को हुन त लक्ष्मी अग्रवाल ? जसको भूमिका दीपीकाले पर्दामा निभाइरहेकि छिन्

Advertisement

एजेन्सी । बलिउड अभिनेत्री दीपीका पादुकोणको फिल्म छपाक भोलि १० जनवरीमा रिलिज हुँदैछ । यो फिल्ममा दीपिका एसिड आक्रमणमा परेकी पीडित लक्ष्मी अग्रवालकोको भूमिकामा देखिनेछिन् ।

लक्ष्मीमाथि सन् २००५ मा नदीम खान नामका एक व्यक्तिले एसिड आक्रमण गरेका थिए । उनी मध्यम परिवारमा जन्मिएकी र उनी गायिका बन्न चाहन्थिन् । तर, ३२ वर्षका नदीम खानले उनीसँग विवाह गर्न चाहे जसलाई लक्ष्मीले अस्वीकार गरिदिइन् । त्यसपछि सन् २००५ मा लक्ष्मी दिल्लीको खान मार्केटमा रहेको एक पुस्तक पसलमा पुगेकी थिइन् जहाँ नदीमले उनीमाथि तेजाब फालिदिए ।

अनुहारमा एसिड परेपछि लक्ष्मी त्यहाँ नै ढलिन् । उनलाई एक ट्याक्सी ड्राइभरले अस्पतालसम्म पुर्याएका थिए । डेली मेलका लागि दिएको एक अन्तर्वार्तामा लक्ष्मी अग्रवालले एसिड अनुहारमा पर्दा आफूलाई कसैले पूरै अनुहारमा आगो लगाइदिएको जस्तो आभास भएको बताएकी छिन् । त्यसपछि उनी दुई महिना अस्पतालमा भर्ना भइन्, उनका कयौँ सर्जरी गरियो ।

धेरैपछि उनले आफूले आफ्नो अनुहार ऐनामा हेर्दा सबै सक्कियो, बर्बाद भयो भन्ने सोचेकी थिइन । उनले आफूसँग बोल्नका लागि कुनै शब्द नभएको लक्ष्मीले बताएकी छिन् ।

लक्ष्मीले सन् २००६ मा एसिडको बिक्रीवितरणमा नै प्रतिबन्ध लगाउनु पर्ने भन्दै सर्वोच्चमा मुद्दा दायर गरेकी थिइन् । सन् २०१३ मा भारतमा सर्वौच्चले एसिडको बिक्री वितरणमा प्रतिबन्ध पनि लगायो ।

लक्ष्मीलाई पछि इन्टरनेसनल वुमेन अफ करेज अवार्ड पनि दिइएको छ । यही समयमा लक्ष्मी र आलोक दीक्षितबीच प्रेम सम्बन्ध रह्यो । उनीहरु अहिले सँगै बस्छन् । लक्ष्मीले आफूहरुले विवाह नगर्ने बताएकी छिन् । यसको कारणमा उनले भनेकी छिन्, ‘विवाहमा आएर मानिसहरुले मेरो अनुहारमाथि कमेन्ट गरुन् भन्ने म चाहन्नँ ।’

Advertisement

Advertisement

Advertisement