पर्यटनका लागि एक दशक अभियानः विमानस्थल पूर्वाधारमा ध्यान

Advertisement

काठमाडौँ । सरकारले ‘पर्यटनका लागि एक दशक’ अभियान सञ्चालन गर्ने भएको छ । आगामी नीति तथा कार्यक्रममा समावेश गरेर उक्त कार्यक्रम घोषणा गर्ने योजना बनाइएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । एक दशक अवधिमा अहिलेका पूर्वाधारलाई सुधार गर्दै आवश्यक सबै पर्यटकीय पूर्वाधार निर्माण गरी पर्यटन विकासमा ध्यान केन्द्रित गर्ने सरकारको तयारी छ ।

“नेपाल भ्रमण वर्ष २०२० त सफलतातर्फ उन्मुख छ, त्यसका साथसाथै आगामी दशक ‘पर्यटनका लागि एक दशक’ अभियान चलाउने सोच बनाएका छौँ”, संस्कृति पर्यटन तया नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भने । एक दशकमा सबै क्षेत्रमा पूर्वाधार सम्पन्न गर्ने, विमानस्थलदेखि प्रमुख गन्तव्य स्थानसम्मको यातायात, होटलको स्तरोन्नति र स्तरीकरणको काम सक्ने, दक्ष जनशक्ति उत्पादन गरेर वार्षिक ३५ लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको मन्त्रालयले जनाएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसँगको सहकार्यमा पर्यटन तथा पर्वतारोहण अध्ययन प्रतिष्ठान बनाएर जनशक्ति उत्पादन गरिने मन्त्री भट्टराईले जानकारी दिए ।

आगामी १५ औँ पञ्चवर्षीय योजनामा हरेक वर्ष कम्तीमा ३५ लाख पर्यटक भित्र्याउने लक्ष्य छ । हालको तीन प्रतिशतबाट कूल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान १० प्रतिशत पु¥याउने र पर्यटन क्षेत्रमा हरेक वर्ष एक लाख ५० हजारदेखि दुई लाखसम्म रोजगारी सिर्जना गर्ने योजनामा छ । उक्त लक्ष्य प्राप्त गर्नका लागि मन्त्रालयले पर्यटन दशक घोषणा गरेर आवश्यक पूर्वाधार निर्माण गरी मुलुकलाई विश्वकै आकर्षक गन्तव्यस्थल बनाउने सोच मन्त्रालयको हो ।

पर्यटन दशकका लागि साझा प्रतिबद्धता आवश्यक रहेको र अभियानमा राजनीतिक दल पनि सँगसँगै लाग्नुपर्नेमा मन्त्री भट्टराईले सिंहदरबारमा भएको भ्रमण वर्षसम्बन्धीको छलफलमा बताए । अहिले तत्कालका लागि मुलुक भ्रमण वर्षको तयारीमा रहेको र यस आगामी दशकका लागि आधार तयार पर्ने उनको विश्वास थियो । यो बेलामा हरेक सङ्घसंस्थाले कम्तीमा एउटा अन्तर्राष्ट्रियस्तरका कार्यक्रम नेपालमा गर्नुपर्ने उनले बताए ।

पर्यटन क्षेत्रलाई अर्थतन्त्रको प्रमुख आधारस्तम्भ बनाउँदै विश्व बजारमा नेपाललाई चिनाउन भ्रमण वर्ष आयोजना गरिएको हो । त्यसका लागि गन्तव्यस्थलको सुदृढीकरण, हवाई र यातायत पूर्वाधार महत्वपूर्ण पक्ष हो । विनाशकारी भूकम्पले थला पारेको पर्यटन क्षेत्र मुलुक सिर्जना भएको राजनीति एकता र अन्तर्राष्ट्रिय सहयोगले माथि उठाएको हो । भूकम्पले ८९१ सांस्कृतिक सम्पदामा क्षति भएकोमा ३७८ वटा पुनःनिर्माण भएको ३७९ र्निाणाधीन रहेकाले आगामी दुई वर्षभित्र सम्पन्न गर्ने सरकारी लक्ष्य रहेको जनाएको छ ।

विमानस्थल पूर्वाधारमा ध्यान
समयमै काम भएको भए गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आइसक्नुपर्ने थियो । विगतमा दिशाहीन अवस्थामा रहे पनि अहिले गति लिएकाले ९० प्रतिशतमाथि प्रगति छ । भवितव्य नपरे आगामी मार्चबाट सञ्चालनको तयारी छ । पोखराको क्षेत्रीय विमानस्थलको काम ५५ प्रतिशत पूरा भइसकेकाले सन् २००० को डिसेम्बरसम्ममा सक्ने योजना छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारको काम चलिरहेको छ ।

“कसरी यात्रुमैत्री सेवा बनाउन सकिन्छ र प्रविधिमैत्री बनाउन सकिन्छ भनेर काम अघि बढाएका छौँ, निजगढ विमानस्थलको पनि निर्माण कार्य छिट्टै अगाडि बढ्ने छ, प्रधानमन्त्रीको स्वास्थ्यलाभ पछि बस्ने मन्त्रिपरिषद् बैठकमा एउटा ब्रेक थ्रो हुनेछ”, मन्त्री भट्टराईले भने ।

मुलुकको पर्यकट घुम्ने ठाउँको बाटाघाटाको अवस्था अझै सन्तोषजनक छैन । सरकारले सुधारको काम गरिरहेको छ । भ्रमण वर्षमा एउटा विदेशीले एउटा नेपाली पठाउने योजना अघि बढाउनसमेत सरकारले विदेशमा रहेका नेपालीलाई आग्रह गरेको छ । पर्यटन सचिव केदारबहादुर अधिकारीले हवाई सेवाको विस्तार गरेर अघि बढेको र कतिपय एयरलाइन्सले थालनीसमेत गरिसकेको बताए ।

नेपालले १९९८ मा भिजिट नेपाल आयोजना गरेको र सन् २०११ मा पर्यटनका लागि सँगसँगै नारा तय गरेर भ्रमण वर्ष आयोजना गरेको थियो । यो वर्ष ‘लाइफटाइम एक्सपिरियन्स’ भन्ने नारा तय गरी नेपाल भ्रमण वर्ष २०२० आयोजना गर्न लागिएको छ ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीका अनुसार नेपालमा पर्वतीय पर्यटन मात्रै छ भन्ने बुझाइ छ तर यहाँको विविधताअनुसार वर्षेभरि पर्यटक आउन सक्ने छन् भनेर उक्त ‘लाइफटाइम एक्सपिरियन्स’ नारा तय भएको छ । उनले अहिले भ्रमण वर्षको प्रचारप्रसारका कार्यक्रम तीव्र पारिएको बताए । भारत र चीनसँगै नयाँ बजार भियतनाम, कम्बोडिया, म्यान्मामा समेत प्रचारात्मक कार्यक्रम केन्द्रित गरिएको छ । उनले अहिलेको अवस्थामा २५ लाख पर्यटक राख्न सक्ने क्षमता नेपालमा भइसकेको जानकारी दिए । रासस

Advertisement

Advertisement

Advertisement