कर्णाली र सुदूरपश्चिममा अप्टिकल फाइबर बिछ्याउने समझदारी, दुई वर्षभित्र सम्पन्न गरिने

Advertisement

काठमाडौँ । नेपाल टेलिकम र नेपाल दूरसञ्चार प्राधिकरणबीच कर्णाली र सुदूरपश्चिम प्रदेश खण्डमा अप्टिकल फाइबर बिछ्याउन समझदारी भएको छ ।

उक्त समझदारी पत्रमा टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले हस्ताक्षर गरेका हुन् । दुई वर्षभित्र करिब २५ सय किलोमिटर अप्टिकल फाइबर बिछ्याउने गरी समझदारी पत्रमा हस्ताक्षर गरिएको हो ।

उक्त कार्यक्रममा प्राधिकरणका अध्यक्ष खनालले सरकारले घोषणा गरेको आर्थिक समृद्धिको आधारशिलाका रुपमा अप्टिकल फाइबर(सूचना महामार्ग) निर्माणलाई अघि बढाइएको बताए ।

त्यसैगरी नेपाल टेलिकमका प्रबन्ध निर्देशक अधिकारीले सूचना र प्रविधिका कोणबाट मात्र नभई डिजिटल अर्थतन्त्र निर्माणका लागि समेत यो आयोजना अति महत्वपूर्ण रहेको बताए । उनले भने–‘यस्ता आयोजनाले मुलुकमा प्राविधिक र आर्थिक रुपान्तरण ल्याउन मद्दत पुग्नेछ ।’

टेलिकमले निर्माण गर्ने यो आयोजनाले रुकुमको मुसिकोटदेखि बैतडीको झुलाघाटसम्म नेटवर्क विस्तार हुनेछ । साथै बाँके र बर्दिया समेत गरी कूल २० जिल्लामा अप्टिकल फाइबर नेटवर्क विस्तार हुनेछ ।

Advertisement

Advertisement

Advertisement