चिनी मिल नचल्दा २० लाख क्वीन्टल उखु अलपत्र, किसानले पाएनन् ४२ करोड भुक्तानी

Advertisement

काठमाडौँ । रौतहट जिल्लाका उखु उत्पादक किसानले आफ्नो खेतबारीमा लगाएको उखु यतिबेला काट्ने बेला भएको छ । तर, जिल्लाको मध्यस्थान गरुडामा रहेको श्रीराम सुगर मिल्स यो सिजनमा सञ्चालन नहुँदा उक्त तयारी अवस्थामा रहेको उखु अलपत्र परेको छ ।

विगतका वर्षहरुमा चिनी उद्योग सञ्चालन भइसक्थ्यो, तर यो वर्ष कहिलेबाट उद्योग खुल्छ भन्ने केही टुङ्गो छैन । रौतहट जिल्लाका १८ हजार किसानका खेतबारीमा अहिले २० लाख क्वीन्टल उखु तयारीको अवस्थामा छ । तर चिनी मिल्स सञ्चालन नहुँदा किसानहरु चिन्तित भएको उखु उत्पादक संघ रौतहटका कोषाध्यक्ष मनोजकुमार सहनीले बताए ।

किसानहरुले आफूहरुका समस्या ज्ञापन पत्र मार्फत प्रधानमन्त्री समक्षपनि पनि पुर्याएका छन् । नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल २ नम्बर प्रदेशको विकास र समृद्धिबारे छलफल गर्न केही दिन अघि बारा जिल्लाको निजगढमा गएको बेला समेत उखु किसानहरुले आफूहरुको माग बारे ज्ञापन पत्र मार्फत जानकारी गराएको संघका बरिष्ठ उपाध्यक्ष रामप्रमोद यादवले बताए ।

आफूहरुको समस्याबारे बताउन रौतहटका किसानहरु केही दिन पहिले राजधानी काठमाडौँपनि आए । उद्योगमन्त्री लेखराज भट्ट, उद्योग राज्यमन्त्री मोतिलाल दुगड, कृषि तथा पशुपन्छी मन्त्री घनश्याम भुसाल र उद्योग सचिवलाई समेत भेटेर उनीहरुले ज्ञापन पत्र बुझाएका छन् ।

आफूहरुको समस्या सुनेपछि उद्योग मन्त्री भट्टबाट सरकार, चिनी मिल्सका सञ्चालक र किसानहरुको त्रिपक्षीय बैठक राखेर उद्योग खुलाउन र बाँकी बक्यौता भुक्तानीका लागि तत्कालै पहल थाल्ने आश्वासन पाएको संघका कोषाध्यक्ष सहनीले बताए । आफ्नै ठाउँको श्रीराम सुगर मिल्सले गतवर्ष स्थानीय किसानहरुलाई बिऊ बितरण गरी उखु खेती गर्न प्रोत्साहित गरेको थियो । अहिले उखु तयारी अवस्थामा रहेको तर उद्योग अहिलेसम्म सञ्चालन नहुनुले आशंका जन्माएको कोषाध्यक्ष सहनीको भनाई छ ।

उद्योग मन्त्रालयबाट त्रिपक्षीय बैठकको जानकारी छिट्टै आउने आशामा छौँ, उनले भने–‘अझै केही दिन बाटो हेर्छौँ, चिनी मिल्स सञ्चालकले छिट्टै उद्योग सञ्चालन गरेनन् र किसानको बाँकी बक्यौता उपलब्ध गराउने प्रक्रिया शुरु गरेनन् भने चरणबद्ध आन्दोलनमा उत्रन बाध्य हुन्छौँ ।’

श्रीराम सुगर मिल्सले उखु क्रसिङ सिजन २०७१/७२ को १२ करोड र क्रसिङ सिजन २०७५/७६ को ३० करोड गरी ४२ करोड रुपैयाँ किसानहरुलाई भुक्तानी दिन बाँकी छ । यता उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगत औद्योगिक तथा लगानी प्रबद्र्धन महाशाखाका शाखा अधिकृत सुरज तिमल्सिनाले भुक्तानी पाउनु पर्ने विभिन्न क्रसिङ सिजनको रकम किसानहरुलाई भुक्तानीको व्यवस्था मिलाउन २०७६ कात्तिक ४ गते श्रीराम सुगर मिल्स व्यवस्थापनलाई पत्र लेखेका थिए । सो पत्रको हालसम्म कुनै कार्यान्वयन नगरेको उखु उत्पादक संघ रौतहटका उपाध्यक्ष सोनेलाल राय यादवले बताए ।



Advertisement

Advertisement

Advertisement