उद्योग दर्तामा सहजीकरण गर्ने भन्दै ७० हजार घुस लिने कम्प्युटर अपरेटर अख्तियारको नियन्त्रणमा

Advertisement

काठमाडौँ । उद्योग दर्ता गर्न सहजीकरण गर्ने भन्दै ७० हजार घुस लिने घरेलु तथा साना उद्योग कार्यालयका कम्प्युटर अपरेटर नवीनकुमार सिहं पक्राउ परेका छन् ।

घरेलु तथा साना उद्योग कार्यालय मलंगवा, सर्लाहीमा कार्यरत कम्प्युटर अपरेटर (करार) सिंहले उद्योग दर्ता गर्न सहजीकरण गराई दिन्छु भनी सेवाग्राहीसँग घुस माग गरेको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्राप्त भएको थियो ।

सोही उजुरी एवम् सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महोत्तरी बर्दिवासबाट खटिएको टोलीले सेवाग्राहीबाट घुस बापतको ७० हजार रुपियाँ लिइसकेको अवस्था निज सिंहलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन् ।

यसैगरी, रुपन्देही जिल्ला अदालतमा कार्यरत नायव सुव्वा बुद्धिप्रकाश न्यौपाने र लेखापाल विनोद शर्मासमेतले धरौटी रकम फिर्ता दिने प्रयोजनका लागि सेवाग्राहीसँग २ हजार घुस लिएको अवस्थामा अख्तियार टोलीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले निज आन्तरिक राजस्व कार्यालय, भैरहवा दरबन्दी भई रुपन्देही जिल्ला अदालतमा लेखा सम्बन्धी कामकाज गर्न खटिएका लेखापाल शर्मा र रुपन्देही जिल्ला अदालतमा कार्यरत न्यौपानेलाई सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा जिल्ला अदालतको अगाडि रहेको बार एसोसियसन भवन नजिकैबाट नियन्त्रणमा लिएको हो ।

यता अख्तियारका प्रवक्ता कोइरालाका अनुसार पशुसेवा विभाग हरिहरभवन ललितपुरका लेखा अधिकृत रमेश कार्कीले ८ हजार ५ सय घुस रकम सहित पक्राउ परेका छन् ।

कार्यालयसँग सम्बन्धित सूचना पत्रिकामा प्रकाशित गरिदिए पश्चात भुक्तानी दिएको रकमबाट घुस माग गरिरहेको भन्ने उजुरी आयोगमा परेको थियो । सोही सूचनाको आधारमा आयोग टंगालबाट खटिएको टोलीले निज कार्कीलाई मंगलबार कार्यालयबाट नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रवक्ता कोइरालाले जनाएका छन् ।

Advertisement

Advertisement

Advertisement