तीस हजार घुस सहित समातिएका लेखा अधिकृत र लेखापाल बिरुद्ध विशेष अदालतमा मुद्दा

Advertisement

काठमाडौँ । ३० हजार रुपियाँ घुस लिने ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिकाका लेखा अधिकृत शिवकुमार घिमिरे र लेखापाल कुवेर केसी बिरुद्ध मुद्दा दर्ता गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको हो ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार लेखा अधिकृत घिमिरे र लेखापाल केसीले बिज्ञापन प्रकाशन÷प्रशारण गरेकोमा दिएको भुक्तानी रकम बापत सेवाग्राहीसँग घुस मागेको उजुरी परेको थियो । सोही उजुरीका आधारमा आयोगको कार्यालय टंगालबाट खटिएको टोलीले तीस हजार घुस लिइसकेको अवस्थामा दुवैजनालाई नियन्त्रणमा लिएको थियो ।

दुबै कर्मचारीको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर बिगो तीस हजार रुपियाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ख) बमोजिम सजायको माग दाबी सहित आरोप पत्र दायर गरिएको आयोगले जनाएको छ ।

यता, ७० हजार घुस लिने घरेलु तथा साना उद्योग कार्यालय मलंगवा, सर्लाहीमा कार्यरत कम्प्युटर अपरेटर (करार)नवीनकुमार सिंह बिरुद्ध मंगलबार नै विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको छ ।

आयोगका प्रवक्ता कोइरालाका अनुसार कम्प्युटर अपरेटर सिंहले उद्योग दर्ता गर्न सहजीकरण गराई दिन्छु भनी सेवाग्राहीसँग घुस माग गरेको उजुरीका आधारमा आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले सत्तरी हजार लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।

Advertisement

Advertisement

Advertisement