‘गिरीले २० करोड घुस मागेकै हो’ भन्दै प्रसाईंले दक्षिणकाली माताको कसम खाए

Advertisement

काठमाडौं । विराटनगरस्थित बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले आफूसँग २० करोड रुपियाँ घुस मागेको कुरा सत प्रतिशत सत्य भएको बताउँदै कसम खाएका छन् ।

मंगलबार पत्रकार सम्मेलन गर्दै उनले आफू स्पष्ट वक्ता भएको र कहिल्यै पनि झुट कुरा नगर्ने बताउँदै गिरीले घुस मागेको कुरा सतप्रतिशत सत्य भएको तर गिरीले झुट कुरा गर्दै हिँडेको बताए । प्रसाईंले दक्षिणकाली माताको कसम खाँदै आफूसँग घुस मागिएको दोहोर्याए । केही दिनअघि उनले उक्त घुस प्रकरणको खुलासा गरेका थिए । गिरीले द्धारिकाज होटलमा भेट्न बोलाएर आफूले शिक्षामन्त्री गिरिराजमणि पोखरेल र नेकपाका प्रवक्ता नागरायणकाजी श्रेष्ठलाई समेत दिनुपर्ने भन्दै २० करोड रुपियाँ घुस दिन वा त्यति पैसा दिन नसके बी एण्ड सीको १० प्रतिशत सेयर माग गरेको प्रसाईंको भनाई छ ।

गिरीले आफूले प्रसाईंसँग घुस नमागेको र घुस माग्न प्रसाईंलाई द्धारिकाज होटलमा पनि नबोलाएको दावी गर्दै आएका छन् । तर, प्रसाईंले होटलको सीसीटीभी फुटेज हेर्न र अन्य छानविन गर्न चुनौति दिँदै यस विषयमा जस्तोसुकै छानविन गर्दा पनि हुने बताए । उनले भने, ‘मलाई माफिया भनेर वा मार्सी चामल भनेर जे जे आरोप लगाए पनि । गाली गरे पनि म कहिल्यै झुट बोल्दिन र गलत काम पनि गर्दिन । घुस मागिएको कुरा सत्य हो । म जहाँ गएर जे सत्य हो, त्यही भन्छु ।’

बी एण्ड सी हस्पिटललाई मेडिकल कलेजको सम्वन्धन दिन नियमानुसार आग्रह गर्दा गिरीले दुई पानाको ठाडो निवेदन लिएर आएको भनेर मलाई गलत देखाउने र झुट कुरा गरेको भन्दै प्रसाईंले आफूले छ सय पृष्ट लामो दस्तावेज लिएर गएको देखाए ।

मेडिकल कलेजका लागि बी एण्ड सीको यसअघि नै पूर्वाधार तयार भइसकेको तथ्य स्वयम सरकारी निकायले नै पुष्टि गरेको र कानुनअनुसार पनि अब रोक्न मिल्दै नमिल्ने हुँदाहुँदै पनि गिरीले बदनियतपूर्ण तरिकाले सम्वन्धन रोक्ने काम गरेको बताए । उनले बी एण्ड सी हस्पतालले पूर्वका जनतालाई स्वास्थ्य सेवा दिएर ठूलो योगदान गर्दै आए पनि त्यसको अबमूल्यन भइरहेको गुनासो गरे ।

अब सर्वोच्च जान्छुः प्रसाईं
दुर्गा प्रसाईंले बी एण्ड सी हस्पिटललाई मेडिकल कलेजको सम्वन्धन नदिएर सरकारले अन्याय गरेको भन्दै अब न्यायका लागि सर्वोच्च अदालत जाने बताएका छन् । उनले सरकारबाट न्याय पाउनुको सट्टा दुःख दिने र घुस माग्ने मात्रै काम भएको भन्दै त्यसका लागि अदालत जाने निर्णयमा पुगेको बताए । साथै, प्रसाईंले अख्तिार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागमा गिरीविरुद्ध उजुरी दिएको बताएका छन् ।

Advertisement

Advertisement

Advertisement