बैंकर्स संघका नव निर्वाचित अध्यक्ष दाहाल भन्छनः आजकल हामी ऋण दिनै डराउँछौं

Advertisement

काठमाडौं । नेपाल बैंकर्स संघका नव निर्वाचित अध्यक्ष भुवन दाहालले बैंकरहरु ऋण लगानी गर्नै तर्सिने अवस्थामा पुगेको बताएका छन् ।  बैंक आफ काठमाण्डूका पूर्व सिइओ अजय श्रेष्ठ पक्राउ परेपछि बैंकरहरुको मनोबल घटेको र ऋण दिएर जोखिम उठाउने हिम्मत गर्नै छाडेको बताएका हुन् ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल र डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीलाई मञ्चमा राखेर सम्बोधन थालेका दाहालले भने–‘अजय दाई जस्तो असल मान्छेलाई जेल हालिएको छ, यस्तो अवस्थामा बैंकहरुले ऋण प्रवाह गर्नै छाडेका छन्, हामी सिइओहरु नै कुन बेला कुन फाइलका कारण जेल जानुपर्ने हो भन्ने डरमा काम गरिरहेका छौं ।’

उनले बैंकका ऋण विभागमा कार्यरत कर्मचारीहरुले धमाधम सरुवा माग्न थालेको पनि बताए ।
बैंकर्स संघको ३३ औं बार्षिक साधारण सभामा बोल्दै उनले बैंकका कर्मचारीले ऋण विभागमा काम गर्नै नचाहाने वातावरण बनेको बताए ।

‘आज बैंकहरुको कर्जा प्रवाह घटेको छ, त्यसको सिधा कारण भनेको बैंकका कर्मचारीले ऋण दिने जोखिम उठाउन नसक्नु नै हौ, कुनै पनि कर्मचारी ऋणको फाइलमा हस्ताक्षर नगर्ने मनस्थितिमा पुगेको छ’, दाहालले दुखेसो पोखे । दाहालले अजय श्रेष्ठ प्रकरणपछि उत्पन्न परिस्थितिबारे बोलिरहँदा गभर्नर डा. नेपालले टाउको हल्लाईरहेका थिए ।

उनले नेपालको सबै भन्दा व्यवस्थित, पारदर्शी र अनुशासित क्षेत्रका रुपमा रहेको वित्तिय जगतलाई पछिल्लो प्रकरणमा त्रासमा पुर्याएको पनि उनले बताए । दाहालले खराब काम गर्नेलाई सजाय दिनु आवश्यक रहेको तर पुराना कानुनहरुका आधारमा असल व्यक्तिमाथी ज्यादति हुनु नहुने धारणा पनि राखे ।

दाहालले स्प्रेड दर गणनाको पछिल्लो विधि पुनरावलोकनका लागि पनि गभर्नरसँग आग्रह गरे । उनले नेपाल राष्ट्र बैंकसँगको समन्वयमा नेपालको बैंकिङ क्षेत्रलाई थप पारदर्शी, व्यवस्थित र अनुशासित बनाउँदै समृद्ध नेपाल निर्माणमा सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । दाहालले बैंकरहरुलाई पनि असल बैंकिङ अभ्यासमा केन्द्रित हुन आग्रह गरेका थिए ।

Advertisement

Advertisement

Advertisement