झण्डै ३४ करोड रकम हिनामिना गर्ने कृषि विकास बैंकका शाखा अधिकृतसहित ८ विरुद्ध मुद्दा

Advertisement

काठमाडौँ । कृषि विकास बैंक शाखा कार्यालय स्वयम्भुका तत्कालीन शाखा अधिकृत केदारप्रसाद गौतम सहित ८ जना बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

बैंकका तत्कालीन शाखा अधिकृत गौतम समेतले २०७१ असोजदेखि २०७२ असारसम्मको अवधिमा गैरकानूनी तरिकाबाट ३३ करोड ९३ लाख रकम निकाली बैंकलाई हानी नोक्सानी पुर्याएको उजुरी सम्बन्धमा अनुसन्धान गर्दा कार्यालय समय भन्दा बाहेकको समयमा कार्यालयमा बसी कोर बैंकिङ सिस्टमको दुरुपयोग गरी आफूलाई गैर कानूनी लाभ पुर्याउने र बैंकलाई हानी पुर्याउने कार्य गरेको ठहर विशेष अदालत काठमाडौंमा सोमबार आरोपपत्र दायर गरिएको हो ।

बैंकको उक्त शाखाका तत्कालीन प्रमुख गौतम सहितका कर्मचारीले आफूहरूलाई गैरकानूनी फाइदा र नेपाल सरकारलाई हानी नोक्सानी पुर्याएको पुष्टि हुन आएको हुँदा निजहरू उपर भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम देहाय बमोजिमको सजायको माग दावी लिई आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएका छन् ।

उक्त बैंकका शाखा प्रबन्धक भरतबहादुर बानियाँले शाखा प्रबन्धकको हैसियतले आफू कार्यरत बैंकको रेमिटसमेतको आर्थिक कारोबार, कर्मचारीहरुको रेखदेख र नियन्त्रण, व्यवस्थापन, अभिलेख जाँच र व्यवस्थापन समेतको सम्पूर्ण जिम्मेवारी र दायित्व रहेकोमा सो दायित्व गम्भीरतापूर्वक बहन गर्न नसकेको आयोगले ठहर गरेको छ ।

शाखा अधिकृत गौतमले झुठा विवरण तथा नक्कली नागरिकता बनाई रेमिटबाट आएको फर्जी कारोबार देखाई जम्मा गरेको र ट्रान्सफर गरेको रकम कृषि विकास बैंकका विभिन्न शाखा कार्यालयहरुबाट र अन्य विभिन्न बैंकहरुबाट इसीसी मार्फत भुक्तानी लिने, नक्कली नाम तेजबहादुर थापा खडा गरी सोही नामबाट नागरिकता तथा राहदानी बनाई नेपाल छाडी विदेश फरार हुने योजना अनुरुप भारत गई बसेको अनुसन्धानबाट पत्ता लागेको जनाइएको छ ।

साथै सम्झना पोखरेल गौतमले आफ्ना पति तेजबहादुर थापा भन्ने केदारप्रसाद गौतमले बैंकबाट अनियमित तबरबाट निकालेको रकमबाटै कर्जा तिर्ने गरेको, गैरकानूनी तबरबाट निकालेको रकमको कारोबार गर्न बैंक खाता खोल्ने र बन्द गर्ने कार्यमा प्रत्यक्ष संलग्न रहेको, आफ्नो नाममा भएका जग्गा जमिन सबै बेची अनियमित तरिकाबाट प्राप्त भएको रकम लुकाउन र प्रयोग गर्ने दुराशयपूर्ण उद्देश्यबाट भारततर्फ नै बसाइ–सराइ गरी गएको आयोगले दायर गरेको आरोप पत्रमा उल्लेख छ ।

केदारप्रसाद गौतमकी कान्छी श्रीमती जेनी श्रेष्ठ गौतमले आफ्नो श्रीमानलाई नेपालबाट फरार भई विदेश जाने कार्यमा सहयोगीको भूमिका निभाउँदै नक्कली नागरिकता र राहदानी बनाई भारतमा गई बसेको भन्ने जानकारी हुँदाहुँदै उक्त कसुरबाट प्राप्त रकम लुकाउन र प्रयोग गर्ने कार्यमा संलग्न देखिएको आयोगले गरेको अनुसन्धानबाट खुलेको छ ।

निज केदारप्रसाद गौतमले बैंकिङ्क कसुर गरी प्राप्त रकमबाट गाडी खरिद गरेको, सुमन भुजेल जग्गाको कारोबारमा संलग्न रहेको, सन्दीप गुप्ताले गौतमले बैंकबाट अनियमित तवरले निकालेको रकम बैंकको खातामा जम्मा गरिदिनुको साथै भारत पठाउन समेत सहयोग गरेको, सूर्यबहादुर लिम्बुले वसन्त राई भनी किर्ते नागरिकता बनाई गौतमले बैंकबाट अनियमित तवरले निकालेको रकम बैंकको खातामा जम्मा गरिदिनुको साथै भारत पठाउनसमेत सहयोग गरेको, कृष्णहरी थापाले राजीव थापाको नाममा नक्कली नागरिकता बनाई प्रस्तुत कसुरको मुख्य योजनाकार गौतमसँग मिलेमतो गरी विभिन्न व्यक्तिहरुको नाममा नक्कली नागरिकता बनाउनुका साथै खाता खोल्नका लागि भूमिका निर्वाह गरेको आयोगले दायर गरेको आरोप पत्रमा उल्लेख छ ।

भारतमा बसी उक्त रकमको व्यवस्थापनमा प्रत्यक्षतः संलग्न रही फरार रहेको समेतका आधारमा निजहरूले आफूहरूलाई गैरकानूनी फाइदा र नेपाल सरकारलाई हानिनोक्सानी पुर्याएको पुष्टि हुन आएको हुँदा उनीहरू माथि भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजायको माग दावी सहित विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।



































































सि.नं. नामथर बिगो रु. सजाय  मागदावी कै.
कृषि विकास बैंक शाखा कार्यालय स्वयम्भूका तत्कालीन शाखा अधिकृत केदारप्रसाद गौतम ३३,९३,००,०००/- भ्रष्‍टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा सोही दफाले निर्देश गरे बमोजिम भ्रष्‍टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (झ) बमोजिम सजाय गरी हानि नोक्सानी भएको बिगो असुल उपर हुन माग दाबी लिइएको।
कृषि विकास बैंक शाखा कार्यालय स्वयम्भूका तत्कालीन शाखा प्रबन्धक भरतबहादुर बानियाँ ३३,९३,००,०००/-  ,,             ,,
सम्झना पोखरेल गौतम ३३,९३,००,०००/- भ्रष्‍टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुरमा सोही दफा बमोजिम सजाय गरी हानिनोक्सानी भएको बिगो असुल उपर हुन माग दाबी लिइएको।
जेनी श्रेष्ठ गौतम ३३,९३,००,०००/-  ,,             ,,
सुमन भुजेल ३३,९३,००,०००/-  ,,             ,,
सूर्यबहादुर लिम्बु ३३,९३,००,०००/-  ,,             ,,
सन्दीप गुप्ता ३३,९३,००,०००/-  ,,             ,,
कृष्णहरि थापा ३३,९३,००,०००/-  ,,             ,,


Advertisement

Advertisement

Advertisement