चिकित्सकसहितको टोली बोकेर १८० नेपाली लिन बाइडबडी शनिबार वुहान जाने

Advertisement

काठमाडौँ । कोरोना प्रभावित चीनको हुबेई प्रान्तस्थित वुहान शहरमा रहेका १८० नेपाली विद्यार्थी लगायतलाई फिर्ता ल्याउन नेपाल वायुसेवा निगमको वाइडबडी विमान शनिबार दिउँसो पौने ३ बजे काठमाडौंबाट त्यसतर्फ जाने भएको छ ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद्ले निगमको जहाज पठाउने निर्णय गरेसँगै निगमले वुहानका लागि यो समय तालिका सार्वजनिक गरेको हो। ‘शनिबार दिउँसो पौने ३ बजे हाम्रो जहाज काठमाडौंबाट वुहान जाँदैछ,’निगमको अपरेशन विभाग प्रमुख दिपुराज जुहार्चनले भने,‘उताबाट फर्किदा राति सवा २ बजे जहाज काठमाडौं अवतरण हुनेछ।’ उक्त विमानमा नेपाल वायुसेवा निगमका तीन जना पाइलट, ६ जना क्याबिन क्रू, १ जना इन्जिनियर, १ जना प्राविधिक, १ जना फ्लाइट डिस्प्याचर,१ जना लोड मास्टर र ४ जना नेपाली सेनाका चिकित्सक रहने छन्।

नेपाली सेना र स्वास्थ्य मन्त्रालयका चिकित्सकले बुधबार निगमको केन्द्रीय कार्यालयमा चीन जाने टोलीसहित निगमको विमानस्थलमा रहेका कर्मचारीहरुलाई तालिम दिएका थिए। निर्देशक जुहार्चनका अनुसार, चिकित्सकहरुले परसनल प्रोटेक्टिभ इक्युभमेन्ट (पीपीई) प्रयोगबारे सिकाएका थिए। ‘के गर्ने के नगर्ने तथा पीपीई प्रयोगपछि उक्त उपकरणलाई कसरी डिस्कार्ड (स्वास्थ्यलाई असर नपर्नेगरी निस्तेज गर्ने) बारे सिकाइयो,’ उनले भने। विमानस्थलमा कार्यरत कर्मचारीलाई बिहीबार तालिम दिँइदै छ।

उक्त उडानपछि जहाज र चालकदल लगायतका निगमका कर्मचारीलाई कति घन्टा क्वारेन्टाइनमा राख्‍नेबारे सरकारले कुनै निर्णय गरेको छैन। यसबारे विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड पालना गर्नुपर्ने हुन्छ। ‘बिहीबारको मन्त्रिपरिषद्ले यसबारेको मापदण्ड पारित गरेपछि मात्रै जहाज र कर्मचारीहरुको क्वारेन्टाइनबारे एकिन भन्‍न मिल्ने छ,’ क्याप्टेन जुहार्चनले भने। स्वस्थ्य मन्त्रालयले बनाएको मापदण्ड प्रधानमन्त्री कार्यालयमा पेश भइसकेको बताइएको छ।

कान्तिपुर दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement