पच्चीस हजार घुस लिने लुम्बिनी बौद्ध विश्वविद्यालयका लेखापाल बिरुद्ध मुद्दा दर्ता

Advertisement

काठमाडौँ । सेवाग्राहीसँग २५ हजार घुस लिने लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय कार्यालय रुपन्देहीका लेखापाल रत्नेश्वर तिवारी बिरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर भएको छ । अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले शुक्रबार मुद्दा दर्ता गरेको हो ।

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ६ स्थित लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय कार्यालय रुपन्देहीमा कार्यरत लेखापाल तिवारीले कार्यालयसँग सम्बन्धित विभिन्न सामग्री आपूर्ति गरेवापत रकम भुक्तानी दिने प्रयोजनार्थ कमिसनको लागि सेवाग्राहीसँग घुस लिएको प्रमाणित भएको आयोगले जनाएको छ ।

लेखापाल तिवारीले घुस माग गरिएको सूचना र निवेदनको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले २५ हजार घुस लिएको अवस्थामा नियन्त्रणमा लिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएका छन् ।

अनुसन्धानको सिलसिलामा सेवाग्राहीले छपाईसम्बन्धी सामाग्री आपूर्ति गरेवापत रकम भुक्तानी लिन जाँदा लेखापाल तिवारीले विभिन्न बहाना बनाई आलटाल गरी सेवाग्राहीसँग २५ हजार घुस लिएका हुन् ।

उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएको पुष्टि हुन आएकोले जरिवाना र कैद सजायको माग दाबी सहित विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता कोइरालाले बताए ।

कार्यवाहक वडा अध्यक्षले लिए २१ लाख घुस
यता, जिल्ला मोरङ, जहदा गाउँपालिका वडा नम्बर १ का कार्यवाहक वडा अध्यक्ष उमेशकुमार साह विरुद्ध २१ हजार घुस लिएको प्रमाणित भएपद्धि शुक्रबार नै विशेष अदालत काठमाडौँमा मुद्दा दर्ता गरिएको आयोगले जनाएको छ ।

कार्यवाहक वडा अध्यक्ष साहलाई वडा नम्बर १ स्थित हरिलाल सरवरियाको घरदेखि बाँधसम्मको ग्राभेल सडक निर्माण योजनाको सम्झौता गरी कार्यान्वयन लगायतका कार्यमा सहजीकरण गरी दिने प्रयोजनका लागि घुस रकम माग गरिरहेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले घुस लिइसकेको अवस्थामा पक्राउ गरेको थियो ।

सडक निर्माण योजनाको सम्झौता गरी कार्यान्वयन लगायत कार्यमा सहजीकरण गरीदिन्छु भन्ने बहाना बनाई घुस लिएको लिएको तथ्य पुष्टी भएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम जरिवाना र कैद सजायको माग दाबी सहित आरोप पत्र दर्ता गरिएको आयोगले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement