कर धेरै हुँदा नेपालमा गाडि बनाउने कारखाना खोल्ने योजना रोकियो

Advertisement

जयपुर (राजस्थान) । दुईपाङ्ग्रे सवारी निर्माणमा अग्रणी भारतीय कम्पनी हिरो मोटोकर्पले छिमेकी मुलुक नेपालमा प्लान्ट स्थापना गर्न आफूहरू तयार रहे पनि स्थानीय करकै कारण योजना अघि बढ्न नसकेको जनाएको छ ।

नेपाल आपूmहरूका लागि निकै महत्वपूर्ण र पुरानो बजार भए पनि नेपालीका लागि नेपालमै मोटरसाइकल प्लान्ट खोल्ने योजना भने सरकारी नीतिका कारण पूरा हुन नसकेको कम्पनीका उच्च अधिकारीहरूले बताए । हिरोले अझै पनि नेपालमा सम्भाव्यता अध्ययन गरिरहेको र सरकारी सहयोग पाएमा लगानी गर्न इच्छुक रहेको जनाएको छ ।

राजस्थान राज्यको जयपुरमा रहेको हिरोको ग्लोबल सेन्टर अफ इनोभेसन एन्ड टेक्नोलोजी (सीआईटी)मा आयोजित एक कार्यक्रममा कम्पनीका ग्लोबल चेयरमेन डा. पवन मुञ्जालले नेपालको बजारलाई आफूहरूले सुरुदेखि नै विशेष महत्व दिएको बताए । उनले भने, “हामीले सन् २०११ मा हिरोका उत्पादन नेपालसहित जम्मा चार देशमा मात्र निर्यात गथ्र्यौं, नेपाल हाम्रो पुरानो बजार हो र नेपालमा हाम्रा उत्पादन पनि निकै लोकप्रिय छन् ।” हिरोले जापानी कम्पनी होण्डासँगको साझेदारी अन्त्य गरेसँगै आक्रामक रूपमा बजार विस्तार गरिरहेको छ र हाल एसिया, अफ्रिका, दक्षिण तथा मध्य अमेरिका गरी कुल ४० मुलुकमा आफ्ना उत्पादन निर्यात गरिरहेको छ ।

हिरोले बढ्दो बजारसँगै बंगलादेश र कोलम्बियामा प्लान्ट स्थापना गरिसकेको छ । तर, नेपालमा आफ्ना उत्पादन लोकप्रिय हुँदाहुँदै पनि प्लान्ट स्थापना गर्न नसकिएको कम्पनीका ग्लोबल बिजनेस हेड रजत भार्गव बताउँछन् । “नेपाल हाम्रा लागि निकै महत्वपूर्ण बजार हो, त्यहाँ दुई पाङ्ग्रे सवारीको माग पनि उच्च छ तर हामीले त्यहिँ प्लान्ट खोलेर अघि बढ्न भने सकेका छैनौं,” भार्गव भन्छन्, “किनकी त्यहाँ यस्ता उद्योगलाई कुनै सहुलियत छैन र ड्युटी निकै उच्च रहेको हामीले पाएका छौं ।” नेपालमा खासगरी दुईपाङ्ग्रे सवारी प्रयोग गर्ने महिलाको संख्या निरन्तर वृद्धि भइरहेकाले अझै पनि ठूलो बजार आफूहरूले देखेको र चाँडै नै यस विषयमा पनि अध्ययन गर्ने उनको भनाइ छ । नेपाल सरकारले अन्य मुलुकमा जस्तै सुविधा उपलब्ध गराए आफूहरू लगानीका लागि तयार रहेको भार्गवले बताए । पछिल्लो समयमा बंगलादेशमा पनि करसम्बन्धी नीतिगत परिवर्तनकै कारण प्लान्ट विस्तार गर्न नसकिएको स्मरण गर्दै भार्गवले नीतिगत सहुलियतसँगै स्थिरता कुनै पनि उद्योगका लागि अनिवार्य शर्त भएको बताए ।

कारोबार दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement