अर्थमन्त्रीको साँसद पद जानलाग्यो

Advertisement

काठमाडौँ । अर्थमन्त्री युवराज खतिवडासहित डेढ दर्जन बढि राष्ट्रिय सभा सदस्यको पदावधि सकिन लागेको छ । पदावधि सकिन लागेका १९ साँसदहरुको ठाउँमा नयाँ निर्वाचनको मिति तय गरिएको छ । जसअनुसार आउँदो माघ ९ गते निर्वाचन हुने भएको छ ।

संविधानको धारा ८६ को उपधारा (४) बमोजिम १९ साँसदहरुको म्याद आउँदो फागुन २० सकिने भएपछि निर्वाचन आयोगको परामर्शमा सरकारले उक्त मितिमा निर्वाचन गर्न लागेको हो । खतिवडा सरकारको सिफारिसमा राष्ट्रिय सभाको साँसद बन्न सफल भएका थिए ।

प्रधानमन्त्री केपी ओलीले आर्थिक सुधार गर्नसक्ने विज्ञको रुपमा खतिवडालाई अर्थमन्त्री बनाएका थिए । मन्त्री हुन प्रतिनिधि सभा वा राष्ट्रिय सभाका साँसद हुनुपर्ने कानुनी प्रावधानअनुसार उनलाई मनोनित गरेका थिए । सेयर बजार घटेकाले कर बढाएकाले खतिवडाप्रति विशेषगरी सेयर बजारका लगानीकर्ता र आयात व्यवसायमा संलग्न व्यापारीहरु रुष्ट रहे पनि उत्पादनमूलक उद्योग चलाउँदै आएका व्यवसायीहरु भने खुशी नै देखिन्छन् ।

ओली सकेसम्म खतिवडालाई मन्त्रिमण्डलबाट हटाइहाल्ने पक्षमा देखिएका छैनन् । यद्यपि सत्तारुढ दलका कतिपय नेता, त्यसमा पनि आफू अर्थमन्त्री हुन पाए हुन्थ्यो भन्ने लाइनका नेताहरु भने खतिवडालाई निरन्तरता दिनहुन्न भन्ने पक्षमा देखिन्छन् । म्याद सकिनुभन्दा ३५ दिनअघि नै चुनाव हुनुपर्ने प्रावधानअनुसार माघ ९ गतेलाई मिति तोकिएको हो ।

म्याद सकिन लागेका साँसदहरुमा खतिवडासहित हरिचरण शिवाकोटी, रामप्रित पासवान, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, युटोल तामाङ, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र खेमराज नेपाली, सरिता प्रसाईं, सुरेन्द्रराज पाण्डे, बिन्दादेवी आले, बद्रीप्रसाद पाण्डे, मुक्ताकुमारी यादव, दुर्गाप्रसाद उपाध्याय, र धनकुमारी खतिवडा, वृषेशचन्द्रलाल, रमेशप्रसाद यादव, राजकुमार यादव, छन् ।

Advertisement

Advertisement

Advertisement