महराले सफाइ पाउँदा रोशनी खुशी, ‘महरा सरले न्याय पाउँदा मैले पाएजस्तो भएको छ’

Advertisement

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरालाई काठमाडौँ जिल्ला अदालतले सफाइ दिएपछि संसद सचिवालय कर्मचारी रोशनी शाही खुशी भएकी छन् । उनीमाथि नै बलात्कार प्रयास गरेको अभियोगमा सोही अदालतले पुपक्षका लागि थुनामा राख्न आदेश दिएसँगै डिल्ली बजार कारागारमा दिन गुजादै आएका महरा सोमबार रिहाई भएपछि रोशनी खुशी भएकी हुन् ।

एक दैनिक पत्रिकाको अनलाइन संस्करणसँग कुरा गर्दै रोशनीले भनेकी छ्, ‘महरा सरले न्याय पाउनुभएको छ, मैले पनि न्याय पाएकी छु । जसले दुख दिन खोजेका थिए, उनीहरु पराजित भएका छन् ।’ रोशनीले आफ्नो कारण महरा जेल नगएको, राज्यका कारण गएको दावी गर्दै अदालतको फैसलाबाट दुःख दिन खोज्नेहरु पराजित भएको तर्क गरेकी छन् ।

रोशनीले भिडियो अन्तरवार्तामै आफूमाथि महराले सुरुमा बलात्कार गरेको बताएकी थिइन् । त्यसपछि बलात्कार प्रयास गरेको भन्दै बयान फेरेकी रोशनीले पछि आफूमाथि कुनै बलात्कार नभएको र महरा निर्दोष रहेको बताउँदै आएकी छन् । प्रहरीको अनुसन्धानका क्रममा सीसीटीभी फुटेजहरुमा महरा रोशनीको घरमा गएको तथ्य फेला पर्नुका साथै रोशनीको डेरामा महराको भाँचिएको चस्मा, रक्सीको बोतल र गिलासलगायतका सामग्रीहरु पनि बरामद भएका थिए ।

शाहीमाथि बलात्कार प्रयास गरेको आरोपमा पूर्व सभामुख महरालाई १९ असोजमा पक्राउ गरिएको थियो। आरोप लागेलगत्तै महराले सभामुख पदबाट राजीनामा दिएका थिए । महराको पक्षमा बोलेकी रोशनी आज महरालाई अदालतले सफाइ दिँदा तथा महरा डिल्लीबजार कारागारबाट मुक्त हुँदा स्वागत गर्न भने गइनन् ।

बलात्कार प्रकरणमा मुछिएका महरालाई पछिल्लो समयमा अमेरिकी संस्था एमसीसी परियोजना संसदबाट पास गर्न आनाकानी गरेकाले षडयन्त्रमूलक तरिकाले जेल हाल्ने काम भएको भन्दै उनको सामाजिक प्रतिष्ठा सुधार्ने प्रयास पनि भइरहेको छ । महरा रिहाई हुँदा एमसीसीको विरोधमा नाराबाजीसमेत गरिएको थियो ।

Advertisement

Advertisement

Advertisement