काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाको राष्ट्रिय सभा सदस्य पदको अवधी फागुन २० गते सकिँदैछ । सरकारको सिफारिसमा राष्ट्रिय सभा सदस्य बनेका उनले गोलाप्रथाका क्रममा २ वर्ष कार्यकाल भएको चिठ्ठा हात पारेका थिए ।
फागुन २० गते अर्थमन्त्री डा. खतिवडासहित १९ जना राष्ट्रिय सभा सदस्यहरुको कार्यकाल सकिँदैछ । र ति रिक्त स्थानको पदपुर्तिका लागि निर्वाचन आयोगले माघ ९ गतेका लागि निर्वाचन कार्यतालिकै सार्वजनिक गरिसकेको छ ।
१९ जना राष्ट्रिय सभा सदस्यहरुको पदावधि सकिँदैछ तर चर्चा भने अर्थमन्त्री डा. युवराज खतिवडाकै भैरहेको छ । राष्ट्रिय सभा सदस्य बन्नका लागि को को दौडमा छन् भन्नेबारे खासै ठूलो चासो देखिएको छैन् ।
पछिल्लो पटकको मन्त्रिपरिषद पुनगर्ठनका क्रममै डा. खतिवडालाई हटाउने गाइगुइँ चर्चा थियो । खतिवडाले भने फागुन २० को कार्यकालसम्म नहटाउन प्रधानमन्त्रीसँग आग्रह गरेको श्रोत बताउँछ । तर प्रधानमन्त्री ओलीले भने असार मसान्तसम्म काम गर्न दिने आश्वासन दिएका थिए । ‘अर्थमन्त्रीले राष्ट्रिय सभा सदस्यको कार्यकालसम्म काम गर्न दिनु होला भन्ने आग्रह गरेका थिए तर प्रधानमन्त्रीले नै यो बजेट तपाईले नै कार्यान्वयन गर्ने हो भनेर आश्वस्त पार्नु भयो’, नेकपा श्रोतले भन्यो ।
श्रोतकै कुरालाई आधार मान्ने हो भने प्रधानमन्त्री ओलीले शुभाषचन्द्र नेम्बाङलाई सभामुख र डा. खतिवडालाई अर्थमन्त्रीमा कायम राख्ने सर्तमा प्रचण्डलाई पार्टीको कार्यकारी अध्यक्षको जिम्मेवारी दिएका हुन् । ‘नेम्बाङ र डा. खतिवडाको जिम्मेवारीबारे स्पष्ट पारेपछि मात्रै ओलीले प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिनु भएको हो’, नेकपा उच्च श्रोतले बतायो ।
त्यसो त ओली र प्रचण्डले सुरेन्द्र पाण्डेलाई अर्थमन्त्री बनाउने आश्वासन दिएको चर्चा पनि सेलाएको छैन् । ओलीले पाण्डेलाई अर्थ मन्त्रालय बाहेक अन्य कुनै मन्त्रालय रोजेर लिन भनेको तर पाण्डेले अस्विकार गरेको श्रोत बताउँछ ।
डा. खतिवडाले पाँच बर्सै अर्थमन्त्रलय चलाउन दिएमा घोषणा पत्रमा गरिएका अधिकांश प्रतिवद्धता पुरा गराउन सक्ने आश्वासन दुबै अध्यक्षलाई दिएको बताइन्छ । ‘मसँग नेपालको अर्थतन्त्रको गहिरो जानकारी छ र अन्तराष्ट्रिय दातृ निकायहरुले मलाई विश्वास गरेका छन्, पाँच वर्ष काम गर्न दिनुस अर्काे चुनावमा दुई तिहाई मत ल्याउन सक्ने गरि जनमत बनाउन सघाउँछु, देशको ढुकुटी पनि बलियो बनाउँछु र विकासका काम पनि धेरै अघि बढ्नेछन भनेर अर्थमन्त्रीले दुबै अध्यक्षलाई कन्भिन्स गर्नु भएको छ’, श्रोतले भन्यो ।
को को छन् दाउमा ?
अर्थमन्त्री डा. खतिवडाको बहिर्गमनपछि अर्थमन्त्रीको दौडमा सुरेन्द्र पाण्डे र बिष्णु पौडेल स्वभाविक रुपमा देखिनेछन् । एकथरी नेकपा नेताहरुको बुझाईमा ओलीले डा. खतिवडालाई नै निरन्तरता दिने छन् । यदि खतिवडालाई हटाईयो भने ओलीले महासचिव विष्णु पौडेललाई अर्थमन्त्री बनाउनेछन् । तर अर्का थरीको बुझाईमा भने ओलीले यस पटक पौडेललाई अर्थमन्त्री बनाउने जोखिम उठाउने छैनन् ।
सरकार गठन भएको २ वर्ष बितिसकेको छ । अबको २ वर्षपछि चुनावी सरगर्मी सुरु हुन्छ । त्यतिबेला कम्युनिष्ट सरकारसँग संसारलाई देखाउन सकिने बलियो राष्ट्रिय ढुकुटी निर्माण गरिसकेको हुनुपर्नेछ । त्यसका अलवा नागरिकसँग गरिएको विकास र समृद्धिका थुप्रै सपना पुरा गरिसक्नुपर्नेछ । यी दुबै काम गर्नका लागि अर्थतन्त्र बुझेको र अन्तराष्ट्रिय क्षेत्रलाई समेत कन्भिन्स गरेर लगानी भित्र्याउन सक्ने व्यक्तिको हातमा अर्थमन्त्रालयको नेतृत्व हुनुपर्नेछ । त्यसका लागि डा. खतिवडा र सुरेन्द्र पाण्डे नै उपयुक्त विकल्प हुन भन्नेमा ओली स्पष्ट रहेको बताइन्छ ।
डा. खतिवडाले अर्थमन्त्रीका रुपमा राम्रो काम गरेको तर त्यसको अपनत्व लिन पार्टी कार्यकर्ता तयार नदेखिएको आशंका ओलीमा रहेको बताइन्छ । त्यसै कारण ओलीले डा. खतिवडालाई नेकपाको केन्द्रिय कमिटी सदस्य बनाईदिएका हुन् । तर पनि डा. खतिवडाको नीति प्रति आम पार्टी पंक्ति अझै उभिन आनाकानी गरिरहेको बताइन्छ ।
त्यसका लागि सुरेन्द्र पाण्डेलाई अघि सार्दा पार्टी पंक्ति र पार्टी निकट उद्योगी व्यवसायीको मन जित्न सकिने र सरकारको आलोचना पनि कम हुन सक्ने निष्कर्षमा ओली पुगेका दिन खतिवडाको बहिर्गमन निश्चित हुने अनुमान छ । उद्योगी व्यवसायीले विभिन्न माध्यम प्रयोग गरेर डा. खतिवडाकै कारण लगानीको वातावरण बिग्रन थालेको र बामपन्थी सरकार अलोकप्रिय बन्दै गएको कुरा ओलीसम्म पुर्याउन थालेका छन् ।
तर खतिवडाले नेपाल आर्थिक पत्रकार संघ नाफिजसँगको एक भेटमा भनेका थिए–‘बैंकमा मनग्गै नाफा भएको विवरण देखाएर ऋण लिने अनि राजश्व कार्यालयमा घाटाको विवरण बुझाउने उद्योगी व्यवसायीका लागि लगानीको वातारण बिग्रिएको हो, भन्सार छलेर समान ल्याउने अनि छोडिदिनु पर्यो भन्दा कर्मचारीले नटेर्ने वातावरण बनेपछि लगानीको वातावरण बिग्रियो भन्दै मतिर धारे हात लगाएका हुन ।’
उनले स्पष्ट भाषामा व्यवसायीसँग एक्ला एक्लै नभेट्ने बताउँदै आएका छन् । ‘व्यवसायीसँग एक्लै भेट्नुको अर्थ छैन्, सामुहिक सौदाबाजीका कुरा लिएर संगठित रुपमा आउँदा जुनसुकै समयमा भेटेको छु, एक्लै भेटेर कसैको गलत काममा सफाई दिने काम मबाट हुन्न’, खतिवडाले भन्ने गरेका छन् ।