियाँ अतिरिक्त रकम लिएपछि विद्यार्थी आन्दोलिन भएका हुन् । कलेजले भने लिएको अतिरिक्त शुल्कमध्ये दुई लाख रुपियाँ मात्रै समायोजन गर्ने बताएको छ । तर, विद्यार्थीले त्यसलाई अस्वीकार गर्दै आएका छन् ।

Advertisement

Advertisement

Advertisement