धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष भीष्मराज ढुंगानाले गरे पद बहाली (फोटो फिचरसहित)

Advertisement

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष भीष्मराज ढुंगानाले शुक्रबार एक समारोहका बीच पद बहाली गरेका छन् । गत सोमबार बसेको मन्त्री परिषद्को बैठकले ढुंगानालाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । मन्त्री परिषद्को बैठकले गरेको निर्णय विहीबार सार्वजनिक भएपछि अध्यक्ष ढुंगानाले शुक्रबार पद बहाली गरेका हुन् ।

शुक्रबार नै सपथ ग्रहण पछि बोर्डको कार्यालयमा पुग्दा अध्यक्ष ढुंगानालाई त्यहाँ कार्यरत कर्मचारी र युनियनका पदाधिकाहरुले खादा लगाउनुका साथै टोपी र माला लगाएर स्वागत गरे । अध्यक्ष ढुंगानाले स्वागत पछि पद बहाली गरेका हुन् । उक्त अवसरमा आयोजित कार्यक्रममा उनले बोर्डको अध्यक्ष पदमा आफूलाई नियुक्त गरेकोमा नेपाल सरकारलाई धन्यबाद दिए । धितोपत्र बजारको दायर फराकिलो पार्न प्रयत्न गर्नेछु–उनले भने ।

नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक ढुंगानालाई केही समय अघि बोर्डमा विज्ञका रुपमा सञ्चालक नियुक्त गरिएको थियो । बोर्ड अध्यक्ष नियुक्तीका लागि गठित समितिले ढुंगानासँगै बोर्डकै कार्यकारी निर्देशक निरज गिरी र डा. केशबप्रसाद श्रेष्ठको नाम अर्थ मन्त्रालय मार्फत मन्त्री परिषद् पठाएको थियो ।

अर्थमन्त्रालयले राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुँयालकोे संयोजकत्वमा राजश्व सचिव शिशिर ढुंगाना र आइक्यान अध्यक्ष कृष्ण आचार्य रहेको छनौट समिति गठन गरेको थियो । समितिले बोर्डको अध्यक्षका लागि खुल्ला प्रतिष्पर्धा आव्हान गर्दा ८ जनाको आवेदन परेको थियो ।

अध्यक्षमा नियुक्त ढुंगानाले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमए तथा बेलायतबाट विजनेश फाइनान्समा एमबीएसम्मको अध्ययन गरेका छन् । पूर्वी नेपालको मोरङ जिल्लामा २०१९ माघ १० गते जन्मिएका ढुंगानाले २०४२ सालदेखि २०४६ सालसम्म राष्ट्रिय वाणिज्य बैंकमा काम गरेका थिए भने २०४६ सालमा नेपाल राष्ट्र बैंक प्रवेश गरेका थिए ।


















Advertisement

Advertisement

Advertisement